close

कहिले आउला वर्ल्डलिङ्कको आईपीओ ?

टेकपाना टेकपाना

चैत ८, २०७९ १७:४२

कहिले आउला वर्ल्डलिङ्कको आईपीओ ?

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्सले आईपीओ जारी गर्ने तयारी तीव्र पारेको छ । आईपीओ जारी गर्न कम्पनीले आन्तरिक तयारी गरिरहेको वर्ल्डलिङ्कका अध्यक्ष एवं प्रबन्ध निर्देशक दिलीप अग्रवालले बताए । 

उनका अनुसार आउँदो आर्थिक वर्ष २०८०-८१ को पुस महिनासम्म आईपीओ जारी गर्ने कम्पनीकाे तयारी छ ।

''हामीले आईपीओको तयारी गरिसकेका छौँ,'' अग्रवालले टेकपानासँग भने, ''नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर अनुमति पाउँदासम्म कति समय लाग्छ, ठ्याक्कै भन्न भने सकिँदैन ।''

उनले बुक बिल्डिङ विधिबाट वर्ल्डलिङ्कको साधारण शेयर निष्कासन हुने जानकारी पनि दिए ।

वर्ल्डलिङ्कले हालै बेलायत सरकारको विकास वित्त संस्था एवं लगानीकर्ता ब्रिटिश इन्टरनेसनल इन्भेष्टमेन्ट (बीआईआई) र डोल्मा इम्प्याक्ट फण्ड (डीआईएफ आईआई) मार्फत एक अर्ब ९८ करोड रुपैयाँ बराबरकाे संयुक्त लगानीसमेत प्राप्त गरेको छ ।

फिक्स्ड ब्राेडब्यान्डमा ३३ प्रतिशत बढी हिस्सा रहेको वर्ल्डलिङ्कका हाल साढे सात लाख बढी ग्राहक छन् । साथै यो कम्पनी देशको सबैभन्दा ठूलो रोजगार प्रदायक पनि हो । हाल वर्ल्डलिङ्कमा साढे पाँच हजार कर्मचारी छन् । 

पछिल्लो अध्यावधिक: चैत १०, २०७९ १५:१३