close

नेपाल प्रहरीको सर्भर ह्याक, डार्क वेबमा लिक भयो निकै संवेदनशील डेटा

टेकपाना टेकपाना

माघ ११, २०७९ १८:३३

नेपाल प्रहरीको सर्भर ह्याक, डार्क वेबमा लिक भयो निकै संवेदनशील डेटा

काठमाडौं । नेपाल प्रहरीको सर्भर ह्याक गरी संवेदनशील डेटा लिक भएको पाइएको छ । गत सेप्टेम्बर २१, २०२२ मा २.३४ जीबी फाइल साइजकाे प्रहरीकाे डेटा डार्क वेबमा लिक भएको हो ।

"नेपाल प्रहरीले आन्तरिक प्रयोजनका लागि ईमेलमा जे कुराकानी गरेको हुन्छ, त्यो सबै लिक भएको छ । विशेषगरी प्रशासनिक तहमा हुने सञ्चारको डकुमेन्ट  बाहिरिएको देखिन्छ," एक साइबर सुरक्षा जानकारले टेकपानासँग भने ।

यसमा विशेषगरी प्रहरीका गोप्य योजनाहरू छन् । ‘ब्रिच फोरम’ र ‘हाइड्रा मार्केट’ गरी दुई डार्क वेब प्लेटफर्ममा यी डेटा लिक भएका छन् । "ईमेल सर्भर ह्याक गरेर वा कार्यालयभित्र कसैको ईमेल एड्रेसमा एक्सेस पाएर डेटा लिक गरेको देखिन्छ," ती सुरक्षा जानकारले भने । 

नेपालको इतिहासमा यति संवेदनशील डेटा पहिलो पटक लिक भएको उनले सुनाए ।  "नेपालमा अहिलेसम्म यति संवेदनशील डेटा लिक भएको थिएन," उनी भन्छन्, "सुरक्षा निकायकै संवेदनशील डेटा लिक हुनुले हाम्रो सरकारी साइबर सुरक्षा प्रणाली कति कमजोर छ भन्ने दर्शाएको छ ।" यसले साइबर सुरक्षाका सन्दर्भमा सरकारी निकाय जिम्मेवार छैनन् भन्ने देखिएको उनको विश्लेषण छ । 

यस्तो डेटाका माध्यमबाट नेपाल प्रहरीको नेटवर्कभित्र प्रवेश गर्ने र उक्त निकायको अन्य अकाउन्टमा फिसिङ आक्रमण हुने सम्भावना रहेको उनले बताए ।​

डार्क वेबमा महत्त्वपूर्ण डेटा लिक भएकाे खबरबारे नेपाल प्रहरी भने बेखबर भएकाे पाइएकाे छ । "हामीले तपाईँहरूबाट सूचना पायौं । तत्कालै प्राविधिक टिमसँग समन्वय गरेर अनुसन्धान अगाडि बढाउँछौं," प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले भने । 

पछिल्लो अध्यावधिक: माघ ११, २०७९ १८:३३