close

प्रोग्रामिङ ल्याङ्ग्वेज सिक्न मन छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

चैत २१, २०७९ १४:७

प्रोग्रामिङ ल्याङ्ग्वेज सिक्न मन छ ? यसो गर्नुहोस्

काठमाडौं । मानिसले गरेका महत्त्वपूर्ण आविष्कारमध्ये कम्प्युटर पनि एक हो । कम्प्युटरको आविष्कारपछि धेरैले यसमार्फत् आफ्नो सपना पूरा गरिरहेका छन् । अब त कम्प्युटर बिनाको मानव जीवन कल्पना नै गर्न सकिँदैन । अहिले हामी डिजिटल जीवनमा जे-जे गर्छौं, ती सबैमा कम्प्युटर प्रोग्रामको प्रयोग गरिएको छ ।

चाहे हाम्रो फोनमा भएका एपमार्फत नेभिगेट गर्न होस् वा मन पर्ने वेबसाइटहरू ब्राउजिङ गर्न अथवा आफ्नो डिभाइसबाट गेम खेल्न नै किन नहाेस् । हामी जति पनि मोबाइल एप, गेम वा वेबसाइट देख्छौं, तिनीहरू कुनै न कुनै प्रोग्रामिङ  ल्याङ्ग्वेज प्रयोग गरी तयार पारिएको हुन्छ । 

तपाँईलाई पनि कुनै गेम, मोबाइल एप, सफ्टवेयर वा वेबसाइट बनाउन मन छ ? यदि यस्तो हो भने कम्प्युटर प्रोग्राम कसरी बनाइन्छ भनेर सिक्नुपर्ने हुन्छ । त्यस्ता कम्प्युटर प्रोग्रामहरू प्रोग्रामिङ  ल्याङ्ग्वेज प्रयोग गरी बनाउने गरिन्छ । प्रोग्रामिङ ल्याङ्ग्वेजले प्रोग्रामलाई मसिनमा काम गर्ने बनाउँछ । चाहे त्यो मसिन कम्प्युटर होस् वा फोन या हार्डवेयरको अन्य भाग ।

जसरी मस्तिष्कले शरीरको हरेक अङ्गलाई सञ्चालन गरिरहेको हुन्छ त्यस्तै प्रोग्रामले पनि कुनै एप्लिकेसन वा सफ्टवेयरलाई मसिनमा काम गर्ने बनाउँछ । यसले गर्दा प्रोग्राम बनाउन प्रोग्रामिङ ल्याङ्ग्वेज सिक्नुपर्ने हुन्छ । प्रोग्रामिङ ल्याङ्वेज जानेकाहरूले प्रविधिका ठूला  कम्पनीमा काम गर्ने अवसर पाइरहेका हुन्छन् ।    

के हो प्रोग्रामिङ  ल्याङ्ग्वेज ?

कुनै कम्प्युटर वा मसिनले गर्ने काम नियन्त्रण गर्न प्रोग्रामिङ ल्याङ्ग्वेज प्रयोग गरिन्छ । प्रोग्राम भनेको कुनै एउटा विशेष काम गर्न कम्प्युटरलाई दिइएको निर्देशन हो । यस्ता प्रोग्राम कुनै पनि प्रोग्रामिङ ल्याङ्वेजमा लेख्ने गरिन्छ ।

प्रोग्रामिङ ल्याङ्वेज उच्च स्तरीय भाषाहरू हुन् । यिनीहरूलाई ‘हाई लेभल ल्याङ्वेज’ समेत भनिन्छ । तर यी भाषा मानिसले प्रयोग गर्ने जस्तै हुन्छन् । त्यस्तै कम्प्युटरले बुझ्ने भाषाको तुलनामा ‘हाई लेभल ल्याङ्वेज’ धेरै जटिल हुने गर्छ ।  

कम्प्युटरले ० र १ को भाषा मात्र बुझ्छ । कम्प्युटरले बुझ्ने भाषालाई ‘बाइनरी  ल्याङ्ग्वेज’ अर्थात् ‘लो लेभल’ वा ‘मसिन लेभल ल्याङ्ग्वेज’ भनेर पनि चिन्ने गरिन्छ । जति पनि ‘हाई लेभल ल्याङ्वेज’ हुन्छन्, ती सबैलाई बाइनरी  ल्याङ्ग्वेजमा अनुवाद गरिन्छ ।

त्यसपछि मात्र कम्प्युटरले बुझ्ने गर्दछ । कम्प्युटरसँग सञ्चार गर्न हामीसँग सी, सी++, जाभा, पाइथन, स्क्रिप्टिङ ल्याङ्वेज लगायत अन्य प्रोग्रामिङ  ल्याङ्ग्वेज रहेका छन् । 

प्रोग्रामिङ ल्याङ्वेज कसरी सिक्ने ?

अहिलेसम्म ५००० भन्दा धेरै प्रोग्रामिङ  ल्याङ्ग्वेज विकास गरिएको छ । तर तीमध्ये २५० जति प्रोग्रामिङ  ल्याङ्ग्वेज प्रचलनमा छन् । हरेक वर्ष धेरै प्रोग्रामिङ  ल्याङ्ग्वेज विकास गरिन्छ । तर केही मात्र चर्चित हुन्छन् । जसलाई पेशेवर प्रोग्रामरले आफ्नो भविष्य बनाउन प्रयोग गर्ने गर्छ । 

प्रोग्रामिङ गर्नु आफैंमा रमाइलो हुन्छ । सँगै धेरै उपयोगी पनि छ । तपाईँले यसलाई सिकेर आफ्नो भविष्य उज्जवल बनाउन सक्नुहुन्छ । प्रोग्राम बनाउन सिक्दा प्रोग्रामिङसँग जोडिएका सबै कुरा थाहा पाउनुपर्छ ।

जस्तो; अहिले कुनकुन प्रोग्रामिङ ल्याङ्ग्वेज प्रयोगमा छन् ? तिनीहरूमध्ये तपाईं कुन सिक्नुहुन्छ ? कुनमा दक्षता हासिल गर्नुहुन्छ ? त्यो प्रोग्रामिङ सिक्न कुन-कुन किताब पढ्नुपर्छ ? अनि त्यो सिक्नका लागि पढ्न कहाँ जानुहुन्छ ?

तर तुरुन्तै प्रोग्रामिङ ल्याङ्ग्वेज सिकिहाल्छु भनेर सोच्नु भने गलत हो । किनभने कोही पनि रातारात प्रोग्रामर बन्न सक्दैन । कुनै पनि प्रोग्रामिङ ल्याङ्ग्वेज सिक्न समय र समर्पण दुवै चाहिन्छ । यी कुराको लगानी बिना सफल प्रोग्रामर बन्न सकिन्न । 

प्रोग्राम सिक्न के गर्नुपर्छ ?

१. सिक्न चाहेको प्रोग्रामिङ ल्याङ्ग्वेजको चयन

प्रोग्राम सिक्न सबैभन्दा सुरुमा प्रोग्रामिङ ल्याङ्ग्वेजको चयन गर्नुपर्छ । तपाईं कस्तो प्रकारको प्रोग्राम बनाउन वा सिक्न चाहनुहुन्छ, यो पनि तपाईंले पहिल्याउनुपर्ने हुन्छ ।

किनकि हरेक प्रोग्रामिङ ल्याङ्ग्वेजबाट फरकफरक प्रोग्राम बनाइन्छ । त्यसैले के-कस्तो प्रोग्राम लेख्न चाहनुहुन्छ, त्यो अनुसार तपाईंले कुनै एक प्रोग्रामिङ ल्याङ्ग्वेज छान्नुपर्ने हुन्छ । 

जस्तो तपाईंले गेम बनाउन चाहनुहुन्छ भने सी, सी++ सिक्नुपर्छ । यी ल्याङ्ग्वेजहरू निकै पुराना भएपनि आधारभूत हुन् । यदि तपाईंले सी, सी++ राम्ररी सिक्नु भयो भने जाभा, जाभा स्क्रिप्ट, पाइथन जस्ता अरु ल्याङ्ग्वेजहरू सजिलैसँग सिक्न सक्नुहुन्छ । 

यदि वेब डिजाइन गर्न चाहनुहुन्छ भने एचटीएमएल, सीएसएस, पीएचपी, जाभास्क्रिप्ट जस्ता प्रोग्रामिङ ल्याङ्ग्वेज सिक्नुपर्ने हुन्छ । अथवा तपाईँ मोबाइल एपहरू बनाउन चाहनुहुन्छ भने पनि जाभा प्रोग्रामिङ ल्याङ्ग्वेज सिक्नुपर्ने हुन्छ । 

२. प्रोग्रामिङ  ल्याङ्ग्वेज सिक्नु

यो नयाँ सीप सिक्दा प्रोग्रामिङको आधारभूत कुरा सिक्न र बुझ्न आवश्यक छ । किनकि सबै प्रोग्रामिङ  ल्याङ्ग्वेजमा आधारभूत कुरा समान हुन्छन् । उनीहरूको कोर विषयवस्तु मात्र फरक हुने हो । 

सबै प्रोग्रामिङ ल्याङ्ग्वेजमा आधारभूत सिद्धान्त हुन्छ । किनकि सुरुमा सिक्ने भनेको नै आधारभूत कुराहरूबाट हो । यसकारण डेटा टाइप, इन्पुट आउट, बेसिक सिन्ट्याक्स (Syntax) जस्ता प्रोग्रामिङको आधारभूत सिद्धान्त सिक्नुपर्ने हुन्छ । त्यसपछि यी विषयका समस्याको हल गर्नुपर्ने हुन्छ । 

हरेक प्रोग्रामिङ ल्याङ्ग्वेजमा एक भिन्न सिन्ट्याक्सको प्रयोग गरिएको हुन्छ । प्रोग्रामिङ ल्याङ्ग्वेजको सिन्ट्याक्स भनेको कुनै पनि भाषाको व्याकरण हो । यसकारण प्रोग्रामिङ ल्याङ्ग्वेजमा दक्षता हासिल गर्न सिन्ट्याक्स राम्रोसँग सिक्नुपर्नेहुन्छ । 

तर तपाईं प्रोग्रामर नै बन्न चाहनुहुन्छ भने एकभन्दा बढी प्रोग्रामिङ ल्याङ्ग्वेज सिक्नुपर्ने हुन्छ । यसले तपाईँलाई राम्रो प्रोग्रामर बनाउन भूमिका खेल्छ । यसकारण जति सक्नुहुन्छ, उति धेरै प्रोग्रामिङ ल्याङ्ग्वेज सिक्न लाग्नुपर्छ ।

३. एउटामा मात्र जोड

प्रोग्रामिङमा नयाँ हुनुहुन्छ भने एकपटकमा एउटा प्रोग्रामिङ ल्याङ्ग्वेज राम्रोसँग सिक्न लाग्नुपर्छ । जब तपाईँ एउटा प्रोग्रामिङ ल्याङ्ग्वेज राम्ररी सिक्नुहुन्छ, तब मात्र अन्य प्रोग्रामिङ पनि सिक्न लाग्नुपर्छ । यसो गर्दा तपाईँको सिकाइ सहज र सजिलो हुन्छ । 

कहाँ सिक्ने ?

प्रोग्रामिङ ल्याङ्ग्वेज सिक्न कुनै कलेज वा इन्स्टिच्युटमा भर्ना हुन सक्नुहुन्छ । यसले स्वअध्ययन गर्ने तपाईँको बानीलाई थप मद्दत गर्छ । कलेज वा इन्स्टिच्युटमा तपाईँले शिक्षकबाट मद्दत प्राप्त गर्नुहुन्छ । यो कुराले तपाईँका गल्ती र कमजाेरी सुधार गर्न सहयोग पुग्छ ।  

शिक्षक/प्रशिक्षक एक साथीसरह हुन्छन् । उनीहरूले तपाईंलाई सिक्नका लागि पदप्रदर्शकको भूमिका निभाउँछन् । कोडको सिन्ट्याक्स सिकाउँछन् । शिक्षकले तपाईँको समस्या हल मात्र गर्दैनन्, तपाईँ अल्छी भएको बेला प्रेरणासमेत दिन्छन् ।  

प्रोग्रामिङ सिक्न तपाईंले अनलाइन ट्युटोरियल पनि हेर्न सक्नुहुन्छ । यसरी ट्युटोरियलबाट प्रोग्रामिङ सिकाउने थुप्रै प्रोग्रामर छन्, जहाँ उनीहरूले प्रोग्रामिङका आधारभूत कुरा सिकाउँछन् ।

यसका लागि तपाईँ कुन प्रोग्रामिङ  ल्याङ्ग्वेज सिक्न चाहनुहुन्छ त्यो अनलाइनमा सर्च गर्नुहोस् । युट्युबमा आउने भिडिओहरू हेरेर समेत तपाईंले प्रोग्रामिङ सिक्न सक्नुहुन्छ ।  

त्यसबाहेक तपाईँले प्रोग्रामिङ ल्याङ्ग्वेजको पुस्तक किन्न सक्नुहुन्छ । पुस्तकालय वा अनलाइनमा प्रोग्रामिङका धेरै पुस्तक पाइन्छन् । ती पुस्तकबाट प्रोग्रामिङका सिद्धान्त र सिन्ट्याक्स बुझ्न सक्नुहुन्छ । 

त्यस्तै अनलाइनमा प्रोग्रामरहरूको धेरै समूह हुन्छन् । त्यहाँ विभिन्न प्रोजेक्ट आइरहेका हुन्छन् । राम्रो प्रोग्रामर बन्न तपाईँ त्यस्ता समूहमा जोडिन सक्नुहुन्छ । तपाईँले त्यस्ता समूहमा आएका प्रश्नको ‍जवाफ दिँदा पनि सिकाइमा सहयोग पुग्छ । यसले तपाईँको सिक्ने बानी र समस्या समाधान गर्ने क्षमता बढाउन धेरै सहयोग पुर्‍याउँछ ।

तपाईंले प्रोग्रामिङ ल्याङ्ग्वेज सिकेपछि कुनै नमूना प्रोग्राम बनाएर प्रोग्रामिङ गर्न सक्नुहुन्छ । अब तपाईंले जतिसक्दो अभ्यास गर्नुपर्ने हुन्छ । प्रोग्रामिङमा कुनै पनि समस्याको समाधान गर्ने सयौं तरिका हुन्छन् । जब तपाईँ समस्या समाधानमा दक्ष हुनुहुन्छ, तब सो समस्या समाधानको उत्कृष्ट विकल्प खोज्नमा दक्ष हुन खोज्नुहुन्छ । 

यो त्यस्तो अवस्था हो, जहाँ तपाईंको महत्त्वपूर्ण सोच, क्षमता बाहिर आउँछ । तर लगातारको अभ्यासले मात्र त्यस्तो अवस्था सिर्जना हुन्छ । तपाईँ जति बुद्धिमता भएपनि अभ्यास बिना त्यो असम्भव छ ।

प्रोग्रामरको रूपमा आफ्नो क्षमता विकास गर्ने एक राम्रो तरिका भनेको आफ्नै कोड र लोजिक बनाउनु हो । र, तिनलाई आफ्नो प्रोग्राममा लागू गर्नु हो । यो तरिकाबाट तपाईँ एक राम्रो प्रोग्रामर बन्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: चैत २१, २०७९ १४:३०