close

तपाईँसँग स्टार्टअप वा नयाँ सोच छ ? काठमाडौं महानगरले दिँदैछ सुनौलो अवसर

टेकपाना टेकपाना

जेठ ६, २०८० १०:३२

तपाईँसँग स्टार्टअप वा नयाँ सोच छ ? काठमाडौं महानगरले दिँदैछ सुनौलो अवसर

काठमाडौं । स्टार्टअप गर्न चाहनेहरूका लागि आइडिया बैंक कार्यक्रममा सहभागी हुन काठमाडौं महानगरपालिकाले आवेदन खुलाएको छ । महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले शुक्रबार सामाजिक सञ्जालमा एक भिडिओ राख्दै आवेदनका लागि आह्वान गरेका छन् ।

आफ्नो चुनावी घोषणापत्र तथा काठमाडौं महानगरको आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रममा समावेश भएको आइडिया बैंक कार्यक्रममा सहभागी हुन अनुरोध गर्दै शाहले भिडिओ सन्देश राखेका छन् ।

"आइडीया बैंकको प्रमुख उद्देश्य दक्ष/अदक्ष जनशक्ति, विद्यार्थी, लगानीकर्ता तथा उद्यमशीलता विशेषज्ञहरूको ब्रिज (पुल)का रूपमा महानगर बसी सोचलाई योजना र योजनालाई व्यवसाय बनाउने हो," उनले भनेका छन् ।

"तपाईसँग कुनै स्टार्टअप छ, जुन तीन वर्ष कटेको छैन अथवा कुनै आइडिया छ, जसले गर्दा काठमाडौं महानगरपालिका तथा देशभरका उद्यमशीलता तथा सिर्जनात्मक काम गर्न सकिन्छ भने तपाईंहरूको त्यो आइडियालाई विभिन्न पाँच ओटा क्याटगोरीमा हामीले लिन कोसिस गरिरहेका छौं," शाहले भिडिओमा भनेका छन्, "ती पाँच क्याटगोरीमा आफ्नो आइडियाहरूलाई सब्मिट गर्नुहोला । तपाईंलाई उद्यमी बन्न कसैले रोक्न सक्दैन । महानगर तपाईंको साथमा छ ।"

स्टार्टअपका लागि आवश्यक लगानीकर्ता, प्लेटफर्म, विज्ञापनजस्ता काममा महानगरपालिकाले सघाउने उनको प्रतिबद्धता छ । आइडिया कार्यक्रममा सहभागिता जनाउन यहाँ क्लिक गरेर फारम भरी आवदेन दिन सकिन्छ ।

आवेदन दिने अन्तिम मिति जेठ १९ गते रहेको छ । 

महानगरले आवेदनका लागि खुलाएका पाँच विधा:

समुदाय तथा वातावरण

-सहरी फोहोर व्यवस्थापन

-वातावरण संरक्षण

-विपद् व्यवस्थापन तथा पूर्वतयारी

-सहरी कृषि (टेरेस खेती, ठाडो खेती आदि)

-रात्रिकालीन सेवाहरूको प्रावधान (खाना, औषधि, यातायात, आदि)

सहरी पूर्वाधार

-सार्वजनिक पूर्वाधार (बत्ती, सडक, पदयात्रा, ढल निकास, आदि) मर्मतसम्भार

-सार्वजनिक यातायात र ट्राफिक व्यवस्थापन

-पार्किङ व्यवस्थापन

-सार्वजनिक शौचालय

-सार्वजनिक स्थान र पार्कहरूको संरक्षण र कायाकल्प

-वैकल्पिक ऊर्जा

नगरपालिका सामुदायिक सेवाहरू

-स्वास्थ्य सेवा (प्राथमिक, माध्यमिक, तृतीयक)

-सार्वजनिक शिक्षा विद्यालय व्यवस्थापन

-सार्वजनिक सुरक्षा

-सामुदायिक फार्मेसीहरू

-सहरी रोजगारी

नगरपालिका प्रशासन र दक्षता

-नागरिक संलग्नता र प्रतिक्रिया/गुनासो व्यवस्थापन

-नगरपालिका प्रक्रिया डिजिटलाइजेसन र अटोमेसन बनाउने

-सहरी नक्साङ्कन

-घर ठेगानाको असाइनमेन्ट

-नगरपालिकाको राजस्व र व्यय ट्रयाकिङ

-पारदर्शिता र खुला डाटा प्रणाली

-नगरपालिका कर व्यवस्थामा सुधार

सामाजिक आर्थिक क्षेत्र

-जेन्डर रेस्पोन्सिभ (लैङ्गिक-उत्तरदायी) प्रविधिहरू

-जीईडीएसआई (GEDS)I समावेशी प्रविधि समाधान

र, अन्य सम्बन्धित सामाजिक सशक्तीकरण समाधान

पछिल्लो अध्यावधिक: जेठ ६, २०८० १०:३२