close

बेलायतमा सरकारी कर्मचारीलाई टिकटक चलाउन प्रतिबन्ध

टेकपाना टेकपाना

चैत ३, २०७९ १६:५८

बेलायतमा सरकारी कर्मचारीलाई टिकटक चलाउन प्रतिबन्ध

काठमाडौं । बेलायत सरकारले आफ्ना कर्मचारीलाई टिकटक प्रयोगमा रोक लगाएको छ । कर्मचारीले प्रयोग गर्ने डिभाइसमा सरकारका संवेदनशील जानकारी हुने र त्यसमा चीन सरकारले पहुँच बनाउनसक्ने भन्दै बेलायतले टिकटक प्रयोगमा प्रतिबन्ध लगाएकाे हो ।

बेलायत सरकारको यो निर्णयलाई टिकटकले भने भू-राजनीतिको अर्को कदमको रुपमा व्याख्या गरेको छ । ''हामी प्रयोगकर्ताको डेटा सरकारलाई दिने आरोपलाई सुरुदेखि नै अस्वीकार गर्दै आएका छौँ,'' टिकटककाे गभर्मेन्ट रिलेसन एन्ड पब्लिक पोलिसीका उपाध्यक्ष थियो बट्रोमले भने, ‘बेलायत सरकारको यो निर्णय भौगोलिक राजनीतिभन्दा अर्को कुनै विषय नै होइन ।''

उनले अगाडि भने, ''हामी हल्लाको आधारमा भन्दा पनि तथ्यका आधारमा कुनै पनि विषयको निर्धारण होस् भन्ने चाहन्छौं । त्यसका लागि बेलायत सरकारले आवश्यक अध्ययन गर्न सक्छ र त्यसका लागि कम्पनीको तर्फबाट पूर्ण सहयोग गर्न समेत हामी तयार छौँ,’ उनले थपे ।

बेलायती मन्त्री ओलिभर डाउडेनले भने सर्वसाधारणलाई पनि टिकटक प्रयोग नगर्न आग्रह गरेका छन् । उनले कुनै पनि सामाजिक सञ्जाल प्रयोगका लागि डाउनलोड गर्नुपूर्व त्यसको डेटासँग सम्बन्धित नीतिलाई अध्ययन गर्न आवश्यक रहेको औंल्याए ।

पछिल्लो अध्यावधिक: चैत ३, २०७९ १७:३१