close

नेपालमा मोबाइल इन्टरनेट स्पिड उल्टो दिशामा, डाउनलोड स्पिड ३.२१ एमबीपीएसले घट्यो

टेकपाना टेकपाना

जेठ ७, २०८० १३:१२

नेपालमा मोबाइल इन्टरनेट स्पिड उल्टो दिशामा, डाउनलोड स्पिड ३.२१ एमबीपीएसले घट्यो

काठमाडौं । विश्वमा मोबाइल डेटाको स्पिड बढ्दै जाँदा नेपालमा भने उल्टै घट्दै  गएको पाइएको छ । ओकलाको स्पिडटेस्ट ग्लोबल इन्डेक्समा पछिल्लो एक वर्षमा मात्रै नेपालमा मोबाइल इन्टरनेटको डाउनलोड स्पिड ३.२१ एमबीपीएसले घटेको पाइएको हो । 

हाल नेपालको मोबाइल डेटाको औसत स्पिड डाउनलोड तर्फ १३.२८ एमबीपीएस तथा अपलोड स्पिड ९.३७ एमबीपीएस र लेटेन्सी २४ मिलि सेकेन्ड रहेको छ । औसत मोबाइल डेटा स्पिड नेपालको औसत स्पिडको तुलनामा काठमाडौंमा अझै सुस्त रहेको पाइएको छ । हाल काठमाडौंमा मोबाइल डेटाको औसत स्पिड १२.६१ एमबीपीएस मात्र रहेको छ । 

मोबाइल डेटाको औसत स्पिडसँगै यसमा  नेपालको वरियताक्रम समेत घटेको छ ।  मे २०२२ मा मोबाइल डेटा स्पिडको आधारमा नेपाल विश्वमा १०६ औं स्थानमा रहेकोमा गएको अप्रिलसम्म आइपुग्दा पछाडि धकेलिएर १२४ औँ नम्बरमा पुगेको छ । 

जब कि विश्वको मोबाइल डेटाको औसत डाउनलोड स्पिड ४२.०७ एमबीपीएस र अपलोड स्पिड १०.३३ एमबीपीएस रहेको छ । विश्वको पहिलो स्थानमा रहेको कतारमा मोबाइल डेटाको औसत डाउनलोड स्पिड १८९.९८ एमबीपीएस, अपलोड स्पिड २२.२९ एमबीपीएस  लेटेन्सी १९ मिलि सेकेन्ड रहेको छ । 

जब कि मोबाइल डेटामा ३६.४६ एमबीपीएस डाउनलोड स्पिडका साथ विश्वको ६० औँ नम्बरमा रहेको छ । मोबाइल डेटामा नेपाल अन्य छिमेकी देश चीन, श्रीलङ्का, बङ्ग्लादेश, पाकिस्तान र मालदिभ्सभन्दा पनि पछि छ । 

पछिल्लो अध्यावधिक: जेठ ७, २०८० १३:१२