close

मोबाइल बैंकिङमार्फत अब प्रतिदिन ३ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने

टेकपाना टेकपाना

माघ १७, २०७९ १६:११

मोबाइल बैंकिङमार्फत अब प्रतिदिन ३ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने

काठमाडौं । मोबाइल एप वा क्यूआर कोडबाट प्रतिदिन हुने भुक्तानीको सीमा बढेको छ । अब सेवाग्राहीले मोबाइल एप वा क्यूआर भुक्तानीमार्फत दैनिक तीन लाख रुपैयाँसम्मको कारोबार गर्न सक्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी 'एकीकृत निर्देशन-२०७९' जारी गर्दै यस्तो व्यवस्था ल्याएको हो । यसअघि मोबाइल एप वा क्यूआर कोडबाट प्रतिदिन दुई लाख रुपैयाँसम्मको कारोबार (ट्रान्सफर) गर्न सकिने व्यवस्था थियो ।

इन्टरनेट बैंकिङबाट भने दैनिक २० लाख रुपैयाँ भुक्तानी गर्न सकिने व्यवस्था यथावत् छ । त्यस्तै बैंक खाताबाट वालेटमा प्रतिदिन दुई लाख रुपैयाँसम्म लोड गर्न सकिन्छ । यता प्रति महिना लोड गर्न सकिने रकम भने १० लाख रुपैयाँ यथावत् छ ।

साथै वालेटबाट कुनै पनि बैंक खातामा प्रतिदिन दुई लाख रुपैयाँसम्म ट्रान्सफर गर्न सकिन्छ । वालेटबाट बैंक खातामा ट्रान्सफर गर्न सकिने रकम भने १० लाख रुपैयाँ यथावत् छ ।

अब प्रयोगकर्ताले एउटा वालेटबाट अर्को वालेटमा प्रतिदिन ५० हजार रुपैयासम्म पठाउन पाउनेछन् । वालेटबाट वालेटमा मासिक पाँच लाख रुपैयाँको कारोबार गर्न सकिने व्यवस्था भने यथावत् छ ।

खातामा वा बैंक खाताबाट वालेटमा कारोबार गर्न पाइने रकमको सीमा पनि बढेको छ । अब वालेटबाट बैंक खातामा वा बैंक खाताबाट वालेटमा दैनिक दुई लाख रुपैयाँसम्म कारोबार (ट्रान्सफर) गर्न सकिनेछ । यसअघि यस्तो सीमा जम्मा एक लाख रुपैयाँसम्म थियो ।

यस्तो कारोबार प्रति महिनाका लागि भने पुरानै सीमा १० लाख कायम गरिएको छ ।

"भुक्तानी सेवा प्रदायक संस्थाले यस बैंकबाट इजाजतपत्र प्राप्त विप्रेषण कम्पनीसँग सम्झौता गरी विदेशबाट आप्रवाह हुने रकम नेपालमा सञ्चालित विद्युतीय वालेटमा जम्मा हुने गरी रेमिट्यान्स भित्र्याउन सक्नेछन्," निर्देशिकाको विद्युतीय माध्यमबाट गरिने कारोबार सीमा तथा शुल्क सम्बन्धी व्यवस्थामा भनिएको छ, "यसरी रेमिट्यान्स प्राप्त गर्दा वालेटमा रकम जम्मा गर्न तोकिएको सीमाले बाधा पुऱ्याएको मानिने छैन् ।"

यसैगरी डिजिटल वालेटबाट नेपाल सरकारको राजश्व भुक्तानी गर्दा लाग्ने सेवा शुल्क पनि हेरफेर भएको छ । जसअन्तर्गत वालेटबाट पाँच हजारसम्म भुक्तानी गर्दा अधिकतम पाँच रुपैयाँ सेवा शुल्क लाग्नेछ, पाँच हजारदेखि १० हजारसम्म आठ रुपैयाँ र १० हजारभन्दा माथि अधिकतम १० रुपैयाँ सेवा शुल्क लाग्ने व्यवस्था छ ।

पछिल्लो अध्यावधिक: माघ १७, २०७९ १६:१४