close

तपाईँको डिजिटल वालेट वा बैंकमा कसैले बिना कारण पैसा पठायो ? सावधान !

टेकपाना टेकपाना

फागुन ४, २०७९ १४:३७

तपाईँको डिजिटल वालेट वा बैंकमा कसैले बिना कारण पैसा पठायो ? सावधान !

काठमाडौं । ठगी नियत भएका व्यक्तिहरूले सोझासाझा मानिसलाई फसाउन नयाँ जुक्ति अपनाउन थालेको पाइएको छ । अनलाइनमार्फत रकम ठगी गरेपछि अन्तिममा सोझा मानिसलाई कानूनी झमेलामा फसाउन यस्ता गतिविधि हुन थालेकाे प्रहरी अनुसन्धानबाट खुलेकाे छ ।

"पहिला विभिन्न बहानामा अनलाइन ठगी गर्ने, अनि अन्तिममा कुनै साधारण मान्छेलाई फसाउन उसको खातामा पैसा पठाउने गरेका घटना बाहिरिएका छन्," काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका साइबर फ्रडका पिल्लर प्रमुख प्रहरी नायब उपरीक्षक लिलाराज डाँगीले टेकपानासँग भने ।

अहिलेसम्म पैसा फिर्ता गराएर त्यस्ता घटना मिलाउने गरिए पनि पीडित कानूनी उपचार खोज्न गयो भने अन्तिममा पैसा पाउने मान्छे नै ठगीमा संलग्न भएको देखिन्छ," उनले अगाडि भने । प्रहरी कार्यालयमा आउने  केही अनलाइन ठगीका घटनाको अनुसन्धान गर्दा स्क्यामरले यस्तो अभ्यास गरिरहेकाे पाइएकाे उनले बताए ।

यस्तोमा प्रयोग नगरेपनि बैंक तथा वालेटका अकाउन्ट बेलाबेला जाँच गरिरहन उनले प्रयाेगकर्तालाई सुझाव दिए । यदि अस्वाभाविक रूपमा मोबाइल वा वालेटमा रकम आएको छ भने जुन नम्बरबाट आएको हो, उसलाई वा नजिकको प्रहरी कार्यालयलाई त्यसबारे जानकारी दिन उनले अनुराेध गरे ।

"यस्तो घटनामा सबैभन्दा पहिले स्क्यामरले अनलाइनबाट रकम ठगी गर्छन् । त्यसपछि आफूसँग भएका विभिन्न नक्कली वालेट अकाउन्टमा ट्रान्सफर गर्छन् । र, अन्त्यमा कुनै अञ्जान व्यक्तिको नम्बर राखी सोही नम्बरमा रकम ट्रान्सफर गर्छन्," उनले भने ।

यस्तो घटनाको उजुरी परेको खण्डमा बैंक वा वालेटबाट पैसा कहाँ-कहाँ ट्रान्सफर भएको छ भन्ने जाँच गरिने र जाँच गर्दै जाँदा सक्कली नम्बर र वालेट अकाउन्ट भएको व्यक्ति दोषी देखिनसक्ने डाँगीले उल्लेख गरे ।

साथै केहीले यसरी स्क्याम गरेको रकम कसैको बैंक अकाउन्टमा राख्ने र सो व्यक्तिलाई कमिसन दिएर बाँकी पैसा एटीएमबाट निकाल्न लगाउने गरेका घटना पनि प्रहरी कार्यालयमा आएकाे उनले सुनाए ।

यसरी कमिसनको लोभमा पर्दा ठगीको सम्पूर्ण रकम नै  व्यहोर्नुपर्ने अवस्था आउनसक्ने डाँगीले चेतावनी दिए ।

उनले भने, "कसैले बैंकमा पैसा ट्रान्सफर गर्छु, मलाई एटीएमबाट निकालेर दिनू भन्यो भने सचेत हुनुपर्छ । धेरै नै आपतमा परेर सहयोगको याचना गरेको हो वा मोटो रकमको लोभ देखाएको हो त्यसमा सर्वसाधारणले ख्याल गर्नुपर्छ ।"

यदि वालेट वा बैंकमा पैसा आइसकेको छ र सो व्यक्तिले समयमै जानकारी दिएन भने ठगीको कसूर लाग्न सक्ने उनी बताउँछन् । अनलाइनबाट हुने हरेक कारोबारको प्रमाण हुने भएकाले कसैले ट्रान्सफर गर्दा नगद मागेको छ भने शंका गर्नुपर्ने उनले बताए ।

त्यस्तै ल्यापटप वा मोबाइलजस्ता डिभाइस सेकेन्ड ह्याण्डमा खरिद गर्दा पनि सजग हुनुपर्नेमा डाँगीले जाेड दिए ।

''केही व्यक्तिले डिभाइस सेकेन्ड ह्यान्डमा बिक्री गरेको र पछि सोही डिभाइस चोरी भएको भन्दै उजुरी दिने गरेका घटना पनि छन्,'' उनले भने, ''दूरसञ्चार प्राधिकरणबाट नम्बर ट्रयाक भएर उक्त डिभाइस प्रयोग गरिरहेका व्यक्तिको पहिचान गर्न सकिन्छ । फोन खरिद गरेको प्रमाण नहुँदा सेकेन्ड ह्याण्ड डिभाइस खरिद गर्ने व्यक्तिले नै चोरी गरेको देखिन्छ । त्यसैले सेकेन्ड ह्यान्ड डिभाइस खरिद गर्दा पनि आफ्नो नाममा बनाएर वा कुनै लिखित सम्झौता गरी डिभाइस खरिद गर्नुपर्छ,'' उनले भने ।

पछिल्लो अध्यावधिक: फागुन ४, २०७९ १४:३७