close

आईफोनबाट वाईफाईको पासवर्ड शेयर गर्ने सजिलो तरिका

टेकपाना टेकपाना

बैशाख ३१, २०८० ११:१५

आईफोनबाट वाईफाईको पासवर्ड शेयर गर्ने सजिलो तरिका

ह्याकिङ तथा डेटा चोरी बढिरहेको अहिलेको समयमा वाईफाईका लागि समेत बलियो पासवर्ड राख्नु अति जरुरी छ । तर जब घरमा साथीभाइ वा आफन्त आउँछन्, उनीहरूलाई लामो र अप्ठ्यारो पासवर्ड टाइप गर्न लगाउनु  साह्रै झन्झटिलो भइदिन्छ ।

तर अब चिन्ता नलिनुहोस्, एप्पलले आईफोनबाट वाईफाई पासवर्ड शेयर गर्न सकिने नयाँ फिचर ल्याइसकेको छ । यसका लागि पासवर्ड शेयर गर्ने र प्राप्त गर्ने दुवै डिभाइसहरूमा पछिल्लो भर्सन अपडेट भएको निश्चित गर्नुहोस् । अन्यथा यो फिचरले काम गर्ने छैन ।

एप्पलले आईओएस ११ अपडेटमा यो फिचर थप गरेको हो । त्यसैले यो पासवर्ड शेयरिङ आईओएस ११ वा त्यसभन्दा पछिल्ला भर्सन भएका आईफोनमा मात्रै सम्भव हुनेछ । यदि तपाईंको डिभाइस अप टु डेट छ भने यस पछिको खण्ड बेवास्ता गरेर पासवर्ड कसरी शेयर गर्ने भन्ने कुरा थाहा पाउन सोझै अगाडि बढ्न सक्नु हुन्छ । 

 

कसरी अपडेट गर्ने पछिल्लो आईओएस तथा म्याकओएस ? 

आफ्नो आईफोन, आईप्याड अथवा आईपडमा आईओएस अपडेट गर्नु अघि आफ्नो डिभाइस ब्याकअप भएको सुनिश्चित गर्नुहोस् । चाहे त्यो तपाईंको शोध सामग्री होस् अथवा खराब सल्लाह दिने टिकटक नै किन नहोस्, यहाँनिर आफ्नो मूल्यवान डेटा सेभ गर्न नबिर्सिनुहोस् ।

त्यसपछि आफ्नो डिभाइसलाई चार्जमा राख्नुहोस् र वाईफाईमा कनेक्ट गर्नुहोस् । अब सेटिङमा गएर तलतर्फ स्क्रोल गरी जनरलमा पुग्नुहोस् । यदि नयाँ अपडेट उपलब्ध रहेछ भने त्यहाँनिर सानो रातो थोप्लोसँगै सफ्टवेयर अपडेट बटन देख्न सक्नु हुनेछ । 

अब उक्त बटन थिच्नुहोस्, त्यससँगै तपाईं डाउनलोड अथवा इन्स्टलको विकल्पमा पुग्नु हुनेछ । जब तपाईं उक्त बटनमा दबाउनु हुन्छ, तपाईंलाई डिभाइसको पासकोड माग्न सक्छ ।

त्यसपछि आईओएस अपडेट स्वतः इन्स्टल हुन थाल्नेछ । त्यस्तै यदि तपाईंलाई आफ्नो ल्यापटप अथवा डेस्कटपमा म्याकओएस अपडेट गर्नु छ भने त्यसमा रहेको आफ्नो महत्त्वपूर्ण डेटा ब्याक अप राख्न नभुल्नुहोस् ।

डिभाइसमा ओएस (अपरेटिङ सिस्टम) अपडेट गर्दा केही समय लाग्ने भएकाले भरपर्दो वाईफाई र चार्जरमा जोड्ने कुरा पनि ख्याल राख्नुहोस् । जब तपाईंको डिभाइस वाईफाईमा कनेक्ट हुनुका साथै चार्जरमा जोडिन्छ, त्यसपछि एप्पल मेनुमा गएर सिस्टम प्रिफरेन्सेस खोल्नुहोस्, जुन तपाईंले स्क्रिनको माथि बायाँ कुनामा देख्न सक्नु हुनेछ ।

जब सिस्टम प्रिफरेन्सेस विन्डो पप अप हुन्छ, त्यसम रहेको सफ्टवेयर अपडेटमा क्लिक गर्नुहोस् । उपलब्ध रहेका कुनै पनि अपडेट यही ठाउँमा देखिन्छन् ।

यदि कुनै अपडेट उपलब्ध छ भने, इन्स्टल गर्नका लागि अपग्रेड नाउ (Upgrade Now) बटन क्लिक गर्नुहोस् । त्यसपछि स्वतः डाउनलोड हुन थाल्नेछ । त्यसपछि जब त्यो पूरा हुन्छ, इन्स्टलर विन्डो देखा पर्छ । अब विन्डोमा प्राप्त निर्देशनहरू पच्छ्याउँदै इन्स्टलेसनको काम सम्पन्न गर्नुहोस् । 

 

अब यसरी शेयर गर्नुहोस् वाईफाईको पासवर्ड

यसका लागि सबैभन्दा पहिला पासवर्ड शेयर गर्ने र प्राप्त गर्ने दुवै डिभाइसमा 'वाईफाई' र 'ब्लुटुथ' सेटिङ चालू अवस्थामा राख्नुहोस् । खास कुरा के भने तपाईंले आफ्नो एप्पल आईडीका लागि प्रयोग गर्ने ईमेल एड्रेस अर्को व्यक्तिको कन्ट्याक्टमा सेभ भएको हुन्छ, त्यसैगरी उक्त व्यक्तिको ईमेल एड्रेस तपाईंकोमा ।

उदाहरणको लागि यदि तपाईं आफ्नो वाईफाई पासवर्ड आफ्नो साथीसँग शेयर गर्दै हुनुहुन्छ र तपाईंले आफ्नो एप्पल आईडीमा प्रयोग गर्ने ईमेल एड्रेस [email protected] छ र अर्को व्यक्तिको [email protected] हो भने आफ्नो ईमेल एड्रेस साथीको डिभाइसको कन्ट्याक्ट्स लिस्टमा र साथीको ईमेल एड्रेस तपाईंको आईफोनको कन्ट्याक्ट लिस्टम रहेको सुनिश्चित गर्नुहोस् ।

यदि तपाईंलाई आफूले एप्पल आईडीका लागि प्रयोग गरेको ईमेल एड्रेस याद छैन भने आई क्लाउडको साइनइनमा गएर हेर्न सक्नु हुन्छ । यति भइसकेपछि दुवै डिभाइसलाई वाईफाई र ब्लुटुथ दुवैले काम गर्ने गरी नजिकै राख्नुहोस् ।

अब पहिला जुन डिभाइसबाट पासवर्ड शेयर गर्दै हुनुहुन्छ, त्यसलाई वाईफाई नेटवर्कमा कनेक्ट गराउनु होस् । त्यसपछि वासवर्ड प्राप्त गर्ने डिभाइसमा वाईफाई सेटिङ खोल्नुहोस् ।

यति गरिसकेपछि पहिलो डिभाइसलाई अन्य डिभाइससँग पासवर्ड शेयर गर्न चाहेको हो भन्दै एउटा विन्डो अपअप हुनेछ । त्यहाँ शेयर पासवर्ड (Share Password) मा थिच्नुहोस् । यससँगै अर्को डिभाइससँग पासवर्ड शेयर हुनेछ र वाईफाई कनेक्ट हुन्छ । 

पछिल्लो अध्यावधिक: बैशाख ३१, २०८० ११:१५