close

‘सामाजिक सञ्जालमा लाइक-कमेन्ट होइन, मानसिक शान्तिको खोजीमा छन् किशोरकिशोरी’

टेकपाना टेकपाना

बैशाख ११, २०८२ ८:२६

‘सामाजिक सञ्जालमा लाइक-कमेन्ट होइन, मानसिक शान्तिको खोजीमा छन् किशोरकिशोरी’

काठमाडौँ । सामाजिक सञ्जालको भर्चुअल संसारमा लाइक र कमेन्टको वर्षालाई धेरैले लोकप्रियताको मापदण्ड मान्छन् । तर, पछिल्लो समय किशोरकिशोरीहरू यो दौडबाट विस्तारै टाढा हुँदै गएको एक अध्ययनले देखाएको छ । सामाजिक सञ्जालले आफ्नो मानसिक स्वास्थ्यमा नकारात्मक असर गरिरहेको महसुस गर्दै उनीहरू अब यसको प्रयोग घटाउन र शान्त जीवनशैली अपनाउन थालेका छन् ।

हालै सार्वजनिक भएको प्यू रिसर्च सेन्टरको एक प्रतिवेदनले यो तथ्यलाई उजागर गरेको छ । प्रतिवेदन अनुसार झण्डै आधा अमेरिकी किशोरहरूले सामाजिक सञ्जाल आफ्ना उमेर समूहका लागि नकारात्मक भएको बताएका छन् । यसका साथै, ४४ प्रतिशत किशोरकिशोरीहरूले आफूले सामाजिक सञ्जालमा बिताउने समयलाई कटौती गरेको जानकारी दिएका छन् ।

अध्ययनमा सहभागी किशोरकिशोरीहरूले सामाजिक सञ्जालका कारण आफूहरूमा आत्मविश्वासको कमी, सुत्ने समयमा गडबडी र मानसिक तनाव जस्ता समस्याहरू बढेको महसुस गरेको बताएका छन् । विशेषगरी किशोरीहरूमा यसको नकारात्मक प्रभाव बढी देखिएको छ । उनीहरूले सामाजिक सञ्जालका कारण आफ्नो पढाइमा ध्यान केन्द्रित गर्न गाह्रो भएको र उत्पादनशीलतामा कमी आएको गुनासो गरेका छन् ।

यद्यपि, सामाजिक सञ्जालका केही सकारात्मक पक्षहरूलाई पनि किशोरकिशोरीहरूले स्वीकारेका छन् । लगभग ६० प्रतिशतले यसलाई आफ्नो सिर्जनात्मकता देखाउने माध्यम मानेका छन् भने धेरैले साथीभाइहरूसँग जोडिन र उनीहरूको जीवनका बारेमा अपडेट हुन मद्दत पुगेको बताएका छन् ।

तर, मानसिक स्वास्थ्यलाई प्राथमिकता दिँदै किशोर पुस्ताले सामाजिक सञ्जालको प्रयोगमा पुनर्विचार गर्न थालेको यो प्रवृत्तिले अभिभावक र शिक्षाविद्हरूलाई आशाको सञ्चार गराएको छ । ८९ प्रतिशत अभिभावक र ७७ प्रतिशत किशोरकिशोरीहरूले मानसिक स्वास्थ्यको विषयमा चिन्ता व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाललाई मानसिक स्वास्थ्यमा प्रतिकूल असर पार्ने मुख्य कारकको रूपमा ४४ प्रतिशत अभिभावकले चिन्हित गरेका छन्, जबकि त्यस्तो धारणा राख्ने किशोरकिशोरीको संख्या २२ प्रतिशत मात्र छ ।

पछिल्लो अध्यावधिक: बैशाख ११, २०८२ ८:२६