close

क्लाउड स्टोरेज के हो र यसले कसरी काम गर्छ ?

टेकपाना टेकपाना

बैशाख २१, २०८० १९:९

क्लाउड स्टोरेज के हो र यसले कसरी काम गर्छ ?

काठमाडौं । जब हामी कुनै डिभाइस वा स्मार्टफोन खरिद गर्छौं, तब हाम्रो सबैभन्दा अहम् जरुरतमा फोनको स्टोरेज समावेश हुने गर्छ । के तपाईंले कहिले सोच्नु भएको छ कि जब एक डिभाइसमा डेटाका लागि धेरै स्टोरेज स्पेसको आवश्यकता पर्छ भने कुनै ठूलो संस्थाका हजारौं डिभाइसका लागि कति स्टोरेज आवश्यक पर्छ होला ?

यस्तोमा क्लाउड स्टोरेज सर्भिस काम आउँछ । अब सवाल उठ्छ, क्लाउड स्टोरेज सर्भिस के हो ? आज हामी यही विषयमा चर्चा गर्दै छौं । 

के हो क्लाउड स्टोरेज ? 

क्लाउड स्टोरेज कम्प्युटर डेटा स्टोरेज गर्ने एउटा तरिका हो । जसमा डिजिटल डेटालाई अफ-साइट अर्थात फोन वा डिभाइसमा नभएर अर्कै स्थानमा रहेको सर्भरमा स्टोर गरिन्छ । यस्ता सर्भर राख्ने र रेखदेख गर्ने सेवा प्रदायक तेस्रो पक्षको रुपमा रहेको हुन्छ । जसले आफ्नो विशेष ढाँचामा सङ्ग्रहित डेटा होस्ट गर्ने, व्यवस्थापन गर्ने र सुरक्षित राख्ने जिम्मेवारी लिएको हुन्छ ।

यसका साथै त्यस्ता सेवाप्रदायकले उक्त डेटा सार्वजनिक वा निजी इन्टरनेट कनेक्सनको माध्यमबाट सुलभ तुल्याउने कार्य गर्छन् । यो तरिका खासगरी ठूला कम्पनीहरूका लागि निकै उपयोगी हुने गर्छ । क्लाउड स्टोरेजले विभिन्न सङ्घसंस्था तथा कम्पनीहरूका लागि डेटा स्टोर गर्ने, एक्सेस गर्ने र निरन्तर कायम राख्ने कार्य गरिरहेको हुन्छ ।

त्यसलाई तेस्रो पक्षको रूपमा रहेका सेवाप्रदायकबाट व्यावसायिक मोडलमा सञ्चालन गरी आफ्नो लागत हस्तान्तरण गरिन्छ ।  जसले गर्दा हरेक सङ्घसंस्था तथा कम्पनीहरूले स्वयं आफ्नै डेटा सेन्टर बनाउने, स्वामित्वमा लिने वा सञ्चालन गर्ने जरुरत पर्दैन । क्लाउड स्टोरेज क्षमता बढाउने किसिमले तयार पारिएको हुन्छ । जसबाट सङ्घसंस्था तथा कम्पनीहरूको आवश्यकताको आधारमा आफ्नो डेटा फुटप्रिन्ट बढाउन वा कम गर्न अनुकूल हुन्छ । गुगलले क्लाउड सङ्गठनहरूलाई आफ्नो डेटा क्लाउडमा सङ्ग्रहित गर्नका लागि कयौं प्रकारका घटबढ गर्न सकिने विकल्प प्रदान गर्छ । 

क्लाउड स्टोरेजले कसरी गर्छ काम ? 

क्लाउड स्टोरेजले फाइल, व्यावसायिक डेटा, भिडिओ, फोटो, अडियो जस्ता डेटालाई जोगाइराख्नका लागि रिमोट सर्भर उपयोग गर्दछ । प्रयोगकर्ताले इन्टरनेट सम्पर्कको माध्यमबाट सर्भरमा डेटा अपलोड गर्छन् । जहाँ यसलाई भौतिक सर्भरमा भर्चुअल मसिनमा राखिएको हुन्छ ।

उपलब्धता कायम राख्न तथा रिडन्डेन्सी बनाइराख्नका लागि क्लाउड प्रदायकले अक्सर डेटालाई विश्वभर विभिन्न स्थानमा राखिएका डेटा सेन्टरमा कयौं भर्चुअल मसिनमा फैलाएर राखेका हुन्छन् । जब स्टोरेजको आवश्यकता बढ्छ, तब क्लाउड प्रदायकले भार सम्हाल्नका लागि अधिक भर्चुअल मसिनलाई घुमाउन थाल्छन् । प्रयोगकर्ताले क्लाउड स्टोरेजमा इन्टरनेट सम्पर्क तथा वेब पोर्टल, ब्राउजर वा मोबाइल एप जस्ता सफ्टवेयरको माध्यमबाट एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई) को माध्यमबाट डेटा एक्सेस गर्न सक्छन् । 

कसले गर्छ यसको उपयोग ? 

चाहे तपाईंको एउटा सानो व्यवसाय होस् वा एउटा ठूलो व्यवसाय नै किन नहोस्, क्लाउड स्टोरेजले तपाईंको मुख्य व्यवसाय विकासमा ध्यान केन्द्रित गर्छ र तपाईंको लागतलाई कम गर्दै सुरक्षा बढाउँछ ।

मानौं तपाईंले कुनै सानो व्यवसाय सुरुवात गर्नु भयो भने तपाईं आफ्नै कार्यालयमा स्टोरेज राख्ने विषयमा चिन्तित हुनु पर्दैन । किनभने क्लाउड स्टोरेजले त्यसको विकल्प प्रदान गर्छ । साथै जसैजसै व्यवसाय बढ्दै जान्छ, तपाईंलाई क्रमशः क्लाउड स्टोरेजमा क्षमता विस्तार गर्ने अनुमति दिन्छ । 

किन आवश्यक छ क्लाउड स्टोरेज ? 

क्लाउड स्टोरेजले लागत प्रभावी र स्केलेबल अर्थात आवश्यकता घटबढ गर्न सकिने किसिमको स्टोरेज उपलब्ध गराउँछ । अब तपाईंलाई क्षमताभन्दा बाहिर जान, स्टोरेज एरिया नेटवर्क (एसएएनएस) लाई कायम राख्न, विफल उपकरणलाई परिवर्तन गर्न, मागका साथै पूर्वाधार जोड्न वा माग कम हुँदा कम उपयोग गरिएका हार्डवेयरलाई सञ्चालित गर्ने विषयमा चिन्ता लिनुपर्ने आवश्यकता हुँदैन ।

क्लाउड स्टोरेज इलास्टिक्स हुन्, जसको अर्थ तपाईं मागका साथै यसलाई बढाउन वा घटाउन सक्नु हुन्छ । यानि कि तपाईं केवल त्यसका लागि मात्रै पैसा तिर्नु हुन्छ, जति तपाईं प्रयोग गर्नु हुन्छ । यो सङ्घसंस्था तथा कम्पनीहरूका लागि डेटा अनलाइनमा सुरक्षित रूपमा राख्ने एउटा तरिका हो ।

ताकि यसलाई चाहिएको खण्डमा कुनै पनि स्थानबाट कुनै पनि समयमा एक्सेस गर्न सकियोस् । अर्बौं फाइल तथा पेटाबाइट डेटा युक्त ठूला इन्टरप्राइजेजको केन्द्रीकृत डेटा बेस बनाउनका मापन, स्थायित्व र लागत बचतका लागि क्लाउड स्टोरेजमा भर पर्न सकिन्छ । ताकि तपाईंको डेटा ती सबैका लागि सुलभ बनाइयोस्, जसलाई त्यसको आवश्यकता हुन्छ । 

पब्लिक क्लाउडः 

यो क्लाउड स्टोरेजको एउटा मोडल हो, जहाँ एउटा कम्पनीले आफ्नो डेटालाई सेवा प्रदायकको डेटा सेन्टरमा सङ्ग्रहित गरेको हुन्छ । जुन अन्य कम्पनीले समेत उपयोग गर्न सक्छन् । सार्वजनिक क्लाउड स्टोरेजमा कयौं क्षेत्रमा डेटा फैलिएको हुन्छ र अक्सर यसलाई सब्सक्रिप्सन वा पे-एज-यू-गो आधारमा उपलब्ध गराइन्छ । सार्वजनिक क्लाउड स्टोरेजलाई पनि इलास्टिकल मान्ने गरिन्छ । 

प्राइभेट क्लाउडः 

प्राइभेट क्लाउड स्टोरेज एउटा यस्तो मोडल हो, जहाँ एक संस्थाले स्वयं आफ्नो नेटवर्क भित्र डेटा स्टोर गर्नका लागि आफ्नो स्वयंकै सर्भर वा डेटा सेन्टर उपयोग गर्छ । कम्पनीमा समर्पित सर्भर तथा निजी कनेक्सन दिनका लागि क्लाउड सेवा प्रदायकसँग सौदाबाजी समेत गर्न सकिन्छ ।

जुन कुनै अन्य कम्पनी तथा संस्थासँग शेयर गरिँदैन । यसको उपयोग सामान्यतः त्यस्ता कम्पनीहरूले गर्छन्, जसलाई आफ्नो डेटामा अधिक नियन्त्रण, कडा अनुशासन तथा सुरक्षाको आवश्यकता हुन्छ । 

हाइब्रिड क्लाउडः 

हाइब्रिड क्लाउड निजी तथा सार्वजनिक क्लाउड स्टोरेजको मिश्रित मोडल हो । एक हाइब्रिड क्लाउड स्टोरेज मोडलले कम्पनीहरूलाई कुन क्लाउडमा कुन डेटा स्टोर गर्ने भन्ने किसिमको विकल्प दिन्छ । अर्थात यसबाट संवेदनशील डेटा प्राइभेट क्लाउडमा र कम संवेदनशील डेटा सार्वजनिक क्लाउडमा स्टोरेज गरिन्छ । 

मल्टी क्लाउड 

जब कुनै संस्था वा कम्पनीले एकभन्दा अधिक क्लाउड सेवा प्रदायकसँग एकभन्दा बढी क्लाउड मोडल सेट गर्छ, त्यसलाई एक मल्टी क्लाउड स्टोरेज मोडल मान्न सकिन्छ । संस्थाहरूले त्यस्तो अवस्थामा मल्टी क्लाउड मोडल चयन गर्न सक्छन्, जसलाई कुनै विशिष्ट देशमा डेटा सङ्ग्रहित गर्नुपर्ने आवश्यकता हुन्छ, विभिन्न टिमहरूलाई अलग अलग क्लाउडमा प्रशिक्षित गरिन्छ अथवा विभिन्न आवश्यकता पूरा गर्ने जरुरत हुन्छ । 

 

पछिल्लो अध्यावधिक: बैशाख २१, २०८० १९:११