close

महिनौं लाग्ने काम च्याटजीपीटीले ५ दिनमै सकायो, भविष्यमा लाखौंको रोजगारी गुम्ने खतरा

टेकपाना टेकपाना

जेठ १३, २०८० ८:३९

महिनौं लाग्ने काम च्याटजीपीटीले ५ दिनमै सकायो, भविष्यमा लाखौंको रोजगारी गुम्ने खतरा

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्समा (एआई) मा आधारित च्याटबटको अत्यधिक प्रयोगकले हरेक क्षेत्रमा तरङ्ग ल्याउन थालेको छ । यसले भविष्यमा लाखाैंकाे राेजगारी खाेस्ने भन्दै रिपाेर्ट सार्वजनिक भइरहेका छन् ।

हालै एक चर्चित सफ्टवेयर कम्पनीले आफूले च्याटजीपीटीमा निर्भर रहेर सफ्टवेयर विकासकाे काम गरिरहेकाे खुलासा गरेकाे छ । अमेरिकामा मुख्यालय रहेकाे ‘फ्रेसवर्क’ नामक उक्त कम्पनीले आफ्ना कर्मचारीले कोड लेख्न च्याटजीपीटीको उच्चतम प्रयोग गर्ने गरेको  र यसबाट कर्मचारीकाे धेरै समय बचत भएको बताएकाे छ । 

“कोड लेख्नका लागि हामी च्याटजीपीटी प्रयोग गरिरहेका छौं,” फर्च्युनसँग कुरा गर्दै उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गिरिश मातृभूतमले भने, “हामीले आठदेखि १० हप्ता लगाएर गर्ने काम च्याटजीपीटीको सहायताले एक हप्ताभन्दा पनि कम समयमा सम्पन्न भइरहेको छ ।”

जेनेरेटिभ एआईको आकर्षक कोडिङ स्किलले मानिसहरूलाई सफ्टवेयर बनाउन सहज बनाइदिएको उनको धारणा छ ।

अहिले एआई टुलले सफ्वेयर विकास गर्ने, त्यसलाई वितरण गर्ने र प्रयोग गर्ने शैलीलाई नै परिवर्तन गरिरहेको कम्पनीहरू बताउन थालेका छन् ।

सफ्टवेयर कम्पनी अक्टोपस इनर्जीका सीईओले कम्पनीमा सयौं मानिसहरूले गर्ने काम आर्टिफिसियल इन्टेलिजेन्स एक्लैले गरिरहेको बताएका छन् । सीईओ ग्रेग ज्याकसनले द टाइम्स अफ लन्डनमा लेखेका छन्, “हामीले विगत केही महिनादेखि एआई टुल प्रयोग गरिरहेका छौं । र, तालिमप्राप्त कर्मचारीको तुलनामा यस्ता एआई टुलले लेखेका ईमेलले ग्राहकलाई बढी सन्तुष्ट दिएको पाएका छौं ।”

त्यस्तै कम्पनीका कर्मचारीले पनि आफ्नो कामलाई रचनात्मक ढङ्गले अघि बढाउन एआई टुल प्रयोग गरिरहेको उनको भनाइ छ । उक्त कम्पनीका एक कर्मचारीले द टाइम्स अफ लन्डनलाई भने, “च्याटजीपीटीले त हामी कर्मचारीको ८० प्रतिशत काम गरिदिएको छ ।”

एआईद्वारा सञ्चालित च्याटबट जस्तै च्याटजीपीटी, बिङ एआई तथा बार्डको उदयले रोजगारी अभावको समस्या निम्त्याउन सक्ने धेरैको अनुमान छ । विशेषगरी पछिल्लो समय थुप्रै कम्पनीले ठूलो सङ्ख्यामा कर्मचारी कटौती गर्नुले पनि यस्तो अनुमानलाई बढावा दिएको छ ।

गोल्डम्यान साच्समा गत मार्चमा प्रकाशित रिपोर्ट अनुसार च्याटजीपीटी जस्ता एआई टुलका कारण तीन करोड रोजगारी प्रभावित हुने अनुमान गरिएको छ । तर, यसलाई रचनात्मक ढङ्गले प्रयोग गर्ने हो भने कम समयमा धेरै काम गर्न सकिने विश्लेषकले बताएका छन् ।

पछिल्लो अध्यावधिक: जेठ १३, २०८० ९:१३