close

अन्य सबैले इन्टरनेट बजार विस्तार गर्दा भएकै ग्राहक गुमाउँदै नेपाल टेलिकम

टेकपाना टेकपाना

फागुन १५, २०७९ १७:४३

अन्य सबैले इन्टरनेट बजार विस्तार गर्दा भएकै ग्राहक गुमाउँदै नेपाल टेलिकम

काठमाडौं । इन्टरनेट सेवाको प्रयोग बढ्दै जाँदा सेवा प्रदायकहरूबीच नयाँ ग्राहक बढाउने र प्रतिस्पर्धी कम्पनीको बजार खोस्ने होड नै चलेको छ । यस्तोमा प्रायः सबैजसो इन्टरनेट सेवाप्रदायकले ग्राहक सङ्ख्या बढाइरहेका छन् ।

तर सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले भने पहिलो पटक आफ्ना भएकै इन्टरनेट ग्राहक समेत जोगाउन सकेको छैन । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्क अनुसार अन्य सबै कम्पनीहरूले इन्टरनेट ग्राहक बढाउँदै आइरहेकोमा टेलिकमले भने गएको एक वर्ष वर्षको अवधिमा १९ हजार २५ ग्राहक गुमाएको देखिन्छ ।

गत वर्ष तीन लाख आठ हजार ७९१ ग्राहक रहेको कम्पनीमा यस वर्षको कात्तिकसम्ममा घटेर दुई लाख ८९ हजार ७६६ ग्राहक सीमित हुन पुगेका छन् ।

 

इन्टरनेट सेवाप्रदायकहरूको ग्राहक आधार

सेवाप्रदायक

२०७५

२०७६

२०७७

२०७८

२०७९

वर्ल्डलिङ्क

251954

338,054

422,199

550579

702998

भायानेट

60325

90,011

123,712

155769

248498

सुबिसु

58,737

98,023

168,890

243733

243121

नेपाल टेलिकम

207,508

233,289

269,192

308791

289766

क्लासिक टेक

40669

81,515

115,876

188303

253752

वेब सर्फर

15,517

18,839

29,671

74042

117889

डिशहोम

0

0

0

38474

183558

सीजीनेट

0

0

0

5721

39506

अन्य

94119

115521

170584

271752

365937

कूल

728829

975,252

1,300,124

1837164

2445025


स्रोतः नेपाल दूरसञ्चार प्राधिकरण


 

निजी कम्पनीमा ग्राहक गुमाउने सुबिसु एक्लो

बजारमा सेवाप्रदायकबीच प्राइस वार तथा स्पिड वार चल्दा निजी इन्टरनेट सेवाप्रदायक सुबिसुले पनि आफ्नो बजार गुमाएको छ । गत वर्ष ४४ प्रतिशतले नयाँ ग्राहक वृद्धि गरेको कम्पनीले यस वर्ष भने ६१२ ग्राहक गुमाएको हो ।

यद्यपि प्रतिशतको हिसाबले यो शून्य दशमलव २५ प्रतिशत मात्रै हो । अन्य प्रतिस्पर्धीले दोहोरो-तेहरो अङ्क प्रतिशतमा बजार विस्तार गरिरहँदा सुबिसुका लागि यो राम्रो सङ्केत भने अवश्य पनि होइन ।

 

सबैभन्दा छिटो बजार विस्तार गर्नेमा सीजी र डिशहोम

सेवाप्रदायकहरू मध्ये तेहरो अङ्क प्रतिशतमा ग्राहक विस्तार गर्नेमा सीजीनेट र डिशहोम गरी दुई ओटा कम्पनी मात्रै छन् । २०७८ कात्तिकमा पाँच हजार ७२१ ग्राहक रहेको सीजीले पाँच गुणाभन्दा बढी अर्थात ५९०.५४ प्रतिशतले बजार विस्तार गर्दै ग्राहक आधार ३९ हजार ५०६ पुर्‍याएको छ ।

त्यस्तै गत वर्ष ३८ हजार ४७४ ग्राहक रहेको डिशहोम फाइबरनेटले ३७८ प्रतिशतको वृद्धिमार्फत ग्राहक सङ्ख्या एक लाख ८३ हजार ५५८ पुर्‍याएको छ ।

 

नयाँ ग्राहक थप्नेमा वर्ल्डलिङ्क अझै नम्बर वान

देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्कको ग्राहक विस्तार गत वर्षको तुलनामा झन्डै तीन प्रतिशतले खस्किएको छ । यद्यपि नयाँ थपिन ग्राहक सङ्ख्याको हिसाबले भने कम्पनी अझै नम्बर वानमा नै रहेको छ ।

वर्ल्डलिङ्कले २०७८ कात्तिकदेखि यताको एक वर्षमा एक लाख ५२ हजार ४१९ नयाँ ग्राहक थप गरेको छ । जब कि दोस्रो धेरै नयाँ ग्राहक बनाउने डिशहोममा एक लाख ४५ हजार ८४ थप ग्राहक जोडिएका छन् ।

त्यसपछि क्रमशः भायानेटमा ९२ हजार ७२९, क्लासिक टेकमा ६५ हजार ४४९, वेबसर्फरमा ४३ हजार ८४७ र सीजीनेटमा ३३ हजार ७८५ नयाँ ग्राहक थपिएको देखिन्छ । समग्रमा गएको एक वर्षमा ३३ प्रतिशत अर्थात छ लाख सात हजार ८६१ ओटा नयाँ ग्राहक इन्टरनेट सेवामा  थपिएका छन् । 

पछिल्लो अध्यावधिक: फागुन १५, २०७९ १७:४३