close

प्रहरी देखिने गरी भिडिओ खिच्न पाइन्छ कि पाइँदैन ?

टेकपाना टेकपाना

चैत १७, २०७९ १९:२८

प्रहरी देखिने गरी भिडिओ खिच्न पाइन्छ कि पाइँदैन ?

काठमाडौं । अचेल क्यामेरा भएको फोन सबैजसोको हातहातमा हुने अवस्था छ । भ्लगिङ गरेर आम्दानी र चर्चा कमाउन सकिने भएपछि प्रोफेसनल क्यामेराको पहुँच पनि उस्तै छ ।

यस्तोमा तपाईं हामी आफ्नो ठाउँ वा सार्वजनिक स्थानको भिडिओ खिचेर टिकटक, फेसबुक, युट्युबजस्ता माध्यममा राखिरहेका हुन्छौं । तर, प्रहरीले भिडिओमा आफू देखिने अवस्थामा त्यस्ता भिडिओ नखिच्न भनिरहेको पनि हुन्छ । 

तर के प्रहरी देखिने गरी भिडिओ बनाउनै नपाइने हो ? ड्युटीमा खटिएका प्रहरीले आफू देखिएको भिडिओ रेकर्ड  गर्नबाट रोक्न वा हटाउन बाध्य पार्न सक्छन् ? अधिवक्ता प्रविन सुवेदी भने ड्युटीमा रहेका प्रहरीको भिडिओ बनाउनु गैरकानूनी नभएको बताउँछन् ।

"आर्मीले चाहिँ राष्ट्रिय सुरक्षा भन्छ, रेकर्ड गर्नै दिँदैनन्," एक पोडकास्टमा बोल्दै उनले भनेका छन्, "त्यो आर्मी शासनभित्र पर्छ । एयरपोर्ट अथवा सुरक्षाको दृष्टिले चुनौती भएका ठाउँ, सिंहदरबार जस्ता ठाउँमा यदि प्रहरी ड्युटीमा बसेको छ भने त्यस्ता ठाउँमा सुरक्षा थ्रेट हुने भएकाले भिडिओ रेकर्ड गर्नबाट रोक्न सक्छ । त्यस्तो ठाउँमा गरिने फिल्म वा भिडिओ रेकर्डले कुनै आपराधिक गतिविधिलाई बढवा दिन सक्छ वा कसको पोजिसन कहाँ छ भन्ने कुरा आपराधिक व्यक्तिले दुरुपयोग गर्न सक्छ । त्यसो हो भने रेकर्ड गर्नबाट रोक्नु पर्ने हुन्छ ।" 

तर, अरू कुनै ठाउँमा पुलिस छ भन्दैमा सार्वजनिक स्थानको भिडिओ रेकर्ड गर्नै पाइँदैन भन्ने कुरा हुन नसक्ने अधिवक्ता सुवेदी बताउँछन् । “कानूनले सार्वजनिक स्थानको भिडिओ रेकर्ड गर्न पाइन्छ भनेको छ,” उनी भन्छन्, “प्रहरी भइसकेपछि त्यो सार्वजनिक स्थान हुने भयो । पुलिस छ र त्यहाँ सुरक्षाको दृष्टिले त्यस्तो कुनै सम्वेदनशिल छैन भने भिडिओ रेकर्ड गर्न पाइन्छ ।" 

यसको अर्थ यदि तपाईँ कुनै सार्वजनिक स्थानको भिडिओ बनाउँदै हुनुहुन्छ र उक्त भिडिओले सुरक्षामा कुनै नकारात्मक असर गर्दैन भने त्यस्तो अवस्थामा निर्धक्कसँग भिडिओ बनाउन सकिन्छ ।

यस्तोमा सार्वजनिक स्थलमा आफू देखिने गरी भिडिओ खिचेकै आधारमा प्रहरीले डिलिट गर्न लगाएको खण्डमा त्यो गैर कानूनी हुने अधिवक्ता सुवेदीको तर्क छ ।

पछिल्लो अध्यावधिक: चैत १७, २०७९ २०:२