close

साओमी १३ सिरिजका स्मार्टफोन सार्वजनिक, यस्ता छन् विशेषता

टेकपाना टेकपाना

फागुन १५, २०७९ १८:२५

साओमी १३ सिरिजका स्मार्टफोन सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । गत डिसेम्बरमा चिनियाँ बजारमा सार्वजनिक भएको साओमी १३ सिरिजका स्मार्टफोनहरू विश्व बजारका लागि पनि सार्वजनिक भएको छ । चिनियाँ स्मार्टफोन निर्माता कम्पनीले उक्त सिरिज मोबाइल वर्ल्ड कंग्रेश (एमडब्लुसी) २०२३ सुरु हुनुअघि बार्सिलोनामा सार्वजनिक गरेको थियो ।

साओमी १३ सिरिज अन्तर्गत कम्पनीले साओमी १३, साओमी १३ लाइट र प्रिमियम भर्सनको साओमी १३ प्रो विश्व बजारमा ल्याएको छ । साओमी १३ सिरिजमा प्रयोग भएको क्यामेरा विश्वकै उत्कृष्ट मानिने लाइका ब्रान्डको हो । जसमा ७५ एमएम लाइका टेलिफोटो लेन्स प्रयोग भएको कम्पनीले जनाएको छ ।

साओमी १३ प्रो

साओमी १३ प्रो स्नापड्रागनको ८ जेन २ चिपसेटद्वारा सञ्चालित छ । १२ हर्ज रिफ्रेश रेट भएको यस मोडेलमा ६.७३ इन्चको एलटीपीओ एमोलेड डिस्पे रहेको छ । यो मोडेल विशेषतः सेरामिक ब्ल्याक र सेरामिक ह्वाइट कलर अप्सनमा उपलब्ध छ ।

१२ जीबी र्‍याम भएको साओमी १३ प्रो २५६ जीबी र ५१२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध छ । यस मोडेलमा वाइड, अल्ट्रा र टेलिफोटो गरी तीन ओटा ५० मेगापिक्सेलका क्यामेरा समावेश छन् ।  र, मुख्य क्यामेरामा १ इन्चको सेन्सर रहेको बताइएको छ । सेल्फी पारखीका लागि साओमी १३ प्रोमा ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा उपलब्ध गराइएको छ ।

मीयूआई १३ मा आधारित उक्त मोडेल एन्ड्रोइड १३ द्वारा सञ्चालित छ । यो फोनले तीन वर्षसम्मको ओएस अपडेट पाउने कम्पनीको दाबी छ । ४,९२० एमएएच क्षमताको ब्याट्री भएको यस मोडेलमा कम्पनीले १२० वाटको फास्ट चार्जर उपलब्ध गएको छ । 

साथै ५० वाट वायरलेस चार्जरबाट पनि फोन चार्ज गर्न सकिन्छ । १२० वाटको सो चार्जरले फोनलाई आधा घण्टामै फुल चार्ज गर्ने कम्पनीको दाबी छ । यस मोडेलको सुरुवाती मूल्य १२९९ युरो (करिब एक लाख ८१ हजार रुपैयाँ) तोकिएको छ । यद्यपि यस मोडेलको मूल्य भने देश अनुसार फरक फरक पर्न सक्छ । 

साओमी १३ 

साओमी १३ मा १२० हर्ज रिफ्रेसरेट सहितको ६.३६ इन्चको ओएलईडी डिस्प्ले भएको यो फोन कालो, सेतो र हरियो रंगमा उपलब्ध छ । फोनमा ५० मेगापिक्सेलको वाइड एंगल लेन्स, ५० मेगापिक्सेलकै अल्ट्रा-वाइड एंगल सेन्सर र ५० मेगापिक्सेलको टेलिफोटो क्यामेरा उपलब्ध छ । 

यद्यपि यो फोनमा १३ प्रोमा जस्तो १ इन्चको सेन्सर भने छैन । सेल्फिका लागि भने यसमा पनि ३२ मेगापिक्सेलको क्यामेरा दिइएको छ । स्न्यापड्रागन ८ जेन २ चिपसेट भएको यो फोन १२ जीबीको र्‍याम र ५१२ जीबीको स्टोरेज भेरियन्टमा उपलब्ध छ । फोनमा ४५०० एमएएचको ब्याट्री दिइएको छ ।   

विश्वबजारमा यो फोनको मूल्य ९९९ युरो (करिब १ लाख ३९ हजार रुपैयाँ ) तोकिएको छ ।  

साओमी १३ लाइट 

लाइट पिंक, लाइट ब्लु र कालो रंगमा उपलब्ध यो फोनमा १२० हर्ज रिफ्रेसरेट सहितको ६.५५ इन्चको एमोलेड डिस्प्ले छ । फोनमा ५० मेगापिक्सेलको मु्ख्य क्यामेरा सहित ८ मेगापिक्सेलको अल्ट्रा वाइड, २ मेगापिक्सेलको म्याक्रो सेन्सर र ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ । 

साथै यो फोनमा ८ मेगापिक्सेलको सेकेन्डरी फ्रन्ट क्यामेरा र डुअल फ्रन्ट एलईडी लेन्स पनि दिइएको छ । स्न्यापड्रागन ७ जेन १ चिपसेट भएको यो फोन ८ जीबी र्‍याम सहित २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ । फोनमा ४५०० एमएएचको ब्याट्री छ । 

विश्वबजारमा यसको मूल्य ४९९ युरो (करिब ७० हजार रुपैयाँ) तोकिएको छ । 

 



 

पछिल्लो अध्यावधिक: फागुन १५, २०७९ १८:२५