close

एनएफसी अर्थात् 'नियर-फिल्ड कम्यनिकेसन' के हो, मोबाइल भुक्तानीमा कसरी प्रयोग हुन्छ ?

टेकपाना टेकपाना

माघ २८, २०७९ १२:२४

एनएफसी अर्थात् 'नियर-फिल्ड कम्यनिकेसन' के हो, मोबाइल भुक्तानीमा कसरी प्रयोग हुन्छ ?

काठमाडाैं । आजभोलिका अधिकांश स्मार्टफाेन तथा स्मार्टवाच एनएफसी टेक्नोलोजीयुक्त हुन्छन् । यो फिचर स्मार्टफोनमा गोप्य रुपमा बसेको हुन्छ । अर्को एनएफसी डिभाइस नजिकै नहुँदासम्म यसले काम भने गर्दैन । तर यसबाट धेरै काम गर्न सकिन्छ ।

एप्पल पे, गुगल पे र सामसङ पेले एनएफसी फिचरबाट धेरै फाइदा लिइसकेका छन् । मुख्यत: एनएफसी मोबाइल पेमेन्ट गर्नका लागि निकै उपयोगी छ । स्मार्टफोनको यही फिचर प्रयोग गर्दै भुक्तानी प्रणाली सञ्चालक फोनपेले हालै ‘अफलाइन पेमेन्ट’ सञ्चालनमा ल्याएको छ । 

एनएफसी के हो? 

एनएफसीको पूरा रुप नियर फिल्ड कम्प्युनिकेसन (near-filed communication) हाे । विशेष गरेर डिभाइसहरु बीच वायरलेस (तारविहीन) सञ्चारका लागि यो प्रविधि प्रयोग गरिन्छ । यसले एनएफसी डिभाइसहरु बीच सानो मात्राको डेटा आदानप्रदान गर्ने काम गर्छ ।

एनएफसी, रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (Radio Freqency Identification - आरएफआईडी) प्रविधिसँग उस्तै छ । हुन त यो आरएफआईडीमा नै आधारित एक प्रविधि हो । आरएफआईडी प्रविधिकै विकसित रुपमा एनएफसीलाई लिने गरिन्छ । एनएफसीमा थप सुविधा र सुरक्षा हुने गर्छन् । तर यी दुई प्रविधिमा धेरै साझा कुरा रहेका हुन्छन् ।

एनएफसीमा ब्लुटुथ अथवा वाई-फाई डिभाइस प्रयोग गर्दा जस्तै जोडा (पेयर) खोजी रहनु पर्दैन । तर यसलाई प्रयोग गर्न एनएफसी डिभाइसहरू अत्यन्त नजिक राख्नुपर्ने हुन्छ । पछिल्लो समय यसको प्रयोग मोबाइल पेमेन्ट गर्न बढ्दै गइरहेको छ ।

एनएफसीले फोनमा के-के गर्न सक्छ ?

सुरुमा नयाँ प्रविधि भएका कारण एनएफसी प्रविधिहरु उति चर्चामा आएका थिएनन् । त्यस्तै यस प्रविधिले प्रयोगकर्ता पाउन निकै लामो समय कुर्नुपरेको थियो । यसको उदाहरण भनेको गुगलको ‘एन्ड्रोइड बिम’ (Andriod Beam) हो ।

एन्ड्रोइड फोनहरु बीच डेटा साटासाट गर्ने उद्देश्यले गुगलले सन् २०११ मा एन्ड्रोइड बिम सञ्चालनमा ल्याएको थियो । जुन एक एनएफसी थियो । तर एन्ड्रोइड बिमबाट डेटा सार्न दुई फोनहरु धेरै नै नजिक राख्नपर्ने हुन्थ्यो । त्यस्तै एनएफसीमा कनेक्सन पनि धेरै ढिलो थियो ।

यसकारण गुगलले एन्ड्रोइड बिमलाई हटाउँदै ‘फास्ट शेयर’ (fast Share) ल्यायो । जसलाई पछि गुगलले ‘नियरबाइ शेयर’ (Nearby Share) नामाकरण गर्यो । यसले ब्लुटुथ र वाई-फाईभन्दा धेरै क्षेत्रफल र छिटो गति प्रदान गर्छ । 

यसरी एनएफटीलाई सुरुमा सबैले स्वीकार्न समय लागेको थियो । तर आरएफआईडी भने पेमेन्ट कार्ड र सेक्युरिटी ट्यागहरुमा सन् २००० बाटै प्रयोग हुन थालेको थियो ।

मोबाइल पेमेन्ट

पछिल्लो समय मोबोइल पेमेन्ट निकै प्रचलनमा रहेको छ । मोबाइल पेमेन्टलाई प्रख्यात बनाउन सन् २०१४ मा आएको ‘एप्पल पे’ (Apple Pay) ले निकै भूमिका खेल्यो । हुन त गुगलले एप्पलले भन्दा पहिले मोबाइल पेमेन्ट ल्याएको थियो । तर एप्पलले बजारीकरणमा धेरै ध्यान दियो र मोबाइल पेमेन्टमा निकै अगाडि भयो ।

त्यस समय युरोपतिर फिजिकल कन्ट्याकलेस पेमेन्ट कार्ड प्रचलनमा आइसकेको थियो । तर एप्पल पेसँग विभिन्न बैंङ्क तथा क्रेडिट कार्ड कम्पनीहरुले सहकार्य गरे । नतिजा स्वरुप मोबाइल पेमेन्टले ठूलो आकार लिन थाल्यो ।

मोबाइल पेमेन्टले फिजिकल कन्ट्याकलेस पेमेन्टमा भएको सुरक्षा कमीमा सुधार गरेको थियो । जसको गर्दा मोबाइल पेमेन्टलाई बढी सुरक्षित र भरपर्दो बनायो । त्यही माथि एप्पल पे र गुगल पेले फिजिकल कन्ट्याकलेस पेमेन्टले भन्दा धेरै अफरहरु ल्याए ।

फिजिकल कन्ट्याकलेस पेमेन्ट गर्न क्रेडिट अथवा डेबिट कार्ड प्रयोग गर्नपर्ने हुन्छ । तर मोबाइल पेमेन्टका लागि त्यस्ता सेवा प्रदान गर्ने एप भएको स्मार्टफोन भए प्रयाप्त हुन्छ ।  मोबाइल पेमेन्ट बढी भरपर्दो भएकाले मर्चेन्ट तथा बैंकहरूलाई ट्यानजेक्सन क्याप राख्नुपर्ने बाध्यता हटेको छ ।

मोबाइल पेमेन्ट बाहेक अन्य कामका लागि पनि एनएफसी प्रविधि प्रयोग गरिन्छ । यसको प्रयोग हुने क्षेत्रहरु निम्न छन्:

डेटा शेयर गर्न

एनएफसी प्रविधि भएका दुई डिभाइस बीच फोटो, भिडिओ तथा अन्य फाइलहरु शेयरहरु सकिन्छ । तर यसका लागि ती डिभाइसहरूको दूरी भने कम हुनुपर्छ ।

नियन्त्रण गर्न

एनएफसी इनेबल भएका स्मार्ट कार्ड तथा स्मार्टफोनबाट ढोका, गेट आदि खोल्न सकिन्छ । त्यस्तै एनएफसीम आधारित कन्ट्रोल सिस्टम टिकट काट्ने प्रक्रियमा समेत प्रयोग हुन्छ ।

ट्रिगर गर्न

एनएफसी सक्रिय भएका डिभाइसहरुमा एप खोल्न, वेबसाइट खोल्न समेत एनएफसी ट्यागहरु प्रयोग गरिन्छ । त्यस्तै कुनै पनि सामानमा एनएफसी ट्याग छ भने, त्यसमा एनएफसी इनेबल भएको स्मार्टफोन ट्याप गर्दा सम्पूर्ण विवरण देख्न सकिन्छ ।

स्वास्थ्य क्षेत्र

कुनै पनि बिरामीको पहिचान, ट्र्याकिङ र सूचना शेयर गर्न समेत एनएफसी प्रयोगमा आउँछ । यी बाहेक अन्य स्वास्थ्यको काम गर्न समेत यो प्रविधिलाई उपयोग गरिन्छ ।

समग्रमा एनएफसीको प्रयोग हुने क्षेत्र धेरै छन् । प्रयोग गर्न सजिलो, सुरक्षति, भरपर्दो र दुई डिभाइस बीच सञ्चार गर्न छिटो हुने भएका कारण एनएफसी धेरै क्षेत्रमा प्रयोगमा आउँछ ।

मोबाइल पेमेन्टमा एनएफसी कसरी प्रयोग हुन्छ ?

एनएफसी डिभाइस बीच मात्र यो सेवा उपलब्ध हुन्छ । अर्थात् ग्राहक र मर्चेन्ट दुवैको एनएफसी इनेबल डिभाइस हुन आवश्यक छ । तब मात्र मोबोइल पेमेन्ट गर्न सकिन्छ । त्यसपछि भुक्तानीका लागि तयार भइसकेपछि फोनलाई ‘पेमेन्ट टर्मिनल’ (पोस मसिन) को नजिक राख्नुपर्ने हुन्छ ।

यसो गर्दा फोनले टर्मिनल स्वत: पहिचान गरी भुक्तानी प्रक्रियाको थालनी गर्छ । त्यसपछि भुक्तानी निश्चित गर्नुपर्छ । अब पिन हालेर भुक्तानी सम्पन्न गर्नुपर्छ ।

एनएफसी प्रयोगका फाइदा

एनएफसी प्रयोग गर्दाका लागि केही फाइदा निम्न छन्:

-भुक्तानीका लागि परम्परागत क्रेडिट कार्ड प्रयोगको भन्दा बढी सुरक्षित

-भुक्तानी प्रक्रियालाई सहज र सरल बनाउने,

-सजिलै ब्याक-इन्ड सम्बन्धी जानकारी पाउन सकिने,

-नयाँ कनेक्सनका लागि सजिलो प्रक्रिया

एनएफसी प्रयोगका बेफाइदा

एनएफसी प्रयोग गर्दाका लागि केही बेफाइदा निम्न छन्:

-निकै कम दूरीमा (करिब चार इन्च) मात्र काम गर्ने

-मानकीकरणको (standardization) अभाव

-विशेष प्रकारको हार्डवेयर चाहिने

-अवरोधको जोखिम

क्यूआर कोड र एनएफसी एउटै हुन् ?

यी दुवैको काम डिभाइसहरु बीच सूचना आदानप्रदान गर्नु भएपनि एकै भने होइनन् । यी दुवैमा भिन्न प्रविधि भएको छ । क्यूआर कोड भनेको दुई आयाम (two-dimensional) भएका बारकोडहरु हुन्, जहाँ स्मार्टफोनको‍‍‍‍ क्यामेराले स्क्यान गरी सूचना आदानप्रदान गरिन्छ । त्यस्तै एनएफसी कम दूरीमा बिनातार सञ्चार गर्ने प्रविधि हो । 

संक्षेपमा यी दुवै एउटै काममा प्रयोग भए फरक-फरक प्रविधिहरू हुन्  । दुवैले  फरक फरक उद्देश्य पूरा गर्छन् । त्यस्तै दुवैलाई विभिन्न तरिकामा प्रयोग गरिन्छ ।

पछिल्लो अध्यावधिक: माघ २८, २०७९ १२:२६