close

अब च्याटजीपीटीमा वास्तविक समयकै जानकारी उपलब्ध हुने

टेकपाना टेकपाना

जेठ ११, २०८० १३:३०

अब च्याटजीपीटीमा वास्तविक समयकै जानकारी उपलब्ध हुने

काठमाडौं । ओपनएआईले निर्माण गरेको आर्टिफिसियल इन्टेलिजेन्ट (एआई) टुल च्याटजीपीटीमा अब वास्तविक समयको सूचना पाउन सकिने भएको छ । कम्पनीले मंगलबार एक कार्यक्रम आयोजना गर्दै च्याटजीपीटीमा बिङ समावेश गरेर प्रयोगकर्तालाई वास्तविक समयका सूचना उपलब्ध गराउने घोषणा गरेको हो ।

हाल निःशुल्क वा शुल्क तिरेर च्याटजीपीटी प्रयोग गर्नेहरूलाई उक्त प्लेटफर्मले सन् २०२१ सम्मका सूचना मात्र उपलब्ध गराउँछ । यही असुविधालाई मध्यनजर गर्दै कम्पनीले च्याटजीपीटीमा बिङ एआई समावेश गरेको हाे ।

यसअन्तर्गत सुरुवाती चरणमा शुल्क तिरेर च्याटजीपीटी प्लसको सब्स्क्रिप्सन लिने प्रयोगकर्ताले उक्त फिचर प्रयोग गर्न पाउनेछन् । त्यसका लागि उनीहरूले ‘च्याटजीपीटी प्लस बेटा’मा साइनअप गर्नुपर्ने हुन्छ ।

कम्पनीले निःशुल्क च्याटजीपीटी प्रयोग गर्ने व्यक्तिहरूका लागि पनि यो फिचर छिट्टै उपलब्ध गराउने घोषणा गरेको छ ।

माइक्रोसफ्टका हेड अफ कन्जुमर मार्केटिङ यसुफ मेह्दीले एक ब्लगमा भनेका छन्, “च्याटजीपीटीको बिल्टइन सिस्टममा अब विश्वस्तरीय सर्च इन्जिन समावेश भएको छ । जसले वेबबाट सूचना सङ्कलन गरेर प्रयोगकर्तालाई वास्तविक समयका जानकारी उपलब्ध गराउनेछ ।”

यसो त माइक्रोसफ्टले बिङ एआईमा पनि ओपनएआईको च्याटजीपीटी नै प्रयोग गरिरहेको छ । तर, पनि त्यसले च्याटजीपीटी जस्तो प्रयोगकर्तालाई धेरै सूचना दिन सकिरहेको छैन । जसले गर्दा प्रयोगकर्ता बिङ एआईलाई विभिन्न समाचारको लिङ्क, डेटा सङ्कलन तथा रिसर्चका लागि प्रयोग गरिरहेका छन् ।

पछिल्लो अध्यावधिक: जेठ ११, २०८० १८:४८