close

२४० वाटको फास्ट चार्जरसहित आउँदो फेब्रुअरी २८ मा नयाँ स्मार्टफोन ल्याउँदै रियलमी

टेकपाना टेकपाना

फागुन ४, २०७९ ११:३

२४० वाटको फास्ट चार्जरसहित आउँदो फेब्रुअरी २८ मा नयाँ स्मार्टफोन ल्याउँदै रियलमी

काठमाडौं । स्मार्टफोन निर्माता रियलमीले आउँदो फेब्रुअरी २८ का दिन २४० वाट चार्जरसहितको रियलमी जीटी थ्री (Realme GT3) स्मार्टफोन  सार्वजनिक गर्ने भएको छ । हालै कम्पनीले यो स्मार्टफोनको सार्वजनिक मिति घोषणा गरेको हो ।

कम्पनीले बार्सिलोनामा हुने मोबाइल वर्ल्ड कंग्रेसमा यो फोन सार्वजनिक गर्ने तयारी गरेको चिनियाँ सञ्चारमाध्यले जनाएका छन् । जीटी नियो फाइभ स्मार्टफाेनको रिब्रान्ड गर्दै कम्पनीले अन्तर्राष्ट्रिय बजारमा जीटी थ्री ल्याउन लागेको चर्चा गरिएको छ ।

खबरअनुसार यो फोनमा ४६०० एमएएच क्षमताको ब्याट्री चार्ज गर्न २४० वाट फास्ट चार्जर उपलब्ध हुनेछ । यही मोडेलसँग कम्पनीले १५० वाट फास्ट चार्जर पनि उपलब्ध गराउनेछ । तर, उक्त मोडेलको ब्याट्री क्षमता ५००० एमएएच हुने बताइएको छ ।

पछिल्लो समय विभिन्न स्मार्टफोन निर्माता कम्पनीले चार्जरमा प्रतिस्पर्धा गरिरहेका छन् । विभिन्न चिनियाँ ब्रान्डले मिडरेन्ज फोनका लागि १२० वाट फास्ट चार्जर उपलब्ध गराउँदै आएका छन् ।

स्मार्टफोनको दुनियाँमा सबैभन्दा पहिले २०० वाट फास्ट चार्जर उपलब्ध गराउने कम्पनी साओमी हो । कम्पनीले रेड्मी १२ सिरिजका लागि यो चार्जर उपलब्ध गराउँदै आएको छ ।

पछिल्लो अध्यावधिक: फागुन ४, २०७९ ११:३