close

तेस्रो पुस्ताले चलाइरहेको नेपालकै चर्चित साउण्ड सिस्टम ‘आईएसएस’

टेकपाना टेकपाना

चैत २२, २०७९ १९:३१

तेस्रो पुस्ताले चलाइरहेको नेपालकै चर्चित साउण्ड सिस्टम ‘आईएसएस’

काठमाडौं । कुनै व्यवसाय सुरु भएको केही समयमै बन्द हुन्छ । केही वर्षौं चल्छन् । तर केही भने पुस्तौंसम्म चलिरहन्छ । आईएसएस (ISS) अर्थात् इन्टरनेसनल साउण्ड सर्भिस त्यस्तै एक व्यवसाय हो, जुन तेस्रो पुस्ताले अगाडि बढाइरहेकाे छ ।

नेपालमा हुने ठूला कार्यक्रममा आईएसएस निर्विकल्प जस्तै बनेकाे छ । तपाईँले पनि विभिन्न कार्यक्रममा आईएसएसका साउण्ड सिस्टम प्रयाेग भइरहेकाे देख्नुभएकाे हाेला । राजनीतिक दलका आमसभादेखि ठूला-ठूला कन्सर्ट र रियालटी शाेसम्म आईएसएसकाे माग हुने गरेकाे छ ।

के हो त आईएसएस?

कार्यक्रम गर्दा साउण्ड, लाइट लगायतका थुप्रै सामान चाहिन्छ । यही काम तीन पुस्तादेखि गर्दै आएको छ, इन्टरनेसनल साउण्ड सर्भिस (आईएसएस) ले ।

आईएसएसको इतिहास सन् १९७० को दशकबाट सुरु हुन्छ । त्यसबेला अहिलेको आईएसएस ‘भोइस अफ रेडियो’ (भीओआर) को रुपमा थियो ।

भीओआरलाई आईएसएसका संस्थापक सुरेश शाक्यका बुबाले सुरु गरेका थिए । उनका बुवाले ‘भोइस अफ रेडियो’ नाम भएको कम्पनीबाट साउण्ड सिस्टमको सेवा अरूलाई दिने गर्थे । पछि नाम परिवर्तन गरेर 'इन्टरनेसनल रेडियो कन्सर्न' (आईआरसी) राखियाे ।

तर त्यो नाम आफूले दिइरहेको सेवासँग नमिलेपछि सन् १९९८ तिर 'इन्टरनेसनल साउण्ड सर्भिस' राखियो । त्यसलाई छोटोमा ‘आईएसएस’को नामले बोलाउँदा अहिले यो नै एउटा ब्राण्ड बन्न गएको छ ।

भीओआर सञ्चालन गर्दा हजुरबुबाले ‘हर्न’ बाट साउण्ड सिस्टमको सेवा दिन्थे । बुबाको व्यवसाय सुरेश शाक्यले थाम्न थालेपछि कम्पनीमा स्पिकर र मिक्सर ल्याए । उनले वि.सं. २०५० तिर ३५ वाटका दुई ओटा इभी ब्राण्डको स्पिकर छ लाख ४० हजार रुपैयाँमा किनेका थिए ।

त्यस बेला सो रकमले काठमाडौंमा धेरै जग्गा किन्न सकिन्थ्यो । तर शाक्यले आईएसएसबाट थप सेवा दिन जोखिम लिए । त्यसबेला आईएसएसको वार्षिक कारोबार चार लाख रुपैयाँसम्म हुन्थ्याे ।

तेस्रो पुस्ताले हाँकिरहेको आईएसएस

सुरेश शाक्यले जसोतसो आईएससलाई एक स्थानमा ल्याएका थिए । बजारमा आईएसएस अगाडि नै थियो । उनीपछि व्यवसायको अवस्था कस्तो हुन्छ अज्ञात थियो । उनी व्यवसायको भविष्यप्रति चिन्तित पनि थिए । तर उनका दुई छोरा शिविर शाक्य र समीर शाक्य आईएसएस सम्हाल्न आइपुगे ।

अहिले आईएसएस तेस्रो पुस्तामा आइपुगेको छ । संस्थापक शाक्यका छोरा शिविर र समीरले आईएसएसमा नेतृत्व गरिरहेका छन् । उनीहरूले कम्पनीको व्यवस्थापनमा हात हालेपछि करोडौं मूल्यका साउण्ड सिस्टमका सामान थपेका छन् ।

पहिले ग्राहकले कम्पनीबाट सीमित सेवा पाउँथे । तर अहिले आईएसएसले एउटा कार्यक्रमका लागि चाहिने सबै सेवा उपलब्ध गराउँछ । यसअन्तर्गत लाइट‍, साउण्ड, एलईडी, स्टेज आदि रहेका छन् । 

अहिले आईएसएसमा शिविरले प्राविधिक र समीरले व्यवस्थापन पक्ष सम्हालेका छन् । शिविर स्वयं आफैं अडियो इन्जिनियर हुन् । उनले अष्ट्रेलियाबाट आफ्नो पढाइ सकेका थिए । यसरी व्यवसायसँग सम्बन्धित विषयमा नै विज्ञता हासिल गरेकाले पनि उनी आईएसएसको प्राविधिक पक्ष हेरिरहेका छन् ।

आईएसएसको गोदाममा शिविर र समीरकाे टिमले स्पिकर समेत बनाउँछ । उनीहरूले बनाएका ती स्पिकर विदेशी साङ्गीतिक समूह लगायत अन्यले थुप्रै कार्यक्रममा प्रयोग गरिसकेका छन् । त्यस्तै ती सामानलाई सुरक्षा गर्न चाहिने ‘केश’, बिग्रेका सामानहरूको मर्मत सोही टिमले नै गर्ने गरेको छ ।

योसँगै साउण्ड सिस्टम सम्बन्धी केही सिक्न खोजिरहेकालाई समीरले आईएसएसमा तालिम दिने गर्ने गरेका छन् । 

कम्पनीले आफ्नो सेवाको दायरासमेत विस्तार गरेको छ । अहिले आईएसएसले कन्सर्ट, कन्फ्रेन्स, कर्पोरेट इभेन्ट आदि कार्यक्रममा आफ्नो सेवा दिइरहेको छ । त्यस्तोमा कहिलेकाहीँ कार्यक्रममा झगडा हुँदा वा व्यवस्थापन फितलाे हुँदा कम्पनीको सामानमा क्षति पुग्छ ।

शिविर र समीरले आईएससएस सञ्चालन गर्न थालेपछि कार्यक्रममा भएका त्यस्ता दुर्घटनाबाट कम्पनीले लाखौं क्षति भोग्नु समेत परेको छ । यद्यपि कामका सन्दर्भमा कहिले मानवीय, कहिले प्राविधिक त कहिले माैसम प्रतिकूल हुँदा समस्या आएपनि उनीहरूले व्यवसायलाई निरन्तर अघि बढाएका छन् ।  

संस्थापक शाक्यलाई आईएसएस यो अवस्थामा आइपुग्छ भनेर कुन‍ै आशा थिएन । उनले यसको अपेक्षा समेत गरेका थिएनन् । तर छोराहरू अन्य व्यवसायमा नलागी आफ्नो बुबा/हजुरबुबाले गरिआएको कामलाई नै जारी राखे । र आईएसएस साउण्ड सिस्टमको सेवामा एउटा ब्रान्ड बनेको छ ।

आफ्ना दुई ‘आँखा’ले आईएसएसलाई यो उचाईंमा पुर्‍याएकाेमा उनी गर्विलो महसुस गर्छन् । आफ्ना दुई छोरालाई उनले ‘आँखा’ले सम्बोधन गरेका हुन् । अब उनलाई यी दुई ‘आँखा’ले आईएससएसलाई थप दौडाएको मात्र हेर्नु छ । 

पछिल्लो अध्यावधिक: चैत २२, २०७९ १९:४४