close

अमेरिकी कम्पनीले किन्यो वर्ल्डलिङ्कको १३ हजार बढी कित्ता शेयर

टेकपाना टेकपाना

साउन ३२, २०८० १६:१०

अमेरिकी कम्पनीले किन्यो वर्ल्डलिङ्कको १३ हजार बढी कित्ता शेयर

काठमाडौं । अमेरिकी कम्पनी इन्टरकन्टिनेन्टल एलएलसीले नेपालको इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन लिमिटेडको शेयर खरिद गरेको छ । उक्त कम्पनीले वर्ल्डलिङ्कका संस्थापक एवं अध्यक्ष दिलीप अग्रवालसँग १३ हजार ३९२ कित्ता शेयर खरिद गरेको हो ।

यसअन्तर्गत एलएलसीले १२ करोड ५५ लाख ५० हजार रुपैयाँमा उक्त शेयर कित्ता खरिद गरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए । उनका अनुसार औपचारिक एक्सचेन्जमा सूचीकृत नभएका कम्पनीहरूको धितोपत्र व्यापार गर्ने प्रक्रिया ओटीसी (ओभर द काउन्टर) अन्तर्गत एलएलसीले प्रतिकित्ता मूल्य नाै हजार ३७५ रुपैयाँमा शेयर खरिद गरेकाे हाे । ​

​वर्ल्डलिङ्कका संस्थापक एवं अध्यक्ष अग्रवालले पनि एलएलसीलाई साउन ७ मा शेयर बिक्री गरेकाे पुष्टि गरे ।

​पब्लिक कम्पनी बन्ने प्रक्रियामा रहेको वर्ल्डलिङ्कले बुक बिल्डिङ विधिबाट चालू आर्थिक वर्षको पुससम्ममा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी पनि गरेको छ । 

नेपालकाे सबैभन्दा ठूलाे इन्टरनेट सेवाप्रदायक रहेकाे वर्ल्डलिङ्कले बेलायत सरकारको विकास वित्त संस्था एवं लगानीकर्ता ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्ट (बीआईआई) र डोल्मा इम्प्याक्ट फण्ड (डीआईएफ आईआई) मार्फत् तीन अर्ब ३३ करोड बराबरको लगानी समेत पाएकाे छ, जुन इन्टरनेट सेवा उद्योगमा अहिलेसम्मकै सबैभन्दा उच्च हो । 

नेपालको फिक्स्ड ब्रोडब्यान्डमा वर्ल्डलिङ्ककाे मात्रै करिब २९ प्रतिशत हिस्सा छ । यसका सात लाख ७१ हजार बढी ग्राहक छन् । साथै यो कम्पनी देशको सबैभन्दा ठूलो रोजगार प्रदायक पनि हो । हाल वर्ल्डलिङ्कमा साढे पाँच हजार कर्मचारी छन् ।

पछिल्लो अध्यावधिक: साउन ३२, २०८० १६:४९