close

अन्ततः सुरु भयो नेटफ्लिक्सको पासवर्ड शेयर गर्न नमिल्ने व्यवस्था

टेकपाना टेकपाना

माघ २७, २०७९ १४:३४

अन्ततः सुरु भयो नेटफ्लिक्सको पासवर्ड शेयर गर्न नमिल्ने व्यवस्था

काठमाडौं । नेटफ्लिक्सले पासवर्ड शेयर गर्न नमिल्ने व्यवस्था सुरु गरेको छ । यसअन्तर्गत पहिलो चरणमा क्यानडा, न्युजिल्यान्ड, पोर्चुगल र स्पेनमा याे व्यवस्था विस्तार गरिएकाे छ । अब यी चार देशका प्रयोगकर्ताले अन्य प्रयोगकर्तामाझ नेटफ्लिक्सको पासवर्ड शेयर गर्न पाउने छैनन् । तर, एउटै घरमा भएको अवस्थामा भने पासवर्ड अन्य डिभाइसमा शेयर गर्न सकिन्छ ।

यदि तपाईँ नेटफ्लिक्स प्रयोगकर्ता हुनुहुन्छ र अन्य प्रयोगकर्तामाझ पासवर्ड शेयर गर्न चाहनुभयो भने थप शुल्क तिर्नुपर्ने हुन्छ । यो शुल्क हरेक देशअनुसार फरक-फरक हुने नेटफ्लिक्सले उल्लेख गरेकाे छ । तर, यस्तो अवस्थामा पनि त्यसरी शुल्क तिरेर दुईओटा मात्र अतिरिक्त अकाउन्ट खोल्न सकिन्छ ।

अहिले पासवर्ड शेयर गरिरहेका प्रयोगकर्ताको अकाउन्ट नयाँ ‘पेड अकाउन्ट’मा समावेश हुन्छ । नयाँ अकाउन्ट आउनासाथ पहिलेको अकाउन्टमा भएका डेटा नयाँमा ट्रान्सफर हुन्छन् । विशेषगरी रेकमेन्डेसन, वाच हिस्ट्री, वाच लिस्ट, सेभ्ड गेम्स सबै नयाँ अकाउन्टमा मुभ हुने कम्पनीले जनाएको छ ।

नयाँ अकाउन्टमा डेटा मुभ हुनासाथ 'पासवर्ड-शेयरिङ रेस्ट्रिक्सन' लागू हुन्छ । त्यसपछि प्रयोगकर्ताले अन्य प्रयोगकर्तालाई पासवर्ड शेयर गर्नसक्ने छैनन् । नेटफ्लिक्सका मेम्बरले आफ्नो प्राइमेरी लोकेसनमा घरको एड्रेस राख्नुपर्ने हुन्छ, जसले गर्दा त्यसबाहेकको क्षेत्रमा हुने डिभाइसमा उक्त अकाउन्ट लगइन गर्न मिल्ने छैन ।

यो व्यवस्था लागि भइसकेपछि हरेक ३० दिनमा प्रयोगकर्ताले होम नेटवर्कमा अकाउन्ट लगइन गर्नुपर्ने हुन्छ । अन्यथा अकाउन्ट ब्लक हुने सम्भावना धेरै हुन्छ । माथि उल्लेखित देशहरूमा यो व्यवस्था लागू भएसँगै अब अमेरिकामा लागू हुने विभिन्न सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

यो नयाँ नीति २०२३ भित्र सम्पूर्ण देशमा लागू गरिसक्ने कम्पनीको योजना रहेको छ ।

पछिल्लो अध्यावधिक: माघ २७, २०७९ १४:४१