close

मोबाइल टावरको रेडियसनले मानव स्वास्थ्यमा कत्तिको असर गर्छ ?

भेषराज कँडेल

फागुन २१, २०७९ १८:४०

मोबाइल टावरको रेडियसनले मानव स्वास्थ्यमा कत्तिको असर गर्छ ?

मोबाइल र वाई-फाई सेवाको विस्तारले जनजीवनमा निकै प्रभाव पारेको छ । यिनको अभावमा हाम्रो दैनिकी नै अस्तव्यस्त हुने गर्छ । यसको प्रत्यक्ष अनुभव त हामीले २०६२/०६३ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहको राज्यकालमा पटकपटक महसुस गरेका थियौँ । त्यस्तो अवस्था नआओस् भनी कामना गर्छु ।

विकल्परहित रेडियो सेवाको एक पक्षले भने साधारण मानिसहरूमा केही चिन्ता देखिने गर्छ । एक्स-रेको प्रभावले मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ भन्ने जानकारी राख्नेहरूमा दूरसञ्चार सेवामा व्यापक प्रयोग हुने रेडियो तरङ्गले पनि कतै त्यस्तै प्रभाव पार्ने पो हो कि भन्ने चिन्ता देखिन्छ ।

त्यसमाथि यो विषयमा राम्रो जानकारी नै नभएका वा अर्धजानकारका गैरजिम्मेवार नकारात्मक टिप्पणीहरूले यो चिन्ता थप बढाउने काम गर्छ । सामाजिक सञ्जालमा मनोरञ्जन गर्नेहरूले फैलाउने हल्लाले त सूचना महामारी नै सिर्जना गरेको छ र कतिपय मानिसमा त्रास समेत पैदा गरेको छ ।

पहिला पहिला सहरहरूमा मोबाइल सेवाका टावर राख्दा भाडा आउने आसमा कतिपयले आफ्नै घरको छतमा टावर राख्न सोर्सफोर्स समेत लगाउने गर्थे । अहिले भने ती टावर हटाउन दूरसञ्चार कम्पनीलाई दबाब दिइरहेका छन् र ढिला भयो भने हटाउनका निम्ति विभिन्न शक्ति केन्द्रसमेत धाउँछन् । टोल छरछिमेकका मान्छेहरूले समेत टावर हटाउन दबाब दिने गरेको पाइन्छ ।

यस्तो त्रास नेपालमा मात्र होइन, अन्यत्र पनि छ । अमेरिकामा पनि स्वास्थ्यमा प्रतिकूल असर पार्ने भ्रममा फाइभजीका टावरहरूमा भिडले आगो समेत लगाएका छन् । फाइभजीले गर्दा कोरोना आयो भन्ने जस्ता निराधार हल्ला फैलाउने काम पनि भए ।

उन्नत समाज भए पनि अमेरिकामा अज्ञानीहरूको ठूलै भीड छ । सामाजिक सञ्जालका कुसमाचारहरूले आगोमा घिउ थप्ने गरेका छन् ।

वास्तवमा दूरसञ्चारमा प्रयोग हुने रेडियो विकिरणले मानव स्वास्थ्यमा पार्ने प्रभावबारे थुप्रै आधिकारिक अध्ययन भएका छन् र त्यस्ता अध्ययन जारी पनि छन् ।

अन्तर्राष्ट्रिय रेडियोलोजी सुरक्षा आयोग (International Commission on Radiological Protection - ICRP), अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन युनियन, विश्व स्वास्थ्य सङ्गठन र विभिन्न देशका विश्वविद्यालय, इस्टिच्युट आदि सङ्घसंस्थाहरू यसका उदाहरण हुन् ।

केकस्ता रेडियो विकिरणहरूको केकति मात्राले स्वास्थ्यमा कस्तो प्रभाव पार्छ भनेर मानकहरू समेत स्थापित भएका छन् । हालसम्मका अध्ययनले त्यस्तो नकारात्मक असर देखाएका छैनन् ।

रेडियो विकिरण के हो ? यहाँ साधारण जानकारी प्रस्तुत गर्ने जमर्को गरिएको छ ।

पोखरीमा ढुङ्गा फाल्दा उत्पन्न हुने छालजस्तै हो, रेडियो तरङ्ग । रेडियो तरङ्ग आम विद्युत् चुम्बकीय तरङ्गको एक अङ्ग हो । यसलाई आँखाले देख्न सकिन्न, केवल यन्त्रले मात्र जाँच गर्न सकिन्छ ।

यी तरङ्गहरूको प्रसारणका निम्ति कुनै माध्यम चाहिँदैन । भ्याकुममा पनि प्रसारण हुन्छन् । यी तरङ्गलाई ऊर्जाका कणका रूपमा पनि बुझ्न सकिन्छ।

ती कणहरू हाम्रो शरीरमा प्रवेश गरे भने शरीरले तिनलाई सोस्छ, माटोले पानी सोसेजस्तै । यो प्रक्रियालाई अवशोषण (Absorption) भन्ने गरिन्छ । आवृत्ति वा तरङ्गको लम्बाइ अनुसार असर पनि फरक फरक हुन्छ ।

न्यून आवृत्तिका तरङ्ग कणहरू शरीरमा पसेपछि तिनले हाम्रा जैविक कोषिकाहरूमा घर्षण पैदा गर्छन् । सर्वप्रथम त ताप पैदा हुन्छ, आगो वा घाम ताप्दाजस्तै ।

त्यसो त आगो वा घाम दुवै विद्युत चुम्बकीय तरङ्ग नै हुन् । सबै रेडियो तरङ्गहरूको आवृत्ति घामको प्रकाशभन्दा न्यून हुन्छ । त्यस कारण तिनले शरीरलाई तताउने मात्र काम गर्छन्, हानी गर्दैनन् ।

तर, आवृत्ति प्रकाशको भन्दा बढी भयो भने चाहिँ शरीरमा ती तरङ्गहरूको प्रभाव फरक हुन सक्छ । 

विद्युत् तरङ्गको लम्बाइ (अर्थात् निश्चित अवधिमा तरङ्गले पार गर्ने दूरी वा तरङ्गका दुई निकट उच्च विन्दुको दूरी) शरीरका कोषिकाहरूकै हाराहारी वा सोभन्दा साना हुँदा जैविक कोषिकाहरूमा कम्पन पैदा हुन्छ, जसका कारण कोषिका थर्किन थाल्छन् र तरङ्गमा ऊर्जा कणहरूले जैविक अणुका इलेक्ट्रोन उछिट्टयाइदिन्छन् ।

परिणाम स्वरूप जैविक कोषिकाहरूमा विद्युतीय चार्ज हुन पुग्छ, जसलाई आयोनाइजेसन भनिन्छ । यसले हाम्रो शरीर सञ्चालनका निम्ति आवश्यक शरीरमै अन्तर्निहित जैविक विद्युत प्रणालीमा विग्रह ल्याउन सक्छ ।

जुन शरीरका निम्ति हानिकारक हुन्छ र त्यसबाट क्यान्सर समेत हुन सक्छ । अल्ट्रा भायोलेट-रे, एक्स-रे, अल्फा-कण, बेटा-कण, गामा-कण, न्युट्रोन आदिले कोषिका आयोनाइज गर्न सक्छन् ।

कुन तरङ्गको प्रभाव कस्तो हुन्छ भन्ने जानकारी चित्रमा देखाइएको छ । आयोनाइजिङ कणहरू अवशोषण हुँदैमा डराइहाल्नु पर्दैन ।

आयोनाइजेसन कणहरूको अवशोषण न्यून मात्रामा हुँदा केही फरक पर्दैन, शरीरले सजिलै पचाउँछ । त्यसो त यस्ता कणहरू निरन्तर हाम्रो पृथ्वीमा विद्यमान छन् ।

राडोन कण आउँछन्, हामीलाई मनपर्ने फल केरामा पोटासियम हुन्छ, माटो, ढुङ्गाबाट आउँछन्, कस्मिक किरणहरू आकाशबाट जसले विकिरण पैदा गर्छ। यी कणहरूको मात्रा थोरै हुँदा चिन्ता गर्नु पर्दैन । हाम्रो शरीर अभ्यस्त छ, प्रकृतिले त्यस्तै बनाएको छ ।

तर, यस्ता कणहरूको मात्रा धेरै भयो भने स्वास्थ्यमा प्रतिकूल असर पार्छ । सारांशमा भन्नुपर्दा मोबाइल सेवामा प्रयोग हुने रेडियो विकिरणबाट डराउनुपर्ने आधार छैन । होहल्लाका पछि नलागौं ।

बरु मोबाइल प्रयोगमा ध्यान दिनुपर्ने अन्य कुरामा सचेत हौँ । जस्तैः मोबाइल कानैनिर राखेर धेरै प्रयोग गर्दा मोबाइलको ध्वनीले पछिपछि कान नसुन्ने हुन सक्छ । इयर फोन प्रयोग गरी धेरै सङ्गीत सुन्नेहरूमा कानको समस्या आउँछ ।

अप्ठ्यारो ठाउँमा मोबाइलबाट सेल्फी खिच्दा दुर्घटना हुने गर्छ, जीवन नै गुमाउने पनि छन् । मोबाइल र इन्टरनेटको  व्यापक प्रयोगले बालबालिकाहरूमा आँखाको समस्याका साथै ध्यान विकर्षण (Attention Deficit) हुने अध्ययनले देखाएको छ । 

मोबाइल चार्ज भइरहेको अवस्थामा प्रयोग गर्दा दुर्घटना भएका उदाहरणहरू छन् । मोबाइलबाट ठगी धन्दा चलाउनेहरूबाट सावधानी अपनाऔँ ।

नयाँनयाँ मोबाइल सेट खरिद गर्ने रहरले देशको अर्बौं वैदेशिक मुद्रा बाहिरिएको छ । मोबाइलमा झुन्डिने बानीले कति काम र पैसा गुमेका छन् । 

(नेपाल दूरसञ्चार प्राधिकरण रजत जयन्ती स्मारिकाबाट साभार । लेखक कँडेल प्राधिकरणका पूर्व अध्यक्ष समेत हुन् ।)

पछिल्लो अध्यावधिक: फागुन २१, २०७९ १८:५४