close

एक महिनामै क्यूआर मार्फत पौने २१ अर्बको भुक्तानी

टेकपाना टेकपाना

बैशाख १, २०८० ८:७

एक महिनामै क्यूआर मार्फत पौने २१ अर्बको भुक्तानी

काठमाडौं । क्यूआर (क्विक रेस्पोन्स) मा आधारित भुक्तानी प्रणालीमार्फत एक महिनामै पाैने २१ अर्ब रुपैयाँको कारोबार भएको पाइएकाे छ ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको 'मासिक भुक्तानी प्रणाली सूचक' अनुसार गत फागुन महिनामा २० अर्ब ७७ करोड ६० लाख रुपैयाँको कारोबार क्यूआरमार्फत भएको छ ।

माघ महिनामा क्यूआरमा आधारित भुक्तानी प्रणालीमार्फत १७ अर्ब ७६ करोड ५० लाख रुपैयाँको कारोबार भएको थियो ।

यसैगरी मोबाइल बैंकिङतर्फ गत फागुनमा एक खर्ब ९१ अर्ब ८२ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ, जुन अघिल्लाे महिनाभन्दा करिब २० अर्ब बढी हाे । गत माघमा माेबाइल बैंकिङमार्फत  एक खर्ब ७२ अर्ब ११ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

केही महिनादेखि ओरालो लागिरहेको इन्टरनेट बैंकिङको कारोबार पनि फागुनमा बढेको छ । माघमा इन्टरनेट बैंकिङमार्फत १२ अर्ब ४१ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएकोमा फागुनमा १३ अर्ब ८६ करोड १० लाख रुपैयाँ बराबरकाे काराेबार इन्टरनेट बैंकिङमार्फत भएकाे छ ।

यसैगरी ई-कमर्शबाट हुने कारोबार समेत बढेको छ । २०७८ फागुन महिनामा ई-कमर्शमार्फत ३३ करोड ८० लाख रुपैयाँको कारोबार भएको थियो । २०७९ फागुनमा ई-कमर्शमार्फत ४७ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ ।

कनेक्ट आईपीएसमार्फत हुने भुक्तानी पनि आकर्षक रूपले बढेको देखिन्छ । गत फागुनमा कनेक्ट आईपीएसमार्फत तीन खर्ब ४० अर्ब एक करोड ७० लाख रुपैयाँको कारोबार भएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: बैशाख १, २०८० ८:७