close

माइक्रोसफ्ट टिम्समा पनि च्याटजीपीटी समावेश, यस्तो हुनेछ प्रयोग

टेकपाना टेकपाना

माघ २०, २०७९ ११:५२

माइक्रोसफ्ट टिम्समा पनि च्याटजीपीटी समावेश, यस्तो हुनेछ प्रयोग

काठमाडौँ । ओपनएआईले तयार पारेको च्याटजीपीटी अब माइक्रोसफ्ट टिम्समा पनि उपलब्ध भएको छ । माइक्रोसफ्टले टिम्समा च्याटजीपीटी इन्ट्रिगेट गर्दै नयाँ प्रिमियम फिचर अन्तर्गत इन्टेलिजेन्ट रिक्याप फिचर समावेश गरेको छ । जसले टिम्समा मिटिङ भइरहँदा स्वतः नोट लेख्न वा मिटिङका हाइलाइट तयार पार्न सक्ने कम्पनीको भनाइ छ ।

अहिले यो फिचर प्रयोग गर्न प्रयोगकर्ताले मासिक ७ डलर (करिब नौ सय १८ रुपैयाँ ) तिर्नुपर्ने हुन्छ । त्यस्तै ३० जुन २०२२ पछि यो शुल्क बढेर मासिक १० डलर पुग्न सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

मिटिङमा सहभागी नभएको अवस्थामा पनि मिटिङमा भएका महत्त्वपूर्ण छलफल वा निष्कर्ष नोट्सका रूपमा उपलब्ध गराउन यो फिचर उपलब्ध गराएको उल्लेख गरिएको छ ।

विशेषगरी टाइमजोन नमिल्ने ठाउँका कम्पनीमा काम गरिरहेका कर्मचारीका लागि यो टुल उपयोगी हुने बताइएको छ । मिटिङमा सहभागी हुन वा मिटिङमा भएका महत्त्वपूर्ण छलफल भएका विषय नोट्सका रूपमा राख्ने भएकाले पायक परेको जुनसुकै समयमा उक्त नोट्स पढ्न सकिन्छ ।

च्याटजीपीटी समावेश गरि ल्याइएको इन्टेलिजेन्ट रिक्यापका केही फिचर तत्कालै प्रयोग गर्न पाइने छ भने अन्य फिचर प्रयोग गर्न २०२३ को दोस्रो त्रैमासिक पर्खिनु पर्ने हुन्छ ।

यसैगरी माइक्रोसफ्टले टिम्सका केही विशेष फिचरलाई पनि प्रिमियम फिचरमा समावेश गर्ने योजना बनाएको छ । लाइभ ट्रान्सलेटेड क्याप्सन (लाइभमै वक्ताले बोलेका कुरालाई अनुवाद गर्ने) तथा भर्चुअल अपोइन्टमेन्ट जस्ता फिचरहरू प्रिमियम फिचर अन्तर्गत पर्ने कम्पनीको भनाइ छ ।

माइक्रोसफ्ट टिम्स प्रयोग गरिरहेका प्रयोगकर्ताले भने ६० दिनसम्म लाइभ ट्रान्सेलेट क्याप्सन फिचर निःशुल्क प्रयोग गर्न सक्नेछन् भने भर्चुअल अपोइन्टमेन्ट फिचर अबको ३० दिनसम्म प्रयोग गर्न सकिनेछ ।

ठूलो कर्पोरेट बिजनेसका लागि उपयुक्त हुने केही अन्य फिचरहरू पनि प्रिमियम फिचरमा समावेश गर्ने कम्पनीको योजना छ ।

माइक्रोसफ्टले च्याटजीपीटी निर्माता कम्पनी ओपन एआईमा १० अर्ब डलर लगानी गर्ने घोषणा गरेसँगै टिम्सको प्रिमियम फिचरमा च्याटजीपीटी समावेश गरेको हो ।

त्यस्तै माइक्रोसफ्टले वर्ड, पावरपोइन्ट तथा आउटलुक जस्ता सफ्टवेयरमा पनि च्याटजीपीटी समावेश गर्न सक्ने समाचार बाहिरिएका छन् । विशेषगरी माइक्रोसफ्टको सर्च इन्जिन बिङमा च्याटजीपीटी समावेश हुने चर्चा बढिरहेको छ ।

 

 

पछिल्लो अध्यावधिक: माघ २०, २०७९ ११:५२