close

बृहस्पति ग्रहको डिजाइनमा वनप्लसको नयाँ स्मार्टफोन सार्वजनिक

टेकपाना टेकपाना

चैत १६, २०७९ २१:३१

बृहस्पति ग्रहको डिजाइनमा वनप्लसको नयाँ स्मार्टफोन सार्वजनिक

काठमाडौं । वनप्लसले आफ्नो पछिल्लो फ्ल्यागशिप सिरिज ‘वनप्लस ११’ अन्तर्गत विशेष संस्करण सार्वजनिक गरेकाे छ । कम्पनीले बृहस्पति ग्रहसँग मिल्दोजुल्दो हुने गरी डिजाइन गरिएको स्मार्टफाेन ‘वनप्लस ११ जुपिटर रक लिमिटेड एडिसन’  सार्वजनिक गरेको हाे ।

कम्पनीले बुधबार चिनियाँ बजारमा उपलब्ध गराएको यस फोनको पछाडिको भाग (ब्याक प्यानल) ‘थ्रीडी माइक्रो क्रिस्टलाइन’ चट्टानबाट बनेको छ । चट्टानबाट बनाइए पनि छुँदा फाेनकाे भाग नरम, दाग नलाग्ने र जीवाणुरोधी रहेको बताइएको छ । त्यस्तै हरेक फोन एक-अर्कासँग फरक बनाउन ‘नेचुरल ग्रेनिङ’ प्रविधिबाट टेक्स्चर बनाइएको छ ।

कम्पनीले यस विशेष संस्करणको फोनमा सुनाैलाे रंगको मेटालिक फ्रेम प्रयोग गरेको छ । त्यस्तै फोनमा भएका धेरै स्पेसिफिकेसनहरू भेनिला वनप्लस ११ को जस्तै छन् । 

‘वनप्लस ११ जुपिटर रक’ फोनमा ६.७ इन्चको क्यूएचडी प्लससहित‍ १२० हर्ज रिफ्रेस रेट भएको ओलेड स्क्रिन, स्न्यापड्रागन ८ जेन २ प्रोसेसर र १०० वाटको फास्ट चार्जिङसहित ५,००० एमएएच ब्याट्री छ । 

त्यस्तै फोनको पछाडि मुख्य, अल्ट्रावाइड र टेलिफोटो सेन्सर क्रमश: ५०, ४८ र ३२ मेगापिक्सेलका छन् भने १६ मेगापिक्सेलको सेल्फी क्यामेरा छ । 

कम्पनीले १६ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज क्षमता भएको फोनको मूल्य चीनमा ४८९९ चिनियाँ यूआन (करिब साढे ९३ हजार रुपैयाँ) तोकेको छ । त्यस्तै यो विशेष संस्करणको फोन भारतमा पनि उपलब्ध हुने बताइएको छ ।

पछिल्लो अध्यावधिक: चैत १६, २०७९ २२:१९