close

डिजिटल प्लेटफर्म सम्बन्धी एक दिने गोष्ठी, उपत्यका बाहिरकालाई यातायात र बस्ने सुविधा

टेकपाना टेकपाना

बैशाख ३१, २०८० १३:२३

डिजिटल प्लेटफर्म सम्बन्धी एक दिने गोष्ठी, उपत्यका बाहिरकालाई यातायात र बस्ने सुविधा

काठमाडौं । युथ इन्टरनेट गभर्नेन्स फोरम (युथ आईजीएफ) ले इन्टरनेट तथा डिजिटल प्लेटफर्म सम्बन्धी एक दिने अन्तरक्रियात्मक तथा क्षमता विकास कार्यक्रम आयोजना गर्ने भएको छ । 

इन्टरनेट तथा डिजिटल प्लेटफर्ममा देखिएका समस्या एवम् जिज्ञासाबारे छलफल र नीतिगत तहबाट गर्न सकिने सुधारबारे बहसका लागि फोरमले एक दिने अन्तरक्रियात्मक कार्यक्रम आयोजना गर्न लागेको हो । 

यो कार्यक्रम काठमाडौंको आरन्या बुटिक होटेलमा जेठ १५ गते आयोजना हुनेछ । यस अन्तरक्रियात्मक कार्यक्रममा सहभागी हुनका लागि 'युथ आईजीएफ'ले सातै प्रदेशका युवालाई आवेदन दिन आह्वान गरेको छ । 

हरेक प्रदेशबाट छनोट भएका दुई जनालाई संस्थाले नै काठमाडौं आउने जाने तथा दुई रात बस्ने व्यवस्था मिलाउने संस्थाका संयोजक आनन्द गौतमले बताएका छन् । 

"इन्टरनेट तथा डिजिटल प्लेटफर्म सम्बन्धी उठेका विभिन्न सवाल, त्यसलाई समाधान गर्ने तरिका, नीतिगत कमजोरी र त्यसका सुधारका पक्ष के के हुन सक्छन् भन्ने विषयमा सम्बन्धित निकाय तथा आम प्रयोगकर्ताबीच अन्तरक्रियात्मक कार्यक्रम आयोजना गर्न लागेका छौं," टेकपानासँग कुरा गर्दै गौतमले भने, "यस्ता विषयमा रुचि राख्ने विद्यार्थी एवम् आम युवालाई काठमाडौंमा ल्याइ सहभागी गराउने उद्देश्यले फेलोशिप एप्लिकेसन खुलाएका हौं ।"

सहभागीहरूले प्राविधिक विज्ञहरू, नीति निर्माताहरू र युवा नेताहरूसँग अन्तरक्रिया गर्ने अवसर पाउने उनले बताए । यस कार्यक्रममा छनौटका लागि महिला, अपाङ्गता भएका व्यक्ति तथा तेस्रो लिङ्गी वर्गका युवालाई बढी प्राथमिकता दिने उनले बताए । 

कार्यक्रममा आउन इच्छुक भएका तर आर्थिक अवस्था सबल नभएका सहभागीले आउने/जाने तथा बस्ने व्यवस्था सहितको आवेदनका लागि जेठ ४ गतेसम्म फारम भर्न सक्नेछन् । यस्ता सहभागीले फारम भर्नको लागि यहाँ क्लिक गर्नुहोस् । 

त्यस्तै काठमाडौं उपत्यकामा नै भएका वा उपत्यका बाहिर भए पनि आफ्नै खर्चले आउन सक्ने सहभागीका लागि आवेदन दिन यहाँ क्लिक गरेर फारम भर्न सकिनेछ । यस्ता सहभागीले भने जेठ १२ गतेसम्म फारम भरिसक्नुपर्नेछ । 

कार्यक्रममा सहभागी हुनका लागि कुनै शुल्क तिर्नुपर्ने छैन । 

पछिल्लो अध्यावधिक: बैशाख ३१, २०८० १४:४१