close

भ्लगरबाट पोडकास्टर बनेका सुशान्त प्रधान

टेकपाना टेकपाना

चैत २५, २०७९ १४:३७

काठमाडौं । सुशान्त प्रधानलाई धेरैले एक भ्लगरका रुपमा चिन्छन् । कतिले जिम ट्रेनरले पनि चिन्छन् । तर अहिले उनले अर्काे परिचय पनि बनाएका छन्, पाेडकास्टर ​।

एक लाख १७ हजार बढी सब्स्क्राइबर भएको ‘Sushant Pradhan’ नामक युट्युब च्यानलमार्फत उनी ‘सुशान्त प्रधान पोडकास्ट’ सञ्चालन गरिरहेका छन् ।

विभिन्न पेशामा संलग्न व्यक्तिलाई उनी आफ्नो कार्यक्रममा बाेलाउँछन् र खुलेर कुरा गर्छन् । यद्यपि पोडकास्ट गर्नु उनको रोजीरोटी भने होइन । त्यसका लागि त उनले अरु केही गरिरहेका छन् । पोडकास्ट त उनको रहरको काम हो । मनको काम हो ।  

“पहिलेदेखि नै म खाली भएको समयमा कुनै विषयबारे अध्ययन/अनुसन्धान गरेर बस्थेँ । स्वतन्त्र रूपमा बग्ने कन्टेन्ट मलाई निकै मन पर्छ । यसैले पनि पोडकास्ट सुरु गरेको हुँ,” उनी भन्छन् । 

पोडकास्ट सुरुवात

उनी पहिले रहरले भ्लगिङ गर्थे । कोभिड महामारी फैलिएको बेला उनलाई पोडकास्ट सुरु गर्न मन लाग्यो । आफू ‘फिटनेस’ क्षेत्रमा भएकाले त्यस सम्बन्धी नै पोडकास्ट गर्ने उनले योजना बुने । उनलाई भ्लगिङ गर्न पुगिसकेको थियो ।

उनले फिटनेस सम्बन्धीका व्यक्तिहरूलाई स्टुडियोमा बोलाएर पोडकास्ट सुरु गरे । तर लकडाउनले उनको पोडकास्ट-यात्रालाई प्रभावित पार्‍याे । सुरु गरिसकेको पोडकास्ट उनले बाध्यताले बन्द गरे । तर रहर मारेनन् । अन्तत:  उनी फेरि पोडकास्ट लिएर फर्किए ।

यो आलेख तयार पार्दासम्म उनले ‘सुशान्त प्रधान पोडकास्ट’को १३९ भाग सकिसकेका छन् । यद्यपि आफूले पोडकास्टको यात्रा चाल्नुमा ‘द डुअर’ पोडकास्टका सञ्चालक अनुप घिमिरे र भ्लगर/पोडकास्टर शिशन बानियाँलाई उनी कारक मान्ने गरेका छन् ।

स्टुडियो सेटअप

आजभोलि जुन स्टुडियोमा उनले पोडकास्ट छायाङ्कन गर्छन्, त्यहाँ पहिल्यै उनी श्रव्यदृश्यका काम गर्थे । तर त्यो स्टुडियो त्यति धेरै प्रयोगमा भने आउने गरेको थिएन । पोडकास्ट सुरु गर्ने भएपछि उनले त्यो कोठाको भित्तामा पुन: रङ्ग लगाए । नयाँ सामानहरू थपे । 

उनका सहयोगीहरू आशुतोष र सजकले स्टुडियो तयार पार्न सहयोग गरे । पहिल्यै पनि प्रयोग गरिरहेको भएकाले उनलाई स्टुडियो तयार पार्न दुई/तीन दिनमात्र लाग्यो । 

पोडकास्टका सामग्री

अडियो

रेडियोमा आवाजको भूमिका जति हुन्छ, पोडकास्टमा पनि उति नै  हुन्छ । सामान्य अन्तर्वार्ताहरूको तुलनामा पोडकास्टको आवाज स्तरीय हुने भएकाले दुई/तीन घण्टा लामो कुराकानी पनि मानिसहरूले हेर्ने/सुन्ने गरेका छन् ।

तर प्रधानले पोडकास्टमा आवाज राम्रो हुनुपर्छ भनेर भन्दा पनि माइकको डिजाइन मन परेकाले 'अडियोटेक्निका' कम्पनीको 'एटी२०२०' (AT2020) माइक खरिद गरे ।

अहिले पोडकास्टमा उनले त्यही माइक प्रयोग गरिरहेका छन् । त्यस माइकबाट उनले पोडकास्टको करिब १३९ भाग रेकर्ड गरिसकेका छन् । तर पनि माइकमा कुनै समस्या नआएको र अर्को फेरौं नलागेको उनी सुनाउँछन् । 

उनले आफ्नो स्टुडियोलाई साउन्ड प्रुफिङ बनाएका छैनन् । आफूले प्रयोग गर्ने माइकमा गेन (gain) कम हुने भएकाले टाढाको आवाज रेकर्ड नगर्ने र स्टुडियो पनि शान्त ठाउँमा नै भएकाले साउन्ड प्रुफिङ आवश्यक नभएको उनी बताउँछन् । हल्ला भइरहने ठाउँमा भने यसको आवश्यकता पर्ने उनी धारणा राख्छन् ।  

टेबल

उनले योजना बनाएर भन्दा पनि चाहिएको सामानहरू स्टुडियोमा थप्दै गएका हुन् । पोडकास्ट स्टुडियोमा टेबल र कुर्सी पनि आवश्यक हुन्छन् ।

उनले कार्पेन्टरलाई स्टुडियोमा नै ल्याएर करिब ३ फिट‍ चौडाइ भएको टेबल बनाएका छन् । धेरै नजिक वा टाढा हुँदा कुराकानीमा असहज हुने भएकाले दुरी नापेर नै टेबल तयार पारेको उनी सम्झन्छन् ।

लाइट

पोडकास्ट सुरु गर्दैगर्दा उनले ‘भिडिओ लाइट’ प्रयोग गर्ने गरेका थिए । तर त्यसले स्टुडियोमा अभ्यस्त नभएका व्यक्तिसँग पोडकास्ट गर्दा कुराकानीमा असर पार्ने र भनेजस्तो कुरा ननिस्कने भएपछि उनले ‘भिडिओ लाइट’ बन्द गरे ।

त्यसको साटो डीआईवाई (DIY- आफैंले तयार पार्ने) गरेर ‘ओभरहेड लाइट’ तयार पारे । उनी अहिले त्यही डीआईवाई गरी तयार पारेको लाइट प्रयोग गर्छन् ।  

त्यसबाहेक कोठामा नै बालिने साधारण बत्तिहरूलाई उनले प्रयोगमा ल्याएका छन् । क्यामेरामा कस्तो देखिन्छ भनेर परीक्षण गर्दै जाँदा आफूले लाइटको यस्तो सेटअप तयार पारेको उनी सुनाउँछन् । 

हेडफोन

पोडकास्ट र सामान्य अन्तर्वातामा हुने फरक मध्ये ‘हेडफोन’को प्रयोग पनि एक हो । हरेकजसो पोडकास्टमा हेडफोनको प्रयोग गरिएको हुन्छ । यसको कारण ‘होस्ट’ र ‘गेस्ट’ले आफ्नो आवाजको मोनिटर गर्न सकुन् भनेर भएको उनी बताउँछन् । 

“हेडफोन नलगाई बोल्दा माइकबाट कति टाढा छु, कति नजिक छु भन्ने कुरा थाहा हुन्न,” उनी भन्छन्, “तर हेडफोन लगाउँदा ती सबै थाहा हुन्छ । यदि माइकबाट टाढा भए माइक नजिक जाने वा माइकलाई आफ्नो नजिकै तान्न सकिन्छ ।” 

उनले अहिले प्रयोगमा गरिरहेको हेडफोनको डिजाइन मन परेर ‍खरिद गरेका थिए । खासमा हेडफोनलाई आवाजको मोनिटर गर्न पोडकास्टमा प्रयोग गर्ने गरिन्छ ।

क्यामेरा 

उनले आफ्नो पोडकास्ट रेकर्डिङका लागि तीन ओटा क्यामेरा प्रयोग गर्ने गर्छन् । एउटा, आफुलाई देखाउन । अर्को, ‘गेस्ट’लाई देखाउन । र अर्को, दुवै जनालाई देखाउन ।

उनले प्रयोग गर्ने क्यामेराहरू क्यानन ८० डी, सोनी ए सेभेन थ्री, सोनी ए ६३०० हुन् । औसतमा उनले क्यामेरामा चार लाख रूपैयाँ भन्दा धेरै खर्च गरेका छन् । 

कन्सोल र जुम रेकर्डर

काममा सजिलो होस् भनेर उनले भिडिओ स्विचर/मिक्सर अर्थात कन्सोल प्रयोग गरिरहेका छन् । यसको प्रयोगले भिडिओ सम्पादनमा धेरै मद्दत पुगेको उनको अनुभव छ ।

“कन्सोल प्रयोग गर्न अघिको समयमा भिडिओ सम्पादन गर्ने सफ्टवेयरबाट नै सबै क्यामेराका फुटेज छान्नुपर्ने हुन्थ्यो,” उनी भन्छन्, “तर कन्सोल प्रयोग गरेर पोडकास्ट रेकर्ड हुँदैगर्दा नै कुन फुटेज राख्ने/कुन नराख्ने छान्न सकिन्छ।” त्यस्तै उनले पोडकास्टको अडियो रेकर्डिङका लागि जुम रेकर्डर प्रयोग गरिरहेका छन् । 

उनको समूहमा को-को छन् ?

सुरुमा उनले फिटनेसको पोडकास्ट सुरु गर्दा ‍नै समूहमा काम गर्थे । तर त्यही बेलाको उनको समूह विभिन्न कारणले छुटे । हाल उनी सहित तीन जना जनाको समूह छ । 

अहिले उनको समूहमा भएका विराज न्यौपाने प्रोडक्सन, छायाङ्कन, अतिथि व्यवस्थापन लगायतका काम गर्छन् । त्यस्तै पोडकास्टको भिडिओ‌ सम्पादनको काम प्रतिक थापाले गर्ने गरेका छन् । उनी सुशान्तको समूहमा हालै मात्र जोडिएका हुन् ।

कति छ उनको युट्युबमा वाचटाइम ?

सुशान्त आफू स्वयंले युट्युबमा पोडकास्टको वाचटाइम नहेर्ने बताउँछन्। तर समूहका अन्यले हेर्ने गरेका छन् । उनीहरू वाचटाइम केही मिनेट मात्र भएको बताउँछन् । तर वाचटाइमको कुराले आफूलाई केही फरक नपार्ने सुशान्त दाबी गर्छन् । 

“नेपालका लागि शैक्षिक सामग्री नयाँ छ । दर्शकश्रोताले के रुचाउँछन् भन्दा पनि म मेरो रूचिको विषयमा काम गर्छु । तर भ्युज/वाचटाइम अहिले नबढे पनि भविष्यमा अवश्य बढ्ने कुरा हुन्,” उनी भन्छन् ।

कमाइ कति हुन्छ ?

कसैले कुनै कुरामा लगानी गरेपछि कमाइको पनि अपेक्षा गर्छ । यो मानव प्रकृति हो । तर युट्युबले कन्टेन्ट बनाउन कति खर्च गरियो भन्दा पनि भ्युज् र वाचटाइम कति भयो भन्ने आधारमा क्रियटरहरूलाई पैसा दिने गर्छ ।

तर सुशान्तको च्यानलमा यी दुवै कम छन् । यसले गर्दा पोडकास्ट सञ्चालन गर्न युट्युबमा निर्भर हुनु उनका लागि अहिले असम्भव जस्तै छ ।

तर उनको मुख्य व्यवसाय अरू केही नै छ । पोडकास्ट (युट्युब)लाई उनले आफ्नो पहिलो आर्थिक स्रोत बनाएका छैनन् । रुचिले सुरु गरेको एउटा व्यवसायका रूपमा पोडकास्टलाई लिएका छन् । त्यस्तै भ्युज तान्र भन्दा पनि सन्तुष्ट हुने खालका सामग्री बनाउन उनी आफू लागिरहेको बताउँछन् ।

“कसरी भ्युज राम्रो आउँछ भन्ने कुरा हामीलाई थाहा छ । तर त्यो कुरामा भन्दा पनि यो कार्यक्रमलाई सञ्चालन गरिरहन सुरुमा रमाउनु पर्छ । मैले राम्रो कुराकानी निकाल्न सक्नुपर्छ । यी कुराको अगाडि भ्युज/वाचटाइम प्राथमिकतामा पर्दैनन् ।” 

प्रायोजक

सामाजिक सञ्जालबाट कमाइ गर्न सकिने अर्को स्रोत प्रायोजित सामग्री निर्माण गर्नु हो । धेरैले यसरी पनि कमाइ गरिरहेका छन् । तर प्रायोजक पाउनु व्यवसायिक हिसाबले राम्रो भएपनि आफूलाई पोडकास्ट सञ्चालन गर्न त्यसको ‍आवश्यकता नभएको प्रधान बताउँछन् । 

“मेरो कमाइको स्रोत पोडकास्ट मात्र भएको भए जसरी पनि प्रायोजकसँग जोडिन्थेँ होला, ” उनी भन्छन्, “तर प्रायोजन गरिएका कार्यक्रममा कतै न कतै सम्झौता गरिन्छ । यो कुराले गर्दा पनि म स्वतन्त्र रहन खोजेको छु ।”

कम बजेटमा पोडकास्ट गर्न सकिएला ?

प्रयोग भएका प्रविधि, जनशक्ति हेर्ने हो भने नेपालको अवस्थामा सुशान्तको पोडकास्ट निकै महँगो हो । पोडकास्ट सुरु गर्न खोज्ने धेरैसँग उनले जति लगानी गरे, त्यति नै मात्राको सामर्थ्य नहुन सक्छ । यद्यपि कम बजेटमा समेत पोडकास्ट गर्न सकिने उनको भनाइ छ ।

तर यसरी पोडकास्ट गर्दा  गुणस्तरमा धेरै नै सम्झौता गर्नुपर्ने उनी विचार व्यक्त गर्छन् । 

उनी आफूले कम बजेटमा पोडकास्ट गर्नु परे क्यामेराका लागि मोबाइल फोन र अडियोका लागि ल्यापेल माइक प्रयोग गर्ने बताउँछन् । तर कस्तो प्रकाश हुँदा खिच्ने, पोस्ट प्रोसेसिङमा कति ध्यान दिने जस्ता कुराले पनि गुणस्तरमा फरक पार्ने उनी धारणा व्यक्त गर्छन् । 

पोडकास्ट किन सुन्ने ?

पोडकास्ट प्राय: लामो नै हुने गर्छ । यसको फाइदा भनेको यसलाई सुन्न कुनै खास समय छुट्याउनु पर्दैन । यसलै दिनको तीन/चारघण्टा दैनिक रूपमा विभिन्न पोडकास्ट आफूले सुन्ने गरेको उनी सुनाउँछन् ।

उनी खाली भएको बेला, जिम गरिरहेको बेला, ड्राइभ गरिरहेको बेला पोडकास्टको अडियोलाई केही छिटो बनाएर सुन्ने गरेका छन् । त्यसो गर्दा लामा पोडकास्ट कम समयमा सुन्न सकिने उनको अनुभव छ । 

पोडकास्ट सुन्नु कुनै सूचना ग्रहण गर्नु र त्यसो गर्नु आफूमा लगानी गर्नु भएको उनको बुझाइ छ । यद्यपि सबै पोडकास्ट सूचनाले भरिएको हुनुपर्छ भन्ने उनी सोच्दैनन् ।

“पोडकास्ट मनोरञ्जनात्मक पनि हुनुपर्छ । तर काम नै छाडेर पोडकास्ट सुन्नु भने हुँदैन,” उनी भन्छन्, “काम गर्दै पोडकास्ट सुनेर ‘मल्टिटास्कर’ भइन्छ भने किन नसुन्ने ?”

पछिल्लो अध्यावधिक: चैत २५, २०७९ १४:३८