close

भारत पुगेकी मन्त्री शर्माको आग्रहः नेपाल कल गर्दा लाग्ने शुल्क घटाउनु पर्‍यो

टेकपाना टेकपाना

चैत ८, २०७९ १८:१७

भारत पुगेकी मन्त्री शर्माको आग्रहः नेपाल कल गर्दा लाग्ने शुल्क घटाउनु पर्‍यो

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्दै आएको महसुल दर घटाउन भारत सरकारसँग आग्रह गरेकी छन् । नयाँ दिल्लीमा बुधबार भएको भारतीय समकक्षीसँगको द्विपक्षीय बैठकमा मन्त्री शर्माले साे आग्रह गरेको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

''नेपाल र भारतबीच टेलिफोन दरमा ठूलो असमानता छ । भारतमा बसोबास गर्ने नेपालीले नेपालमा टेलिफोन गर्दा अत्यधिक शुल्क लाग्ने गरेको गुनासो छ,'' मन्त्री शर्माले भनिन्, ‘दुवै देशबीच रहेको टर्मिनल चार्जमा पुनरावलोकन गरी सुलभ महसुल दरमा सेवा उपलब्ध गराउनुपर्छ ।''

नेपाल र भारत नजिकका छिमेकी राष्ट्र भएकाले दूरसञ्चार सेवामा बेलाबखत अन्तरदेशीय अवरोध हुने र कतिपय अवस्थामा नेपालको भित्री भागसम्म पनि भारतीय मोबाइल सेवा उपलब्ध हुने गरेकोप्रति ध्यानाकर्षण गराउँदै मन्त्री शर्माले भनिन्, ''यसमा दुवै देशका सेवाप्रदायक र नियामक निकाय सजग हुनुपर्ने देख्छु ।'' 

त्यस्तै मन्त्री शर्माले भारतीय टेलिभिजन च्यानलहरू नेपालमा सहजै प्रसारण हुने, तर नेपाली च्यानलहरू भारतमा प्रसारण हुन कठिन रहेकोतर्फ पनि भारतीय पदाधिकारीको ध्यानाकर्षण गराइन् । उनले भनिन्, ‘भारतमा नेपालीभाषीको ठूलो सङ्ख्या रहेकाले नेपाली च्यानलहरूको सहज प्रसारण हुने वातावरण मिलाइदिन म आग्रह गर्छु ।’

विशेषतः नेपाली च्यानल भारतमा डाउनलिङ्क गर्दा अत्यधिक शुल्क लाग्ने भएकाले यो सम्भव नभएको हुँदा यसमा भारतीय सरकारबाटै विशेष निर्देश हुनुपर्ने उनको भनाइ थियो । 

अन्तर्राष्ट्रिय दूरसञ्चार संघको क्षेत्रीय कार्यालय भारतमा उद्घाटन हुनुले यस क्षेत्रको दूरसञ्चारसम्बन्धी क्रियाकलापमा थप मद्दत पुग्ने अपेक्षा व्यक्त गर्दै उनले सूचना प्रविधिको तीव्र विकास भइरहेको यस युगमा यो कार्यालय नयाँदिल्लीमा स्थापना गर्न सफल भएकोमा भारत सरकारलाई बधाई दिइन् । 

‘नेपालले अन्तर्राष्ट्रिय ब्याण्डवीथ प्राप्त गर्न सक्षम हुनेगरी सबम्यारिन केवलसम्मको पहुँच सुनिश्चत गर्न पनि उनले भारतसँग सहयोगको अपेक्षा राखिन् । 

हाल नेपालले भारतका सेवा प्रदायकमार्फत् इन्टरनेट ब्याण्डविथ प्राप्त गर्नेगरेको स्मरण गराउँदै उनले नेपालले प्राप्त गर्ने ब्याण्डविथमध्ये ८० प्रतिशत एकै विन्दु (भैरहवा–सुनौली) बाट मात्र आइरहेकाले भारतीय सेवा प्रदायकलाई वैकल्पिक रुटबाट समेत ब्याण्डविथ उपलब्ध गराउन सहजीकरण गरिदिन आग्रह गरिन् । 

भारतले मोबाइल सेवामा फाइभजी प्रविधि भित्र्याएको हुँदा सोको कार्यान्वयनको अवस्था र उपयोगका सम्बन्धमा अनुभव नेपालका लागि पनि लाभदायी हुनसक्ने महसुस गरेको उल्लेख गर्दै मन्त्री शर्माले यस सम्बन्धमा प्राविधिक तहमा कुरा अगाडि बढाउन सकिने बताइन् । 

भारत सरकारले नेपाललाई स्याटलाइट उपयोग गर्न प्रस्ताव गरेकोमा धन्यवाद दिंदै उनले यसको प्राविधिक र सञ्चालन लागतका बारेमा थप अध्ययनगरी निष्कर्षमा पुग्ने जानकारी दिइन् ।

पछिल्लो अध्यावधिक: चैत ८, २०७९ १८:१७