close

एप्पलको ‘बाई नाउ, पे लेटर’ सेवा सार्वजनिक, ग्राहकले १ हजार डलरसम्म ऋण पाउने

टेकपाना टेकपाना

चैत १५, २०७९ १७:३

एप्पलको ‘बाई नाउ, पे लेटर’ सेवा सार्वजनिक, ग्राहकले १ हजार डलरसम्म ऋण पाउने

काठमाडौं । एप्पलले अन्ततः ‘बाई नाउ, पे लेटर’ सेवा 'एप्पल पे लेटर' सार्वजनिक गरेको छ । यसअन्तर्गत एप्पल पे प्रयाेगकर्ताले ५० डलरदेखि एक हजार डलरसम्म रकम शून्य प्रतिशत ब्याजदरमा ऋण लिन सक्नेछन् ।

अहिले अमेरिकामा उपलब्ध यस सेवालाई अन्य देशमा पनि उपलब्ध गराउने कम्पनीकाे याेजना छ । यसअन्तर्गत आईओएस १६.४ र आईप्याड १६.४ अपडेट भएका एप्पल प्रयोगकर्ताले यो सेवा प्रयोग गर्न सक्छन् ।

यो सेवा लिन योग्य ग्राहकलाई कम्पनीले ईमेल पठाउन थालेको छ । एप्पल पे वालेटबाट सापटी लिन सकिने रकम ईन-एप पर्चेज गर्न र अनलाइन भुक्तानीका लागि प्रयोग गर्न सकिन्छ । साथै जुन ठाउँमा एप्पल पेबाट भुक्तानी लिइन्छ, त्यस्तो ठाउँमा पनि उक्त एपबाट भुक्तानी गर्न सकिनेछ ।

जुनसुकै ठाउँबाट प्रयोगकर्ताले आवश्यकता अनुसार ५० देखि एक हजार डलरसम्म ऋण लिन सक्नेछन् । प्रयोगकर्ताको एप्पल 'पे लेटर लोन' र भुक्तानीको हिस्ट्री क्रेडिट ब्यूरोमा पठाइन्छ, जसले प्रयोगकर्ताको क्रेडिटमा प्रभाव पार्छ । त्यसैले पनि ऋण लिएर नतिर्ने सम्भावना कम हुन्छ ।

यस्तो ऋणको स्वीकृति पाइसकेपछि प्रयोगकर्ताले 'एप्पल पे लेटर' प्रयोग गरी आईफोन वा आइप्याडबाट भुक्तानी गर्न सक्नेछन् । ऋणका लागि पनि सोझै एपबाट आह्वान गर्न सकिनेछ ।

एप्पलले प्रयोगकर्ताले गरेको कारोबार वालेट एपबाट ट्रयाक गर्छ । यसअन्तर्गत ऋण लिइसकेपछि तिर्ने समयमा प्रयोगकर्ताको ईमेलमा नोटिफिकेसन जान्छ ।

यो फिचर एप्पलको आईफोन वा आईप्याड प्रयोग गर्ने प्रयोगकर्ताले मात्र उपयोग गर्न सक्नेछन् । एन्ड्रोइड प्रयोगकर्तालाई भने कम्पनीले यो सेवा प्रयोग गर्न दिने छैन । जसले गर्दा आलोचकले एप्पलले एन्ड्रोइड प्रयोगकर्तालाई जिस्काइरहेको भन्दै आलोचना गरेका छन् ।

पछिल्लो अध्यावधिक: चैत १५, २०७९ १७:५३