close

के तपाईँलाई थाहा छ सामसङले कहाँकहाँ उत्पादन गर्छ आफ्नो स्मार्टफोन ?

टेकपाना टेकपाना

चैत १९, २०७९ १६:३४

के तपाईँलाई थाहा छ सामसङले कहाँकहाँ उत्पादन गर्छ आफ्नो स्मार्टफोन ?

काठमाडौं । विश्वका ठूला फोन निर्माता कम्पनी मध्ये एक हो सामसङ । गत वर्ष मात्रै कम्पनीले ३० करोड थान फोन निर्यात गरेको थियो । दक्षिण एसियामा सबैभन्दा धेरै प्रयोग हुने स्मार्टफोनको सूचीमा शीर्ष स्थानमा सामसमङ छ । 

सबै बजेटमा उपलब्ध हुने कारणले गर्दा पनि फोन लोकप्रिय छ । तर के तपाईँलाई थाहा छ सामसङले कुन-कुन देशमा आफ्नो स्मार्टफोन उत्पादन गर्छ भनेर ? 

सामसङका स्मार्टफोन उत्पादन हुने देशहरू यस्ता छन्:    

भियतनाम

सामसङका धेरै फोनहरू भियतनाममा उत्पादन हुने गर्छन् । भियतनामको थाई गुयेन प्रान्तमा सामसङको दुई ओटा ठूला ‍कारखाना रहेका छन्, जहाँ स्मार्टफोन, ट्याब्लेट आदि उत्पादन हुने गर्छन् । 

कम्पनीले भियतनाममा अझै अर्को एउटा कारखाना स्थापना गर्ने तयारी गरिरहेको छ । 

हाल भइरहेका दुई कारखानाबाट कम्पनीले  वार्षिक १२ करोड फोन उत्पादन गरिरहेको छ । भियतनाममा उत्पादन हुने फोनहरू सामसङले प्राय: उत्तर अमेरिका, युरोपमा निर्यात गर्ने गरेको छ ।

भारत

सन् २०१७ मा सामसङले आफ्नो उत्पादन क्षमता बढाउन ६२ करोड डलर भारतमा लगानी गर्ने बताएको थियो । त्यसको एक वर्षपछि कम्पनीले उत्तर प्रदेशको नोएडामा कारखाना स्थापना गरेको हो । यो सामसङको दोस्रो ठूलो कारखाना रहेको बताइएको छ । यहाँ उत्पादन गरिने फोनहरू सामसङले युरोप, अफ्रिका र पश्चिम एशियामा निर्यात गर्ने गरेको छ ।

दक्षिण कोरिया

सामसङ कोरियाली कम्पनी हो । यसले आफ्नै देशमा रहेको कारखानाबाट उत्पादन गर्ने स्मार्टफोन विश्वव्यापी उत्पादनको १० प्रतिशतभन्दा कम रहेको बताइएको छ । यद्यपि यहाँ उत्पादन हुने फोनहरू स्थानिय बजारलाई केन्द्रित गरिएको हुन्छ । 

ब्राजिल

कम्पनीले ब्राजिलमा सन् १९९९ मा आफ्नो कारखाना स्थापना गरेको थियो ।  यहाँबाट उत्पादन हुने फोनहरू कम्पनीले ल्याटिन अमेरीकामा निर्यात गर्ने गरेको छ । ब्राजिलमा रहेको सामसङको कारखानामा छ हजार भन्दा बढी कर्मचारीले काम गरिरहेको बताइएको छ ।

इन्डोनेसिया

सन् २०१५ मा सामसङले इन्डोनेसियामा आफ्नो कारखाना स्थापना गरेको थियो । कम्पनीले यहाँबाट प्रत्येक वर्ष आठ लाख फोनहरू उत्पादन गर्ने गरेको छ । जुन स्थानिय बजारमा प्रतिस्पर्धा गर्न पर्याप्त हुने गरेको कम्पनीले जनाएको छ ।

सामसङको ‘ओरिजिनल’ स्मार्टफोन कहाँ बन्छन्?

धेरै मान्छेहरूले ‘ओरिजिनल’ शब्दावलीलाई गलत बुझ्ने गरेका छन् । विश्वभर विभिन्न ठाउँमा कारखाना भएकाले फोनमा फरक फरक देशको नाम आउँछ । यो कुराले पनि आम मान्छेहरूले कुनै एक ठाउँमा बनेको फोन ‘ओरिजिनल’ होला भन्ने अर्थ लगाउँछन् । 

तर सामसङले सबै कारखानामा एउटै गुणस्तरको फोन उत्पादन गर्ने गर्छ । कुनै निश्चित देशमा बनाइने फोन मात्र ‘ओरिजिनल’ भन्ने हुँदैन । दक्षिण कोरिया वा ब्राजिलमा बनाइएको फोन ओरिजिनल वा चीनमा बनाइएको ओरिजिनल भन्ने हुँदैन । ओडिएम मोडलबाट उत्पादन गरिएका फोनहरू समेत ‘ओरिजिनल’ हुन्छन् । विश्वभर रहेका सबै कारखानामा फोन उत्पादन गर्दा एउटै सामग्री र प्रक्रिया अपनाइन्छ । ‍यसकारण देशका आधारमा फोन ‘ओरिजिनल’ हो/होइन भन्ने हुँदैन । 

-एजेन्सी

पछिल्लो अध्यावधिक: चैत १९, २०७९ १६:३५