close

वैदेशिक रोजगार तथा अध्ययनका लागि विदेश जानेलाई ठग्ने माध्यम बन्दै ह्वाट्सएप

टेकपाना टेकपाना

माघ ६, २०७९ ८:४४

वैदेशिक रोजगार तथा अध्ययनका लागि विदेश जानेलाई ठग्ने माध्यम बन्दै ह्वाट्सएप

काठमाडौं । वैदेशिक रोजगार तथा अध्ययनका लागि विदेशमा जानेहरूलाई सामाजिक सञ्जाल मार्फत ठग्ने गतिविधि बढिरहेको छ । व्यक्तिगत रुपमा भेट नभए पनि सामाजिक सञ्जाल विशेष गरी ह्वाट्सएप प्रयोग गरी वैदेशिक रोजगार वा विदेशमा अध्ययनमा जान लागेका विद्यार्थीसँग कुराकानी गरी विश्वास जितेर ठग्ने क्रम बढेको नेपाल प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार विदेश जानको लागि प्रकृया अगाडि बढाइरहेका मानिसहरूसँग सम्पर्क गरी उनीहरूको बैंकिङ तथा व्यक्तिगत विवरण माग गरी ठग्ने गरेको पाइएको हो ।  

बैंकिङ कसुर मुद्दामा वृद्धि भएको कारण अथवा वैदेशिक रोजगार र अध्ययनमा जानु पूर्व बैंक व्यालेन्स, नेपाली राहदानी, नेपाली नागरिकता प्रमाण-पत्र लगायतका कागजातहरू आवश्यक पर्ने भनी  ठगी गर्ने गिरोहहरुले सामाजिक सञ्जाल, विशेषगरी ह्वाट्सएप मार्फत विदेश पठाउने लगायत उल्लेख गरी विज्ञापन प्रकाशन गरिरहेको पाइएको छ । 

ठगी गर्ने गिरोहले ह्वाट्सएप मार्फत पीडित व्यक्तिहरूलाई विभिन्न किसिमबाट सम्पर्कमा ल्याई प्रलोभन देखाई झुक्याई विदेश जाँदा खातामा रकम मौज्दात हुनुपर्ने भनी सम्बन्धित व्यक्तिको खातामा रकम जम्मा गर्न लगाउँछन् । 
यसपछि सम्बन्धित खातावाला व्यक्तिको नेपाली नागरिकता र नेपाली राहदानी समेत प्रकृया अगाडि बढाउने नाममा ठगी गर्ने मध्येका व्यक्तिले लिने गर्दछन् । सक्कल नागरिकताको आधारमा सम्बन्धित पीडित व्यक्तिले प्रयोग गर्दै आएको मोवाइल नं. को सिम कार्ड हराएको भनी एनसेल तथा नेपाल टेलिकममा गई नयाँ सिम कार्ड लिई सो सिम कार्ड आफ्नो मोबाइलमा एक्टिभ गर्छन् । 

यसपछि सम्बन्धित पीडितको बैंकिङ एप आफ्नो मोवाइलमा डाउनलोड गरी ओटीपी कोड प्राप्त गर्ने गरेको र सो कोडमार्फत सम्बन्धित पीडित व्यक्तिको खातासम्म पहुँच बनाई पीडितलाई थाहा नै नदिई खातामा रहेको रकम ई-सेवा, खल्ती लगायतका विभिन्न डिजिटल वालेट र बैंक खातामा ट्रान्सफर गरी ठगी गर्ने गरेको प्रहरीले जनाएको छ । 

यस्ता ठगी गिरोहलाई निरूत्साहित तथा कारबाही गर्न ध्यान दिनुपर्ने कुराहरू: 
- जुन पायो त्यही एपमा क्लिक, लाइक गर्नाले फिसिङमा पर्न जाने सम्भावना अत्यधिक हुन्छ । यसले तपाईँको नम्बर चोरी भइ ठगीको लागि प्रयोग हुने सम्भावना हुन्छ । तसर्थ जथाभाबी लिंक वा एपमा क्लिक वा लाइक नगर्ने,  

- ह्वाट्सएप, भाइबर, मेसेन्जर लगायतका सामाजिक सञ्जालमार्फत सम्पर्कमा आउने व्यक्तिहरुको वास्तविक पहिचान खुल्न नआएको अवस्थामा व्यक्तिगत कागजातहरू: नागरिकताको प्रमाण-पत्र र राहदानी नदिने, 

- ई- बैंकिङ, मोबाइल बैंकिङ सञ्चालन रहेका मोबाइल नम्बर असम्बन्धित व्यक्तिलाई शेयर नगर्ने, 

- वैदेशिक रोजगार तथा अध्ययनमा जाँदा नेपाल सरकारबाट इजाजत प्राप्त निकाय मार्फत मात्र प्रकृया अगाडि बढाउनुपर्छ,

- आफ्नो चेक बुकलाई सुरक्षित तवरले राख्न तथा खातामा रकम नभएको अवस्थामा चेक काटी अन्य व्यक्तिलाई नदिने 

पछिल्लो अध्यावधिक: माघ ६, २०७९ ८:४४