काठमाडौं । मेटाले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक अकाउन्टमाथि लगाएको प्रतिबन्ध फुकाउने तयारी गरेको छ ।
दुई वर्षअघि अमेरिकाको राजधानीमा भएको विद्रोह भड्काउन ट्रम्पको सोसल मिडिया अकाउन्टको पनि भूमिका रहेको दाबी गर्दै मेटाले फेसबुक र इन्स्टाग्राम अकाउन्टमाथि प्रतिबन्ध लगाएको थियो ।
हालै बाहिरिएको एक खबर अनुसार केही हप्ताभित्रै कम्पनीले ट्रम्पलाई फेसबुक र इन्स्टाग्राममा फर्काउने तयारी गरेको छ । एक ब्लग पोस्ट गर्दै मेटाले अकाउन्ट फुकुवाको तयारी भइरहेको पुष्टि गरेको छ ।
मेटाले सोसल मिडिया अकाउन्टमा लगाएको प्रतिबन्ध खुलाए ट्रम्पको राजनीतिक यात्रामा समेत प्रभाव पर्ने अनुमान गरिएको छ । उनले आफू पुनः राष्ट्रपतिको दौडमा रहने संकेत दिइसकेका छन् ।
प्रतिबन्ध लाग्नुअघि फेसबुकमा ट्रम्पका तीन करोड ४० लाख र इन्स्टाग्राममा दुई करोड ३० लाख फलोअर रहेका थिए ।
यता एलन मस्कको स्वामित्वमा आएपछि ट्वीटरले पनि ट्रम्पमाथिको प्रतिबन्ध फुकुवा गर्ने घोषणा गरेको छ । तर ट्रम्पले अकाउन्टबाट ट्वीट गर्ने सुविधा पाइसकेका छैनन् ।