close

ल्यापटप तथा पीसीका लागि ह्वावेले ल्यायो हार्मोनी ओएस, विन्डोजलाई चुनौती देला ?

टेकपाना टेकपाना

बैशाख २६, २०८२ १९:२७

ल्यापटप तथा पीसीका लागि ह्वावेले ल्यायो हार्मोनी ओएस, विन्डोजलाई चुनौती देला ?

काठमाडौँ । ह्वावेले आधिकारिक रूपमा पीसीका लागि ‘हार्मोनी ओएस’ सार्वजनिक गरेको छ । बिहीबार आयोजित एक कार्यक्रममार्फत कम्पनीले यो नयाँ अपरेटिङ सिस्टम सार्वजनिक गरेको हो । यस प्रणालीले कम्प्युटर बजारमा ठुलो परिवर्तन ल्याउने र ह्वावेका डिभाइसहरूमा नयाँ आयाम थपिने कम्पनीले विश्वास छ ।

यसअघि ह्वावेले हार्मोनी ओएस स्मार्टफोन, ट्याब्लेट, स्मार्ट टिभी, वेरेबल्स र ककपिटमा उपलब्ध गराउँदै आएको थियो । अब भने कम्पनीले पहिलोपटक पीसीका लागि यो ओएस उपलब्ध गराएको हो ।

कम्पनीका अनुसार पीसीका लागि विकास गरिएको हार्मोनी ओएसलाई बेस (Base), इकोसिस्टम (Ecosystem) र एक्सपेरियन्स (Experience) गरी तीन तहमा विभाजन गरिएको छ ।

हार्मोनी ओएस बेस अन्तर्गत कर्नेल (Kernel), आर्क इन्जिन (Ark Engine), स्टारशिल्ड आर्किटेक्चर सेक्युरिटी (StarShield Architecture Security), आर्क टीएस (ArkTS) र आर्क यूआई (ArkUI) लगायतका कम्पोनेन्ट समावेश छन् । यी कम्पोनेन्टहरूले कम्प्युटरको प्रदर्शन सुधार गर्ने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार इकोसिस्टम तहले पीसीसँगै अन्य स्मार्ट डिभाइसहरूबिचको कनेक्टिभिटी सहज बनाउनेछ । कम्पनीले हालसम्म १५० भन्दा बढी पीसी इकोसिस्टम एप्लिकेसनहरू उपलब्ध गराएको छ भने २,००० भन्दा बढी विश्वव्यापी एप्लिकेसनहरू पनि यसमा समावेश गरिएका छन् । यसले कार्यालयका कामकाजलाई थप प्रभावकारी बनाउने कम्पनीको विश्वास छ ।

एक्सपेरियन्स तह ले प्रयोगकर्ताको अनुभवलाई सहज र समृद्ध बनाउने उद्देश्य राखेको छ । कम्पनीका अनुसार, यो ओएसले १,००० भन्दा बढी एक्सटर्नल डिभाइसहरू जस्तै; किबोर्ड, माउस, हेडफोन, यूएसबी केबल, प्रिन्टर, ट्याब्लेट आदि सपोर्ट गर्छ ।

यसमा आर्क ग्राफिक्स इन्जिन (Ark Graphics Engine) को सपोर्ट भएकाले प्रयोगकर्ताले उत्कृष्ट भिजुअल अनुभव पाउने कम्पनीको दाबी छ । साथै, यसमा स्टारशिल्ड सेक्युरिटी आर्किटेक्चर प्रयोग गरिएको छ । यसले प्रयोगकर्ताको डिभाइसलाई सुरक्षित राख्न सहयोग गर्नेछ ।

कम्पनीका अनुसार, यदि प्रयोगकर्ताको ह्वावे डिभाइस हरायो भने उही युजर आईडी र पासवर्ड प्रयोग गरेर अर्को डिभाइसमा सम्पूर्ण डेटा पुनः प्राप्त गर्न सकिनेछ । ‘फाइन्ड डिभाइस’ फिचर डिभाइस अफ हुँदा पनि काम गर्नेछ, जसले हराएको डिभाइस पत्ता लगाउन सहयोग गर्नेछ ।

पछिल्लो अध्यावधिक: बैशाख २६, २०८२ १९:४०