close

च्याटजीपीटी प्रयोग गरी ९ महिनामै एक व्यक्तिले तयार पारे ९७ ओटा उपन्यास

टेकपाना टेकपाना

जेठ १२, २०८० १८:४४

च्याटजीपीटी प्रयोग गरी ९ महिनामै एक व्यक्तिले तयार पारे ९७ ओटा उपन्यास

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुल प्रयोग गरी एक लेखकले ९ महिनाकाे अवधिमा ९७ ओटा उपन्यास लेखेकाे दाबी गरेका छन् । लेखक टिम ब्राउसेरले स्मार्ट प्रविधिको प्रयोग गरी छाेटाे अवधिमा याे संख्यामा उपन्यास प्रकाशित गरेको दाबी गरेका हुन् ।

“मेरो लक्ष्य सिधा थियो । म एआई प्रयोग गरेर डिस्टोपियन पल्प साइन्स फिक्सनमा आधारित किताबहरूको संकलन तयार गर्न चाहन्थे,” न्युज विक नामक साइटमा प्रकाशित एक लेखमा ब्राउसेरले लेखेका छन्, “मैले तयार गरेका पुस्तकहरूलाई मैले केवल पुस्तक मात्र नभएर मानवको रचनात्मक क्षमतालाई परीक्षण गर्ने एक माध्यमका रूपमा पनि हेरेको छु ।”

लेखकले ओपनएआईले तयार गरेको च्याटजीपीटी र एन्ट्रोपिक टुल क्लाउडी प्रयोग गरेर पुस्तक तयार पारेको बताएका छन् । त्यस्तै उपन्यासभित्र रहेका तस्वीरका लागि 'मिडजर्नी' नामक टुलको प्रयोग गरेको उनको भनाइ छ । 

ब्राउसेरले लेखेका एउटा किताबमा दुईदेखि पाँच हजार शब्द छन् भने त्यसमा ४० ओटादेखि १४० ओटासम्म एआईले तयार पारेका तस्वीर प्रयोग भएका छन् । साधारण लेखकले यतिको पुस्तक आफैंले लेख्नुपर्‍यो भने महिनौं लगाउँछन् ।

तर, ब्राउचरले ६-८ घण्टामा एउटा पुस्तक लेखेको बताएका छन् । एउटा पुस्तक त उनले तीन घण्टाभन्दा पनि कम समयमा लेखेको दाबी गरेका छन् । 

अगस्टदेखि मे महिनाको बीचमा ब्राउचरले आफ्ना पुस्तकको ५०० प्रति बिक्री गरेर दुई हजार डलर आम्दानी गरिसकेका छन् ।  

उनले ‘एआई लोर’ शृङ्खलाका विभिन्न कथालाई एक-अर्कासँग अन्तर्निहित हुने गरी तयार पारेका थिए । यसको अर्थ उक्त शृङ्खलामा भएका हरेक कथाका हरेक पात्र, घटना र सन्दर्भ एक-अर्कासँग जोडिएका छन् ।

“मेरो यो परियोजना सफल भएको छ । किनभने एउटा कथा पढेका पाठकहरू हरेक पाठक नयाँ कथा खरिद गरिरहेका हुन्छन्,” ब्राउचरले अगाडि लेखेका छन् ।

"प्रायः पाठकहरू एउटै सेसनमा छ, आठ वा १० भन्दा बढी भाग खरिद गर्न आइरहेका हुन्छन्,” उनी भन्छन्, “यसले के पनि सुझाव दिन्छ भने कथाको लम्बाइले पाठकको सक्रियता र पुस्तक बिक्रीलाई सीमित पार्दैन ।”

उनले थप्छन्, “यद्यपि कथाहरू क्रमिक रूपमा वर्णन गरिएका छैनन् । मलाई लाग्छ सन् १८०० दशकको उत्तरार्द्ध र १९०० दशकको सुरुवातको फिक्सन बजार सम्भवतः सबैभन्दा राम्रो ऐतिहासिक एनालग थियो । मानिसहरू बारम्बार उही कथा पढ्नका लागि फर्केर आउने गर्छन् । जसले गर्दा पाठकको माग पूरा गर्न म एआईको सहायतामा फिक्सन लेख्छु ।”

उनले आफ्ना पुस्तक न्यूनतम १.९९ अमेरिकी डलर (करिब २६० रुपैयाँ) र बढीमा ३.९९ अमेरिकी डलर (करिब ५२५ रुपैयाँ )मा बिक्री गरेको न्यू योर्क पोस्टले उल्लेख गरेको छ । 

एआईको सहायताले आफ्नो रचनात्मक क्षमतालाई बढवा दिएको ब्राउचरको भनाइ छ ।

“मेरो दिमागमा भएका विभिन्न कथालाई एआईका माध्यमबाट जीवन दिन सफल भएको छु,” वेबसाइटमार्फत आफ्ना पुस्तक बिक्री गर्ने ब्राउचर लेख्छन्, “मैले तिनै पुस्तक बिक्री गर्न एआई टुलको प्रयोग गरी मिनि-एप्लिकेसन बनाएको छु ।”

बढ्दो आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगले मानिसले रोजगार खोसिने तर्कलाई अस्वीकार गर्दै त्यसलाई रचनात्मक ढङ्गले प्रयोग गर्न सकियो भने आफ्नो कामलाई बढवा दिन सकिने बताएका छन् ।  

आर्टिफिसियल इन्टेलिजेन्सको दायरा ठूलो भएकाले त्यसलाई हरेक क्षेत्रका मानिसहरूले प्रयोग गर्न सक्ने उनको भनाइ छ । पछिल्लो समय युरोपेली बजारमा एआईद्वारा तयार पारिएका उपन्यासको सङ्ख्या पनि बढिरहेको छ । बिजनेस इन्साइडरका अनुसार गत फेब्रुअरीमा बजारमा आएका करिब २०० पुस्तकको सह-लेखक च्याटजीपीटी थियो । 

तर, सबैमा एआईले लेखेका पुस्तकले राम्रो प्रतिक्रिया पाउँछन् भन्ने चाहिँ हुँदैन । 

अम्मर रेशी नामका लेखकले एआईको सहायताले ७२ घण्टा लगाएर लेखेको 'वाल' पुस्तकले बजारमा चर्को आलोचना खेपेको थियो । तर, पनि रचनात्मक ढङ्गले लेख्न सकियो भने च्याटजीपीटी जस्ता एआई टुलले लेखेका पुस्तकले राम्रो प्रभाव पार्ने विश्लेषकहरूले जनाएका छन् ।

-एजेन्सी

पछिल्लो अध्यावधिक: जेठ १२, २०८० २०:५१