close

सार्वजनिक सवारी नचल्दा अफलाइन राइडरको मनपरी, पठाओ-इनड्राइभमा भेट्नै मुस्किल

टेकपाना टेकपाना

फागुन २, २०७९ १४:५३

सार्वजनिक सवारी नचल्दा अफलाइन राइडरको मनपरी, पठाओ-इनड्राइभमा भेट्नै मुस्किल

काठमाडौं । मङ्ग‍लबार बिहानैदेखि काठमाडौं उपत्यकामा सार्वजनिक सवारी ठप्प थिए । ट्राफिक नियम लचिलो बनाउनुपर्ने माग राख्दै यातायात यातायात मजदुरहरू सार्वजनिक सवारी बन्द गरेर आन्दोलनमा उत्रिएका थिए ।

सार्वजनिक सवारी नचलेको बहानामा राइड शेयरिङ सेवाकाे नाममा राइडरहरूले भने अफलाइन सेवाका लागि मनपरी गरेको पाइएकाे छ । मङ्गलबार बिहानैदेखि सार्वजनिक सवारी नहुँदा पठाओ, इन्ड्राइभ लगायतका राइडरहरूले अफलाइन राइड गरिरहेका छन् ।

राजधानीमा सार्वजनिक सवारी नचल्ने विषयमा सोमबार नै बाहिर आइसकेको थियो । काम विशेषले गन्तव्यमा जानुपर्ने धेरैजसो यात्रुहरूहरूका लागि पठाओ-इन्ड्राइभ जस्ता राइड शेयरिङका माध्यम गतिलो विकल्प मानिएका थिए । तर राइड शेयरिङ एपमा राइडरहरूले यात्रुको रिक्वेस्ट नै एसेप्ट नगर्ने प्रवृत्ति व्यापक देखियो ।

काठमाडौं उपत्यकाका चोकचोकमा राइडरहरू यात्रुहरूसँग बार्गेनिङ गरिरहेको दृश्य बाक्लो थियो । सार्वजनिक सवारी साधनको भरमा चोकसम्म पुगेका यात्रुहरू लामो समय कुर्दा समेत गन्तव्यमा जान पाइरहेका थिएनन् ।

नजिकै जानुपर्नेहरू भने पैदलयात्रमा अघि बढ्दै थिए । तर सवारीसाधनको पर्खाईमा रहेका यात्रुहरूलाई भने अफलाइन राइडरहरूले ‘पठाओ हो ?’ भन्दै सोध्न आउँथे । सामान्य अवस्थामा राइड शेयरिङमार्फत गन्तव्यमा पुग्न एक सय रुपैयाँ भाडा तिर्नुपर्ने गन्तव्यका लागि समेत राइडरहरूले २००-३०० रुपैयाँसम्म मागिरहेका थिए ।

यो मङ्गलबार राजधानीमा कयौँ यात्रुहरूले भोगेको साझा अनुभव हो । कतिपय प्रयोगकर्ताले सामाजिक सञ्जालमा समेत आफ्नो तीतो अनुभव पोखिरहेका छन् ।

फेसबुकमा 'ब्याटम्यान राइट्स' युजरनेम भएको पेजमा राइड शेयरिङले उठाएको चर्को मूल्यको विरोध गर्दै लेखिएको छ, “कहिलेकाँही नागढुङ्गा-मुग्लिनतिरका जामहरूमा १२ घण्टा बढी कुर्दा अप्ठेरो परेको बेला झोल हालेको सामान्य चाउचाउको ४०० मा बेच्दै गरेको देखिन्छ । आज बन्द भन्ने बित्तिकै पठाओ-इन्ड्राइभका राइडरहरू सबैले अफलाइन मात्र चलाएका छन् । मूल्यमा मनपरी गर्दै २०० को ठाउँमा ३५० रे !” 

त्यस्तै अनिल योगी नामका अर्का फेसबुक प्रयोगकर्ताले लेखेका छन्, "यातायात मजदुरको आन्दोलन, उपत्यकामा सार्वजनिक यातायात बन्द । पठाओ र ट्याक्सीको निर्वाध ब्रह्मलुट !" यस विषयमा पठओकी प्रवक्ता सुरक्षा हमालले भने अफलाइन राइड गरेको उजुरी आए कारबाही गर्ने बताउँछिन् ।

"सार्वजनिक सवारी नहुँदा यात्रुहरूले राइड शेयरिङलाई विकल्पको रुपमा लिइरहेका छन्," उनले भनिन्, "अन्य समयको तुलनामा आज राइड शेयरिङको रिक्वेस्ट तीन गुणाले बढेको छ । तर अफलाइन राइडका कम्प्लेन पनि एकदमै धेरै आइरहेका छन् । यसमा हामीले कारबाही गरिरहेका छौं ।"

पछिल्लो अध्यावधिक: फागुन २, २०७९ १४:५३