close

टिकटकको समस्याको फाइदा उठाउँदै मेटा, टिकटक क्रियटरलाई ५ हजार डलरसम्मको बोनस अफर

टेकपाना टेकपाना

माघ ९, २०८१ १२:१२

टिकटकको समस्याको फाइदा उठाउँदै मेटा, टिकटक क्रियटरलाई ५ हजार डलरसम्मको बोनस अफर

काठमाडौं । टिकटक क्रियटरहरूलाई आफ्नो प्लेटफर्ममा ल्याउन विभिन्न किसिमका प्रलोभन दिन थालेको छ । फेसबुक-इन्स्टाग्रामको मातृ कम्पनी मेटाले टिकटक क्रियटरलाई आफ्नो प्लेटफर्ममा भित्र्याउन नगद बोनस, कन्टेन्ट डिल र कम्युनिटी विस्तारमा सहयोग गरिदिने बाचा गरेको हो ।

योग्य टिकटक क्रियटरहरूले फेसबुक र इन्स्टाग्राममा रिल्स पोस्ट गरेर तीन महिनामा 'बढीमा' ५,००० डलर बोनस कमाउन सक्ने भन्दै कम्पनीले मङ्गलबार नयाँ घोषणा गरेको छ । यस्ता क्रियटरहरूलाई फेसबुक कन्टेन्ट मोनिटाइजेसन प्रोग्राममा पहुँच दिइनेछ, जसले फेसबुकमा आफ्नो भिडिओ, फोटो र टेक्स्ट पोस्टबाट पैसा कमाउने अवसर दिन्छ ।

यसका साथै मेटाले केही टिकटक क्रियटरलाई इन्स्टाग्राम र फेसबुकमा उनीहरूको भ्युज बढाउने गरी कन्टेन्ट डिल गर्नेसम्मको प्रस्ताव समेत अगाडि सारेको छ । केही टिकटक क्रियटरले मेटा भेरिफाइडको एक वर्षको ट्रायल पाउनेछन्, जसमा भेरिफाइड ब्याज, अकाउन्ट सपोर्ट र इम्पर्सोनेसन प्रोटेक्सन (नक्कली प्रोफाइलबाटको सुरक्षा) समावेश छन् । तर कम्पनीले कस्ता क्रियटरले यो सुविधा पाउने भन्ने मापदण्ड भने खुलाएको छैन ।

१२ घन्टा अफलाइन भएपछि पुनः टिकटक अमेरिकामा खुल्न थालेको छ । तर चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको यो सामाजिक सञ्जाल अझैँ पनि एप स्टोरहरूमा भने उपलब्ध भइसकेको छैन । नव निर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार टिकटक प्रतिबन्धको निर्णयलाई ७५ दिनका लागि स्थगित गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् र न्याय विभागलाई प्रतिबन्धको सजाय लागु नगर्न भनेका छन् । तर एप्पल र गुगलका एप स्टोरमा एप कहिले फर्किने भन्ने अझैँ अनिश्चित छ ।

मेटाले टिकटकको वर्तमान समस्याको फाइदा उठाउँदै त्यसका केही क्रियटरहरूलाई आफ्ना प्लेटफर्ममा आकर्षित गर्न थालेको हो । यसका लागि कम्पनीले रिल्समा परिवर्तन ल्याउँदै छ, जसले क्रियटरका छोटा भिडिओलाई थप आकर्षक बनाउनेछ । उदाहरणका लागि, अमेरिकामा रहेका इन्स्टाग्राम क्रियटरले अब ९० सेकेन्डको साटो ३ मिनेटसम्मको रिल्स राख्न सक्ने छन् ।

तर, टिकटकमा भने १० मिनेटसम्मको भिडिओ राख्न सकिने सुविधा छ । अझ केही अवस्थामा त एक घन्टासम्मको सामग्री पनि अपलोड गर्न सकिन्छ । यसका साथै, मेटाले रिल्सलाई थप प्राथमिकता दिँदैछ, किनकि कम्पनीले इन्स्टाग्राम र फेसबुकका धेरै स्थानहरूमा रिल्स सुझाउने योजना बनाएको छ । उदाहरणका लागि, प्रयोगकर्ताले आफ्नो होम फिडको माथिल्लो भागमा रिकमन्डेड रिल्स देख्न सक्छन् । यस बाहेक, सर्च रिजल्टमा समेत थप रिल्स देख्न सकिनेछ ।

नयाँ क्रियटरहरूलाई थप आकर्षित गर्न मेटाले नयाँ दर्शकहरूसम्म पुग्न सहज हुने गरी आफ्नो र्‍याङ्किङ सिस्टमलाई अप्टिमाइज समेत गरेको छ । मेटाले आफ्नो प्लेटफर्ममा क्रियटरहरूको विश्वसनीयता बढाउने उपाय पनि अपनाउनेछ । जस अनुरूप क्रियटरले आफ्ना इन्स्टाग्राम, टिकटक, वा युट्युब ह्यान्डल र फलोअरको गणना फेसबुक प्रोफाइलमा देखाउन सक्नेछन् ।

मेटाले पहिले नै अमेरिकामा टिकटकको अनिश्चितताको फाइदा उठाउँदै अन्य परिवर्तन गरिसकेको छ । आइतबार मात्रै मेटाले टिकटकको क्यापकट जस्तै एडिट्स नामक एउटा एप अर्को महिना सार्वजनिक गर्ने घोषणा गरेको थियो ।

शुक्रबार कम्पनीले इन्स्टाग्राम प्रयोगकर्तालाई आफ्ना साथी र फलोअरले मन पराएका रिल्स खोज्न सजिलो बनाउने अपडेटहरू उपलब्ध गराएको थियो । एपले नयाँ 'रिप्लाई बार' को माध्यमबाट प्रयोगकर्तालाई रिल्सबारे कुराकानी सुरु गर्न प्रोत्साहित गर्नेछ ।

 

पछिल्लो अध्यावधिक: माघ ९, २०८१ १२:१२