close

आउँदो साता एआई सम्बन्धी कार्यक्रम गर्दै गुगल, के च्याटजीपीटी जस्तै टुल सार्वजनिक गर्ला ?

टेकपाना टेकपाना

माघ २०, २०७९ १५:१३

आउँदो साता एआई सम्बन्धी कार्यक्रम गर्दै गुगल, के च्याटजीपीटी जस्तै टुल सार्वजनिक गर्ला ?

काठमाडौँ । गुगलले आफूले आर्टिफिसियल इन्टेलिजेन्समा गरेको कामका विवरण सार्वजनिक गर्ने भएको छ । आउँदो फेब्रुअरी ७ मा एक कार्यक्रम आयोजना गर्दै कम्पनीले एआईको प्रयोग गरेर मानिसहरूले कसरी जानकारी खोज्छन्, अन्वेषण गर्छन् र त्यससँग अन्तर्क्रिया गर्छन् भन्नेबारे जानकारी दिने भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम भर्जलाई प्राप्त जानकारी अनुसार कम्पनीले प्रयोगकर्तालाई आवश्यक पर्ने कुराहरू फेला पार्न एआईलाई पहिलेको भन्दा कसरी सहज बनाउने भन्नेबारे जानकारी दिनेछ । करिब ४० मिनेटसम्म हुने उक्त कार्यक्रम युट्युबबाट लाइभ हेर्न सकिने छ ।

बाहिरिएका विभिन्न समाचार अनुसार सो कार्यक्रममा गुगलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पिचाइले कम्पनीको नयाँ एआई टुलबारे जानकारी दिनेछन् । एआईमा आधारित टुल च्याटजीपीटीको उदयसँगै गुगलले पछिल्लो समय तनावपूर्ण अवस्थाको सामना गरिरहेको छ ।

विशेषगरी माइक्रोसफ्टले आफ्नो सर्च इन्जिन 'बिङ'मा यो टुल समावेश गर्ने खबर बाहिरिएसँगै गुगल पनि आफ्नै च्याटबट निर्माणमा सक्रिय छ । अहिले गुगल वा बिङजस्ता सर्च इन्जिनमा जे कुरा सर्च गरे पनि लिङ्कका रूपमा देखिन्छ । अर्थात् प्रयोगकर्ताले आफूलाई आवश्यक परेका जानकारी पाउन विभिन्न लिङ्क पछ्याउनुपर्ने हुन्छ ।

तर, च्याटजीपीटीमा भने कुनै पनि प्रश्न सोध्दा आवश्यक जवाफ क्षणभरमै मानिसकै शैलीमा पाउन सकिन्छ । च्याटजीपीटीले पछिल्लो समय भएका घटनाक्रमको जानकारी दिँदैन । यस टुलको यही कमजोरीलाई बढी केन्द्रित गर्दै गुगलले आफ्नो नयाँ एआई टुल सार्वजनिक गर्ने अनुमान छ ।

गुगलको यो कार्यक्रम गुगल लेन्स, म्याप्स, ट्रान्सलेट र शपपिङमा केन्द्रित गरे पनि यसको मुख्य उद्धेश्य नयाँ एआई टुलको परिचित गराउने रहेको भनिएको छ । त्यसमा विशेष आकर्षण भने गुगल लेन्स, म्याप्स, ट्रान्सलेट र शपिङका जानकारी हुनेछ ।

पछिल्लो अध्यावधिक: माघ २०, २०७९ १५:१३