close

अब भेरिफाइड अकाउन्टले मात्र ट्वीटरमा भोट गर्न पाउने

टेकपाना टेकपाना

चैत १४, २०७९ १३:१८

अब भेरिफाइड अकाउन्टले मात्र ट्वीटरमा भोट गर्न पाउने

काठमाडौं । अब ट्वीटरको भोटिङ पोलमा भेरिफाइड अकाउन्टले मात्र भोट गर्न सक्नेछन् । कम्पनीका मालिक एलन मस्कले मंगलबार एक ट्वीट गर्दै अप्रिल १५ देखि ट्वीटर पोलमा भेरिफाइड ब्याज भएका प्रयाेगकर्ताले मात्र भोट गर्नसक्ने जानकारी दिएका छन् ।

यसको अर्थ 'फर यु' पेजमा अहिले सबै किसिमका अकाउन्ट सुझावका रूपमा देखिन्छन् । तर, नयाँ फिचर सुरु भएपछि भेरिफाइड अकाउन्ट मात्र सुझावका रूपमा देखिनेछन् ।

प्लेटफर्ममा अत्यधिक एआई बट अकाउन्ट भएको भन्दै त्यसलाई नियन्त्रण गर्न यस्तो निर्णय गरेको मस्कको भनाइ छ ।

"अप्रिल १५ देखि भेरिफाइड अकाउन्ट मात्र 'फर यु' पेजमा सुझावका रूपमा देखिन योग्य हुनेछन्," उनले लेखेका छन्, "एड्भान्स्ड एआई बटलाई सम्बोधन गर्ने यो उत्तम तरिका हो । अन्यथा यो निराशाजनक हारको लडाइँ हो । पोलमा भोटिङ गर्दा पनि यही कारणले भेरिफिकेसन आवश्यक छ," उनले भनेका छन् ।

साथै ट्वीटरले अप्रिल १ बाट मासिक शुल्क नतिर्ने ग्राहकहरूको ब्लु टिक हटाउने बताएको छ । त्यसको अर्थ यसअघि निःशुल्क भेरिफिकेसन ब्याज पाउने प्रयोगकर्ताले पनि मासिक ७ डलर (करिब ९२४ रुपैयाँ) तिरेको खण्डमा उक्त टिक रहिरहनेछ ।

पछिल्लो अध्यावधिक: चैत १४, २०७९ १३:१८