close

कुन बिजुली स्कुटर राम्रो ?

टेकपाना टेकपाना

बैशाख २, २०८० १९:५१

काठमाडौं । किष्टी डेकोरका सञ्चालक उदितलाल प्रधान पहिले मोटरसाइकलबाट यात्रा गर्थे । तर सामान ओसारपसार गरिरहनुपर्ने भएकाले स्कुटर खरिद गर्ने योजनामा उनी पुगे । विभिन्न ब्राण्डका स्कुटर हेरे । त्यहीमाथि उनलाई ‘रनिङ कस्ट’ अर्थात् यात्रा खर्च कम गर्नु थियो ।

थुप्रै स्कुटर हेरेपछि अन्तत: उनलाई 'याडिया सी वन एस' (Yadea C1S) मन पर्‍याे  । उनले त्यो खरिद गरे । त्यस्तै उनले अर्को 'न्यू एनक्यूआई स्पोर्ट' (NIU Nqi sport) विद्युतीय स्कुटर पनि खरिद गरे । यसरी एउटै घरमा दुई फरक ब्राण्डका विद्युतीय स्कुटर भित्रियो ।

हालसम्म ती दुवै स्कुटरले ४५०० किलोमिटर दूरी पार गरिसकेका छन् । यसपछि उनले यी दुई विद्युतीय स्कुटरलाई स्कुटर लिएर आफ्नो अनुभव हामीसँग सुनाएका छन् ।

उनले दुई लाख ५० हजार रुपैयाँमा 'NIU Nqi sport' स्पोर्ट खरिद गरेका थिए । त्यस्तै एक लाख बढी अर्थात् तीन लाख ५० हजार रुपैयाँमा 'Yadea C1S' किनेका थिए ।

गति

स्कुटर कुदाउन याडियामा दुई ओटा मोड छन्; 'इको' र 'स्पोर्टस्' । यसमा दुईजना बस्दा पनि इको मोडमा ४० प्रतिघण्टा र स्पोर्ट्स मोडमा ६० प्रतिघण्टाको गतिमा आरामले कुदाउने गरेको अनुभव उनीसँग छ ।

त्यस्तै स्कुटर कुदाउन 'NIU Nqi sport'​ मा तीन ओटा मोड छन् । यसमा भएकाे मोड १ (mode 1) मा १५ प्रतिघण्टा, मोड २ (mode 2) मा २५ प्रतिघण्टा र मोड ३ (mode 3) मा ४०-४५ प्रतिघण्टाको गतिमा कुदाइरहेको उनी सुनाउँछन् । 

त्यस्तै सुरुमा 'NIU Nqi sport' चलाउँदा गति ढिलो हुने उनी सुनाउँछन् । “स्कुटर स्टार्ट गर्न साथै अलि छिटो कुदाऔँ लाग्दछ । तर त्यसका लागि मोड ३ मा चलाउनुपर्छ । त्यसो गर्दा झट्का आउने गर्छ । तर याडियामा त्यस्तो हुँदैन,” उनी भन्छन् ।

खर्च बचत

उनले विद्युतीय स्कुटर किन्नुको कारण नै केही भएपनि पैसा बचत गर्नु थियो । एकपटक कति बचत भएछ भनेर उनले हिसाब गरे ।

त्यसबेला वार्षिक रुपमा पेट्रोलियम बाइकको तुलनामा १५ हजार आफ्नो खर्च जोगिएको निष्कर्ष उनले निकालेका थिए । त्यस्तै ग्राउन्ड क्लियरिङ्स, रेन्ज, स्पेस आदि कारणले न्यूको तुलनामा याडियालाई एक लाख बढी तिर्न ठीकै भएको उनकाे  बताउँछन् ।

ब्याट्री चार्ज

यी दुवै विद्युतीय स्कुटरका ब्याट्री छ देखि सात घण्टामा फूल चार्ज हुने गर्छन् । उनी हप्तामा प्रायः दुई पटक मात्र चार्ज गर्छन् । 

याडियामा पछाडि ब्याग राख्ने ठाउँ नभएकाले उनले अगाडि राख्छन् । एक्लै चलाउँदा पनि उनले सामान अगाडि नै राख्छन् । 

'NIU Nqi sport'​ मा दुई जना बस्दा अलि सहज नहुने उनकाे अनुभव छ । यसमा उकालो चढ्दा मोड थ्री प्रयोग गर्छन् उनी ।

अफरोड राइड

हुन त प्राय: विद्युतीय स्कुटर पक्की सडकका लागि बनाउने गरिन्छ । तर सबै ठाउँमा पक्की सडक छैनन् । यसैले अफरोडमा कुदाउँदा याडियाले भुईँ नछोए पनि ब्याट्री धेरै नै हल्लिने उनी सुनाउँछन् ।

तर 'NIU Nqi sport'​ मा त्यस्तो समस्या नभएको उनी सुनाउँछन् । अफरोडमा कुदाउन याडियाको तुलनामा NIU राम्रो भएको उनको अनुभव छ । 

 

विशेषता

कन्सोल

झट्ट हेर्दा याडियाको कन्सोल राम्रो भएपनि NIU मा धेरै फिचर भएको सुनाउँछन् । “NIU मा भएको कन्सोल समय पनि हेर्न मिल्छ । सिम हाल्न मिल्छ । तर याडियामा यी फिचर छैनन्,” उनी सुनाउँछन् । 

हेडलाइट

सुरुमा उनलाई याडियाको हेडलाइट राम्रो लागेको थियो । तर यसको हेडलाइटले राम्ररी काम नगर्ने उनी सुनाउँछन् । “अन्डरग्राउण्ड पार्किङमा गयो भने त काम नै गर्दैन । नामको मात्र हेडलाइट छ,” उनी भन्छन्, “चस्मा लगाएर त कुदाउनै सकिँदैन । तर NIU को हेडलाइटमा त्यस्तो केही समस्या छैन ।” 

बटन

यी दुवै स्कुटरमा भएका बटनहरू राम्रै भएको उनको अनभुव छ । उनका अनुसार ती बटन चलाउँदा प्रिमियम नै अनुभव हुन्छ । तर याडिया चलाउँदा चलाउँदै मोड परिवर्तन गर्न भने गाह्रो हुने उनको अनुभव छ । त्यस्तै ब्रेक पनि NIU को तुलनामा याडियाको राम्रो उनी बताउँछन् । 

ऐना

उनी याडियामा भएको ऐना आफूलाई चित्त नबुझेको सुनाउँछन् । यसको ऐनालाई मिलाउन नसकिएकाे उनको अनुभव छ । ऐनामा समस्या भएका कारण पछाडि आइरहेका गाडीहरू हेर्न गाह्रो हुने उनको भनाइ छ ।  तर NIU मा भएको ऐना सहज र राम्रो भएको उनी सुनाउँछन् ।

बुट स्पेस

तुलनात्मक रूपमा याडिया ठूलो आकारको छ । याडियामा भएको ठूलो बुट स्पेसमा धेरै सामान अट्ने उनी बताउँछन् । तर NIU मा भने थोरै मात्र सामान अट्छ ।

टायर

यी दुवै स्कुटरमा १२ इन्चको ट्युबलेस टायर छन् । सुरुमा यी दुवै स्कुटर कुदाउँदा चिप्लिने समस्या भएपनि प्रयोग गर्दै जाँदा बानी परेको उनी सुनाउँछन् । नयाँ ग्राहकले यो कुराको ख्याल गर्न उनको सुझाव छ ।

यी विद्युतीय स्कुटर कुदाउँदै गर्दा टायर पङ्चर भए बनाउने ठाउँ पाउन समस्या छ । यो नै सबैभन्दा ठूलो डर भएको उनी बताउँछन् ।

वारेन्टी

NIU स्कुटरको ब्याट्रीमा उनले चार वर्षको वारेन्टी पाएका छन् । तर समय समयमा सर्भिसिङ गरिरहनु पर्ने उनी बताउँछन् ।

त्यस्तै याडियामा कुनै वारेन्टी नभए पनि एकपटक अगाडिको टायरमा हावा भरेदेखि अहिलेसम्म कुनै सर्भिसिङ गर्न नपरेको उनले सुनाए ।

पछिल्लो अध्यावधिक: बैशाख २, २०८० २०:४०