थाङ्का चित्रकला-बायाँः मुक्तिसिंह थापा (पौभा), दायाँः तारामान बमजन (थाङ्का)
काठमाडौँ । नेपालका मौलिक चित्रकला थाङ्का र पौभाको संरक्षण तथा पहिचानका लागि ब्लकचेन र एआई प्रविधिको प्रयोग सुरु गरिएको छ । हिमालयन आर्ट काउन्सिलले मङ्गलबार ललितपुरमा एक कार्यक्रम गर्दै नेपालका ५० भन्दा बढी कलाकारका थाङ्का चित्रकला ब्लकचेन प्रविधिमा दर्ता गरिएको जानकारी दिएको हो ।
ती चित्रकला बिहीबारदेखि शनिबारसम्म पाटन सङ्ग्रहालयमा आयोजना हुने प्रदर्शनीमा राखिनेछ । काउन्सिलका अनुसार ब्लकचेन प्रविधिमार्फत प्रत्येक चित्रकलाको डिजिटल प्रमाणपत्र तथा स्वामित्व रेकर्ड सुरक्षित रूपमा दर्ता हुनेछ । साथै, एआईको सहायताले कलाकारको मौलिक शैली, रङ प्रयोग तथा सूक्ष्म विवरणको विश्लेषणमार्फत चित्रकला पहिचान गर्न सकिने बताइएको छ ।
क्युरेटर मीना लामाका अनुसार कलाकृति दर्ता नहुँदा कलाकारहरूले उचित श्रेय तथा मूल्य नपाउने अवस्था छ । “आफ्नो कला अर्कोले कपी गर्छ कि भन्ने डरले हाम्रा कलाकार गुमनाम रहन्छन्,” लामाले भनिन्, “कुनै विदेशीले उक्त चित्रकला किनेर विदेशमा बेचिसक्छ । त्यतिबेलासम्म यो कसले बनाएको भन्ने थाहा नै हुँदैन । अर्थात् कलाकारले पाउनुपर्ने उचित श्रेय नै पाउँदैन । किनभने त्यसलाई कहीं पनि दर्ता भएको हुँदैन ।”
कलाकार, क्युरेटर तथा आर्टुडियो नेपालका संस्थापक कैलाश के श्रेष्ठ यस प्रविधिले नेपाली कलाकृतिलाई जीवन्त राख्ने भनाइ राखे । “नेपालका मौलिक कलाकृतिलाई ब्लकचेन प्रविधि र एआई प्रविधिमा ल्याउँदा त्यसको उचित डकुमेन्टेसन हुन्छ,” श्रेष्ठले भने, “ब्लकचेनले कलाकृति कहिले, कसले बनाएको हो, यसको मूल्य र अर्थ के हो भन्ने विवरण राख्न मद्दत गर्छ । त्यसैले पनि कुनै कलाकारले बनाएको कलाकृति सधैं जीवन्त रहन्छ ।”
नेपालका मौलिक चित्रकला थाङ्का र पौभामा कसरी जोडिन्छ ब्लकचेन र एआई प्रविधि ?
क्रिप्टोग्राफिक लेजर प्रविधि प्रयोग गरिएको यस प्रणालीमा दुई पक्षीय प्रमाणीकरण प्रक्रिया हुनेछ । साउथ पार्क कमन्सका फेलो सिन ह्वेलका अनुसार यसका लागि ‘कसमस प्रोटोकल’मा आधारित निजी ब्लकचेन अपनाइएको छ । यो प्रणाली स्मार्ट कन्ट्र्याक्टमा आधारित भएपनि क्रिप्टोकरेन्सी प्रयोग गर्नु नपर्ने उनले बताए ।
काउन्सिलले यसका लागि ‘कोसमस प्रोटोकल’मा आधारित निजी ब्लकचेन प्रणाली प्रयोग गरेको छ । यसमा क्रिप्टोग्राफिक लेजर पद्दति प्रयोग हुने भएकाले नेपालका लागि उपयुक्त हुने ह्वेलको भनाइ छ ।
“नेपाली थाङ्का र पौभा चित्रकलाका लागि हामी जे गरिरहेका छौं त्यो प्राविधिक रूपमा निजी ब्लकचेन सञ्चालन गर्नु हो । यसको अर्थ सम्झौता (स्मार्ट कन्ट्र्याक्ट) कार्यान्वयन गर्न कुनै क्रिप्टोकरेन्सी प्रयोग गर्नु पर्दैन । यस प्रणालीमा दुई पक्षीय प्रमाणीकरण (डुअल अथेन्टिकेसन) हुन्छ,” उनले भने ।
ह्वेलका अनुसार यो प्रविधि एनएफटी (नन-फन्जिबल टोकन) सँग मिल्दोजुल्दो भए पनि निजी लेजरमा सञ्चालन हुनेछ । त्यस्तै एआईको प्रयोग कलाकृतिको मौलिकता पहिचान गर्न र जालसाजी वा नक्कल पत्ता लगाउन गरिनेछ ।
एआईले कलाकारको चित्र बनाउने मौलिक शैली, रङको प्रयोग र सूक्ष्म विवरणहरूको विश्लेषण गरी कुन कृति कुन कलाकारको हो भनेर छुट्याउन मद्दत गर्नेछ । “म नेपालका मौलिक कलाकृति विश्लेषण गरेर यो कसले बनाएको हो भन्ने पहिचान गर्न सक्छु । तर, सर्वसाधारण वा कलाका पारखीले छुट्याउन नसक्लान । त्यसका लागि मैले यो पहिचान गर्न जे जस्ता विधि अपनाउँछु त्यो डेटाबाट एआईलाई तालिम दिइन्छ । र, एआईले त्यसैका आधारमा चित्रकला पहिचान गर्न सक्छ,” क्युरेटर लामाले थपिन् ।
अझ सरल तरिकाले भन्नुपर्दा थाङ्का चित्रकलामा कलाकारले हस्ताक्षर नगर्ने परम्परा भए पनि उनीहरूको काम गर्ने शैली (आइकनोग्राफी र आइकन्योमेट्री) मा एक विशिष्ट ढाँचा हुन्छ । त्यसैलाई एआईले पहिचान गर्न सक्छ । यसका लागि कलाकार, कलाकृति र त्यससँग सम्बन्धित कथाको वृहत् डेटाबेस तयार पारिनेछ ।
यो प्लेटफर्मले कलाकारलाई आफ्नो कृतिको उचित श्रेय र पहिचान दिलाउन, क्युरेटरलाई आफ्नो सङ्ग्रहको मूल्य, इतिहास र स्वामित्वको जानकारी सुरक्षित राख्न र शोधकर्ता तथा कलाप्रेमीलाई नेपाली कलाको गहिराइमा पुग्न मद्दत गर्ने काउन्सिलको विश्वास छ ।
सुरुवाती चरणमा काउन्सिलले परिचित कलाकारको कलाकृतिलाई म्यानुअल्ली ब्लकचेनमा दर्ता गरिरहेको छ । भविष्यमा कलाकार आफैँले आफ्नो कलाकृति स्व-प्रमाणित गर्न सक्ने प्रणाली विकास गरिने काउन्सिलको तयारी छ । हाल ५० नेपाली कलाकारहरू यस प्रक्रियामा सहभागी भइसकेका छन् ।
काउन्सिलले जीवित कलाकारका कृतिलाई प्राथमिकता दिने र निजी सङ्कलकसँग सहकार्य गरेर ऐतिहासिक कलाकृति दर्ता गर्ने लक्ष्य राखेको छ । यस प्रविधि आगामी १ जेठदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याइने बताइएको छ । विस्तृत जानकारी काउन्सिलको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।