close

गुगलको च्याटबटले के च्याटजीपीटीलाई पछि पार्ला ?

टेकपाना टेकपाना

चैत १४, २०७९ १२:१९

गुगलको च्याटबटले के च्याटजीपीटीलाई पछि पार्ला ?

काठमाडौं । पछिल्लो समय बजारमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रभुत्व बढ्दो छ । विशेषगरी एआईमा आधारित च्याटजीपीटीको उदयपछि थुप्रै प्रविधि कम्पनीले आफ्नो सिस्टममा एआई प्रयोग गर्न थालेका छन् । यसैबीच गुगलले पनि आफ्नै एआई च्याटबटमा काम गरिरहेको छ ।
'बार्ड' नाम दिइएको उक्त टुल सार्वजनिक भइसकेको भएपनि सुरुवाती चरणमा अमेरिका र बेलायतमा मात्र सेवा उपलब्ध छ । एआई टुल सार्वजनिक भएपछि त्यसको परीक्षण गर्दा गलत जवाफ दिएपछि गुगलको शेयरमा १०० अर्ब डलर गिरावट आएको थियो । यो घटनापछि कम्पनीले आफ्नो एआई च्याटबट परीक्षण भइरहेको भन्दै सीमित प्रयोगकर्तामाझ मात्र उपलब्ध गराएकाे छ ।

यसो त गुगलको 'बार्ड' एआईमा आधारित पहिलो टुल भने होइन । कम्पनीले गुगल लेन्स, गुगल असिस्टेन्टजस्ता टुलमा पनि एआई प्रयोग गरेको छ ।

के हो बार्ड ?

सामान्य अर्थमा भन्नुपर्दा 'बार्ड' एआईमा आधारित टुल हो । यसलाई ड्याल-ई र च्याटजीपीटी जस्तै नयाँ कन्टेन्ट बनाउन प्रयोग गर्न सकिन्छ । यसलाई 'जेनेरेटिभ एआई' पनि भन्ने गरिन्छ । जेनेरेटिभ एआईको अर्थ त्यस्तो एआई, जसले भिडिओ, अडियो, फोटो तथा शब्दमा कन्टेन्ट तयार पार्न सक्छ । तर बार्ड भने टेक्स्ट तयार पार्ने कुरामा केन्द्रित छ । यसले कुराकानीको शैलीमा प्रश्नका जवाफ दिने गर्छ ।

अर्को अर्थमा बार्ड 'लार्ज ल्याङ्ग्वेज मोडेल' (एलएलएम) हो । यो त्यस्तो किसिमको न्युरल नेटवर्क हो, जसलाई अर्बौं डेटाबाट तालिम लिइएको हुन्छ । यस्ता लार्ज ल्याङ्ग्वेज मोडेललाई तालिम दिँदा पनि केही सीमितता हुन्छन् । त्यसैले पनि च्याटजीपीटीले सन् २०२१ भन्दा पछिका सूचनाबारे कुनै जानकारी दिँदैन ।

बार्डले पनि समग्रमा यसरी नै काम गर्ने बताइएको छ । तर, कम्पनीले यो टुलका माध्यमबाट वास्तविक समयको सूचना तथा डेटा पाउन सकिने दाबी गरेको छ । 

ओपनएआईले जीपीटी फोर सार्वजनिक गरिसक्दा पनि गुगलले सम्पूर्ण प्रयोगकर्ताका लागि बार्ड उपलब्ध गराउन सकेको छैन । च्याटजीपीटीको उदयसँगै गुगलले एआईमा आधारित च्याटबट ल्याउन लागेको भनिएको छ ।

तर, गुगलले भने यस कुरालाई अस्वीकार गरेको छ । कम्पनीले सन् २०१७ नै लाम्दा (LaMDA) टुल सार्वजनिक गरेको थियो । अहिले नयाँ नाम दिइएको बार्ड पनि यही लाम्दाद्वारा सञ्चालित छ ।

त्यसैले गुगल आफूले यस अघि नै एआईमा आधारित च्याटबट ल्याइसकेको बताउँदै आएको छ । यद्यपि नयाँ च्याटबट हालसम्म सबै प्रयोगकर्ताका लागि उपलब्ध भइसकेको छैन ।

'बार्ड' अर्थ के हो ?

'बार्ड'को अर्थ 'कवि' भन्ने लाग्छ । भाषागत क्षमता हुने भएकाले साहित्यकार विलियम शेक्सपियरलाई दिएको 'बार्ड अफ एभालन' (Bard Of Avalon) उपनामबाट यो शब्द लिइएको हो । विलियम सेक्सपियरसँग मात्र सम्बन्धित नभई 'बार्ड' शब्द पौराणिक कथाहरूमा जोडिएको शब्द पनि हो ।

बार्डले कसरी काम गर्छ ?

प्रयोगकर्ताले खोजेकै शैलीका लिङ्क सुझाव दिने गुगलको सर्च इन्जिनलाई सघाउ पुर्‍याउने उद्देश्यले गुगलले यो टुल ल्याएको हो । गुगलको सर्चबारमा कुनै कुरा सर्च गरेपछि त्यहाँ च्याटको आइकन देखिने बताइएको छ । वा सोझै यस लिङ्कमा क्लिक गरेर पनि 'बार्ड' प्रयोग गर्न सकिनेछ ।

त्यसबाहेक पनि गुगलको सर्चबार तल रहेको 'आई एम फिलिङ लक्की' को बटन भएको ठाउँमा बार्डको आइकन देखिनेछ । त्यसबाट पनि सोझै बार्डसँग कुराकानी गर्न सकिन्छ ।

बार्ड, जीपीटी-फोर वा बिङजस्ता च्याटबटले छिट्टो उत्तर फर्काउन सक्छन् । तर, सबै अवस्थामा ती उत्तर सही हुँदैनन् । यी प्लेटफर्मलाई कस्ता डेटाबाट तालिम दिइएको छ भन्ने कुराले उत्तर कति भरपर्दो आउँछ भन्ने कुरा निर्धारण गरेको हुन्छ ।

भरपर्दो डेटाको सवालमा भने गुगललाई विश्वास गर्न सकिने सीनेटका एआई विश्लेषकले उल्लेख गरेका छन् ।

गुगलको यो फिचर कहिले प्रयोग गर्न सकिन्छ भन्ने कुरामा कम्पनीले खुलाएको छैन । यो फिचर परीक्षणकै चरणमा छ । सुरुवातमा अमेरिका र बेलायतका प्रयोगकर्तामाझ उपलब्ध याे टुल अन्य देशमा विस्तारै उपलब्ध हुने जनाइएकाे छ ।

पछिल्लो अध्यावधिक: चैत १४, २०७९ १२:४१