close

फोनपेले ल्यायो डिजिटल गिफ्ट कार्ड, कुनै पनि वस्तु तथा सेवा किन्न सकिने

टेकपाना टेकपाना

माघ २१, २०७९ ८:७

फोनपेले ल्यायो डिजिटल गिफ्ट कार्ड, कुनै पनि वस्तु तथा सेवा किन्न सकिने

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपेले ‘डिजिटल गिफ्ट कार्ड’ सार्वजनिक गरेको छ । शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै कम्पनीले याे सेवा ल्याएकाे जानकारी दिएको हाे ।

अनलाइनमा आधारित रहने यो गिफ्ट कार्डबाट कुनै पनि मर्चेन्टले सार्वजनिक गर्ने भाउचर अरुलाई उपहारका रुपमा दिन सकिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवस सापकोटाले बताए ।

उनका अनुसार फोनपे एपमा ठूला मर्चेन्टहरूले भाउचर जारी गर्छन्, जसलाई ग्राहकले उपहार स्वरूप अरुलाई दिन वा आफैं खरिद गरी प्रयोग गर्न सकिन्छ । यसरी डिजिटल रुपमा पाइने गिफ्ट कार्डबाट कुनै पनि वस्तु तथा सेवा किन्न सकिने उनले जनाए ।

त्यस्तै यो सेवा प्रयोग गर्दा ग्राहकले क्यूआरको तुलनामा बढी छुट पाउने पनि उनले उल्लेख गरे ।

“जसरी हामीले मोबाइल वालेट वा बैंङ्क अकाउन्टबाट सामान किन्छौं । त्यसरी नै अनलाइन गिफ्ट कार्डबाट पनि सामान किन्न सकिन्छ,” उनले भने ।

तर यो सेवा प्रयोग गर्दा जुन मर्चेन्टको भाउचर किनेको वा उपहार पाएको हो, त्यहीँ गएर मात्र रिडिम गर्न मिल्ने उनले उल्लेख गरे ।

यो सेवासँगै कम्पनीले बिना इन्टरनेट अनलाइन भुक्तानी गर्न मिल्ने ‘फोनपे अफलाइन पेमेन्ट’ सेवा पनि सार्वजनिक गरेको छ । यी दुवै सेवा अबको केही महिनाभित्र सबैले प्रयोग गर्न मिल्ने गरी ल्याउने तयारी भइरहेको उनले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: माघ २१, २०७९ ८:७