काठमाडौं । जमाना इन्टरनेटको छ । इन्टरनेटकै कारण हामी घर बसीबसी थुप्रै काम गर्न सक्छौँ । एक क्लिकको भरमा बिजुलीको बिल तिर्नेदेखि बैंकिङ कारोबारसम्म गर्न सक्छौँ । इन्टरनेटले हाम्रो दैनिकीलाई जति सजिलो बनाएको छ, यसको प्रयोग गर्दा त्यति नै चनाखो हुनुपर्ने समय आएको छ । एक गलत क्लिकका कारण तपाईँको गोप्य सूचनादेखि वर्षौँको कमाइ गुम्न सक्छ ।
सुरक्षासम्बन्धी काम गर्ने एक कम्पनी ‘थ्रेट फेब्रिक’ले हालै ‘ब्रोकवेल’ (Brokewell) नामक एन्ड्रोइड मोबाइलमा आधारित बैंकिङ मालवेयरको बारेमा विवरण सार्वजनिक गरेको छ । ‘ब्रोकवेल’ ले तपाईँको बैंक खाताको विवरण चोरेर अनधिकृत रूपमा तपाईँको रकम हिनामिना गरिदिन सक्ने विवरणमा उल्लेख छ ।
एन्ड्रोइडमा फेक गुगल क्रोमको अपडेट पठाएर ब्रोकवेलले बैंकिङ खातामा पहुँच बनाउने काम गरिरहेको उसकाे प्रतिवेदनमा उल्लेख छ । साथै गुगलले आफ्नो ब्राउजरमा राखेको वास्तविक विज्ञापनकै माध्यमबाट समेत ब्रोकवेल मोबाइलमा प्रवेश गर्न सक्नेगरी मालवेयर डिजाइन गरिएको छ ।
थ्रेट फेब्रिकका अनुसार ब्रोकवेलसँग ‘रिमोट-कन्ट्रोल’ क्षमता छ । इलेक्ट्रोनिक क्षेत्रमा रिमोट कन्ट्रोल भनेको टाढाबाटै अर्को उपकरण सञ्चालन वा प्रयोग गर्न गरिन्छ ।
डेटा चोरीकै लागि सहज हुने गरी ब्रोकवेलको मालवेयरमा बनाइएको समेत थ्रेट फेब्रिकले जनाएको छ, जसले एन्ड्रोइडको बैंकिङ एपमा हानी पुर्याउँछ । गुगलले प्रतिबन्ध लगाएका अन्य एन्ड्रोइड मालवेयरभन्दा पनि ब्रोकवेल शक्तिशाली देखिन्छ । कुनै पनि एन्ड्रोइड डिभाइसमा एक पटक यो ब्रोकवेलको मालवेयर इन्स्टल भयो भने त्यसले अन्य जुनसुकै एपमा सजिलै पहुँच बनाउन सक्ने थ्रेट फेब्रिकले जनाएको छ ।
अहिलेसम्म ब्रोकवेलले कुनै पनि एन्ड्रोइड डिभाइसमा पहुँच बनाउन गुगल क्रोम, आईडी अस्ट्रिया र क्लार्नाको प्रयोग गरिरहेको छ । ब्रोकवेलले बैंकिङ सूचना मात्रै नभई डिभाइसको फोनकल हिस्ट्री,लोकेसन र रेकर्ड भएका अडिओ जस्ता सामग्रीमा समेत पहुँच बनाउन सक्छ । मालवेयरकै कारण तपाईंँको बैंक तथा वालेटमा रहेको रकम छिनभरमै रित्तिनसक्ने जोखिम बढेको छ ।
ब्रोकवेल जस्ता मालवेयर एपहरूको उदयले एन्ड्रोइडको सुरक्षामा गम्भीर ध्यान पुर्याउनुपर्ने देखिन्छ । यसका लागि गुगलले प्रयोगकर्ताहरूलाई सुरक्षित राख्न नयाँ तरिकाहरू खोज्न आवश्यक हुन्छ । प्रयोगकर्ताहरू पनि आफैंले एन्ड्रोइडमा के डाउनलोड र साइडलोड गर्दै छु भन्ने बारे हेक्का राख्नुपर्छ ।
यदि तपाईँ अहिले एन्ड्रोइड फोन चलाउँदै हुनुहुन्छ भने कुनै पनि एप डाउनलोड गर्दा सावधान रहनुहोस् । विश्वसनीय स्रोतहरूबाट मात्र डाउनलोड गर्नुहोस् । यदि कुनै पनि तेस्रो-पक्ष वा एपले तपाईंको एन्ड्रोइडमा पहुँच मागिरहेको छ भने तिनीहरूलाई पहुँच नदिनुहोस् । यसले तपाईंको उपकरण र यसमा भण्डारण गरिएका कुनै पनि डेटामा खुला पहुँच प्रदान गर्न सक्छ ।