close

भिडिओ सामग्रीबाट धेरैभन्दा धेरै आम्दानी कसरी गर्ने ?

राजेन्द्र अर्याल

बैशाख १०, २०८० १४:५२

भिडिओ सामग्रीबाट धेरैभन्दा धेरै आम्दानी कसरी गर्ने ?

पछिल्लो समय गीत सङ्गीतको क्षेत्रमा लय, भाका वा शब्द दुरुस्तै राख्दा वा उस्तै सुनिने पाइएमा कपिराइटको प्रश्न उठ्ने गरेको देखिन्छ । नेपालको हकमा प्रतिलिपि सम्बन्धी कार्यको लागी एकमात्र उच्चतम् निकाय प्रतिलिपि अधिकार संरक्षणको कार्यालयमा दर्ता गरी आफ्ना सिर्जना सुरक्षित गर्न सकिन्छ ।

त्यसो त पछिल्लो समय अर्काका कन्टेन्टहरूलाई युट्युबमा राख्ने प्रवृत्ति पनि बढ्दो छ । विशेषगरी चलेका गीत सङ्गीत वा अन्य भिडिओलाई दुरुस्तै कपी गरेर राख्ने प्रचलन बढेको छ । तर, त्यस्ता गीत सङ्गीतका सर्जकले प्रतिलिपि अधिकारबारे ख्याल नगर्दा करोडौं आम्दानीसम्म गुमाइरहेका छन् । 

गीत सङ्गीतको क्षेत्रमा लागेका कलाकारले डिजिटल प्लेटफर्ममा स-साना कुरालाई ख्याल गर्ने हो भने मात्रै पनि आफ्ना सिर्जनालाई व्यवस्थापन गर्न सक्छन् । 

नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयको वेबसाइटमा गएर सहजै आफ्नो गीत सङ्गीतको प्रतिलिपि अधिकार लिन सकिन्छ ।   

त्यस्तै कपिराइट दर्ता गरेपछि क्रियटरको भिडिओ अरूले राखेको अवस्थामा पनि त्यस्ता च्यानलको आम्दानी क्रियटरले पाउन सक्छन् । विभिन्न प्लेटफर्ममा कपिराइट दाबी गर्ने, आम्दानी प्राप्त गर्ने विकल्पहरू उपलब्ध गराइएको हुन्छ । उदाहरणका लागि युट्युबको कन्टेन्ट म्यानेजमेन्ट सिस्टम, फेसबुकमा राइट म्यानेजर, टिकटकको ओरिजिनल म्युजिकलाई लिन सकिन्छ । जसले मूल सर्जकलाई रोयल्टीको सुविधा दिइरहेका हुन्छन् । 

डिजिटल प्लेटफर्ममा कन्टेन्ट राखेर राम्रो आम्दानी गर्न चाहनेहरूले यस बाहेक विभिन्न विषय ख्याल राख्नुपर्ने हुन्छ ।  

  • सिर्जना सँगसँगै प्राविधिक आइडिया पनि राख्न सक्ने हो भने सिर्जना लोकप्रिय हुँदा राम्रो रोयल्टी प्राप्त गर्न सकिन्छ । उदाहरणका लागि आठ मिनेट बढीको कन्टेन्टलाई युट्युबले मनिटाइजेनस एड ब्रेक दिन्छ, जसले गर्दा रोयल्टी तीन गुणाले बढाउन सकिन्छ ।

  • म्युजिक भिडिओ अपलोड गर्नु, पब्लिश गर्नु मात्रै सफलता हो भन्ने सोच्नु हुँदैन । सङ्गीत क्षेत्रमा एउटा भनाइ पनि छ, ‘पानी मुनिको माछाले सुनेपनि आफ्नो गीतको रोयल्टी पाउनु पर्छ’ । त्यसैले डिजिटल प्लेटफर्ममा जतासुकै आफ्नो सिर्जना प्रयोग भएपछि रोयल्टी आउने निश्चितता गरेपछि मात्र पब्लिश गर्नुपर्ने हुन्छ । 

  • अहिलेको समयमा सामाजिक सञ्जालले कुनै पनि सर्जकको सिर्जनालाई सफल बनाउने महत्त्वपूर्ण भूमिका राखेको हुन्छ । त्यसैले आफ्ना सिर्जनालाई सफल बनाउन, दर्शक श्रोतासँग अत्यधिक नजिक हुन सामाजिक सञ्जालको प्रयोग गर्न जरुरी छ । 

  • स्रष्टाहरूले अत्यधिक रोयल्टी प्राप्त गर्न सक्ने माध्यममा आफ्ना सिर्जना पठाउने तर्फ ध्यान दिनुपर्छ । त्यस्तै आफ्ना दर्शकलाई विभिन्न माध्यमहरूमा किनेर सुन्न र हेर्न प्रेरित गर्नु पनि पर्छ । 

  • अहिलेको समयमा मार्केटिङ तथा डिजिटल मार्केटिङको तौरतरिका जान्न पनि जरुरी हुन्छ । 

  • सबै चिजका लागि पैसा खर्च गर्नु पर्दैन । 

  • नचलुन्जेल चासो राख्ने, चर्चामा आएपछि मतलब नगर्ने प्रवृत्ति पनि राम्रो होइन । पछि पनि खाँचो पर्छ भन्ने कुरा बुझेर सबैसँग सुमधुर व्यवहार गर्नुपर्ने हुन्छ ।

  • डिजिटल प्लेटफर्मलाई मतलबै नगर्ने बानी राम्रो होइन । निश्चित दिन अगाडि डिजिटल प्लेटफर्ममा गीत पठाउनुपर्छ । निश्चित दिनपछि भिडियो राख्नुपर्छ । आफ्नो च्यानलमा केही समय अगाडि नै भिडिओ राखेर कपिराइट क्लेम रिलिज (Copyright Claim Release) गर्नुपर्छ भन्ने कुरामा जानकारी राख्नु पर्छ ।

  • इंगेजिङ कन्टेन्ट बनाउन ध्यान दिनु पर्छ । मेहनत नै नगर्ने बानी त्यागेकै राम्रो । धेरै गीत गरेँ भन्ने कुराले मात्रै त्यति धेरै महत्त्व राख्दैन । सकेसम्म गुणस्तरमा सम्झौता नगर्दा हुन्छ ।

  • पहिले पहिले गीतका क्यासेट चक्का, सीडी बिक्री हुन्थे । त्यो अब सम्भव छैन । तर, डिजिटल प्रविधिमा आफ्ना गीतहरू पठाउन सके त्यहाँबाट राम्रै रोयल्टी जम्मा हुने सम्भावना छ । त्यसमा धेरै भन्दा धेरै सम्भावना के हुन सक्छ, खोज्नुपर्नेमा ध्यान दिनुपर्छ ।

  • आफ्ना भिडिओ सामग्रीमा प्रोडक्ट प्लेसमेन्टको रुपमा विज्ञापन राख्न सकिन्छ ।

  • भिडियोमा भ्युज नगए पनि देखाउनका लागि युट्युब जस्ता भिडियो स्ट्रिमिङ प्लेटफर्ममा अनधिकृत भ्युज किन्ने काम चाहिँ गर्नु हुँदैन । त्यसबाट फिर्ता आउनेभन्दा पनि समग्र च्यानललाई असर गरी पछिल्ला भिडियोसम्मको भ्युजलाई समेत नकारात्मक असर गर्छ ।

  • योजना विहीन ढङ्गले काम गर्दा राम्रा सिर्जनाले पनि बजार नपाउने समस्या आउँछ । आफ्नो टिमका कलाकारलाई राम्ररी परिचालन गर्न नसक्दा समग्र प्रोजेक्ट नै फेल हुने गरेको पनि धेरै देखिएको छ ।

  • गीत तथा म्युजिक भिडियोमा काम गर्नुपूर्व कसको भूमिका कति, कति पल्ट, कसरी शेयर गर्ने जस्ता समग्र योजना नबनाउँदा म्युजिक भिडियोमा असर परिरहेको हुन्छ भन्ने कुरा बिर्सिनु हुँदैन ।

  • आफ्ना सामाजिक सन्जालमा दर्शकलाई आकर्षित गर्ने गरी पोस्ट गर्ने, जानकारी गराउने जस्ता कार्यहरू गरिरहनु पर्छ । 

  • भिडियो बनाउने मान्छे र लगानीकर्तालाई अनेक आश्वासन दिने, परिणाम ननिस्किएपछि नराम्रो व्यवहार गर्नुभन्दा प्रोडक्ट प्लेसमेन्ट लगायतका स्पोन्सर खोजेर खर्च व्यवस्थापन गर्दा राम्रो हुन्छ । 

  • सङ्गीत क्षेत्र उद्योग हो भन्ने कुरा बुझ्नुपर्छ । आफूले मात्रै सबै कुरा गर्नुपर्छ भन्ने बानी त्याग्नुपर्छ । 

  • आफूले आम्दानीको श्रोत पत्ता लगाएपछि अरूलाई शेयर नगर्ने बानी धेरैको हुन्छ । नजानेकोलाई सिकाउँदा उद्योगकै लागि राम्रो हुन्छ ।

  • पछिल्लो समय सर्जकमा साधना र मेहनतको कमी देखिन्छ । अनेक हतकन्डा गरेर एकपटक भाइरल भए पनि त्यो लामो समय टिक्दैन । त्यसरी राम्रो अवस्थामा पुग्न सकिँदैन । 

  • आफ्ना कन्टेन्ट शेयर गर्ने, आफ्नो सहभागिता रहेका म्युजिक भिडियो सुरुमै शेयर गर्ने गर्नुपर्छ । हिट भइसकेपछि मात्र मेरो भन्ने बानी त्यागेकै राम्रो हुन्छ । 

  • प्राविधिक पक्षलाई ख्याल गर्दा वा अन्तर्राष्ट्रिय स्तरमा कलाकारले आफ्ना सिर्जनाबाट कसरी आम्दानी गरिरहेका छन् भन्ने विषयलाई अध्ययन गर्न सके राम्रै आम्दानी गर्न सकिन्छ । 

 

अर्याल नेपालमा चर्चित कलाकारका सामाजिक सञ्जाल व्यवस्थापन गर्दै आएका एक प्राविधिक हुन् । 

पछिल्लो अध्यावधिक: बैशाख १०, २०८० १५:२०