काठमाडौँ । मोटोरोलाले आफ्नो नयाँ स्मार्टफोन एज ५० फ्युजन (Edge 50 Fusion) नेपाली बजारमा भित्र्याएको छ । १२ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध फोनको मूल्य ४६ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
यो फोन हट पिंक र मार्शमेलो ब्लू कलरमा किन सकिन्छ । फोनलाई प्रिमियम स्पर्श र लुक दिन हट पिंक कलरमा भेगन स्वेड फिनिश दिइएको छ भने मार्शमेलो ब्लूमा भेगन लेदर फिनिश प्रदान गरिएको छ ।
फोनको डिजाइनलाई विशेष बनाउने तत्वमा कर्भ्ड किनाराहरू, स्लिक क्यामेरा हाउजिङ र अल्ट्रा स्लिम प्रोफाइल समावेश छन् । यस्ता फिचरले प्रयोगकर्तालाई प्रिमियम र सहज अनुभव दिने कम्पनीको विश्वास छ । पानी र धुलोबाट सुरक्षित राख्न एज ५० फ्युजनमा आईपी६८ रेटिङ दिइएको छ । साथै, यसमा कोर्निङ गोरिल्ला ग्लास फाइभ प्रयोग गरिएको छ । जसले स्क्रिनलाई सामान्य झट्का र स्क्र्याचबाट बचाउने बताइएको छ ।
फोनमा रहेको ५० मेगापिक्सेलको मुख्य क्यामेरा ‘LYTIA’ सेन्सरसहित आएको छ । यसले अँध्यारोमा पनि प्रष्ट फोटो खिच्न सक्ने बनाउँछ । फराकिलो दृश्य समेट्न यसमा १२० डिग्री अल्ट्रा-वाइड एंगल लेन्स छ । म्याक्रो भिजन लेन्सको प्रयोगले नजिकका साना विवरण समेत स्पष्ट देखाउन मद्दत गर्छ । फ्रन्टतर्फ ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा क्वाड पिक्सेल टेक्नोलोजी सहित दिइएको छ ।
मोटोरोला एज ५० फ्युजनमा स्न्यापड्रागन सेभेन जेन टु प्रोसेसर राखिएको छ । यो चिपसेटले उच्च कार्यक्षमता र ब्याट्री दक्षता पनि दिने कम्पनीको दाबी छ । फोनमा पोलेड (pOLED) डिस्प्ले दिइएको छ । कम्पनीको अनुसार फोनको डिस्प्ले १००% DCI-P3 कलर गामट सपोर्ट गर्छ । यसले उज्यालो, जीवन्त र सिनेमाटिक गुणस्तरका रंगहरू देखाउने कम्पनीको भनाइ छ । साथै, सुरक्षाका लागि यसमा ‘Moto Secure’ फिचर दिइएको छ, जसमा फिंगरप्रिन्ट अनलक, एप पर्मिसनहरूको नियन्त्रण, नेटवर्क सेक्युरिटीको व्यवस्था र सेक्रेट फोल्डर बनाउने सुविधा समावेश गरिएको छ ।