close

'डिजिटल उपकरणको अधिक प्रयोगले आखाँ धमिलो हुने समस्या बढ्दै'

टेकपाना टेकपाना

जेठ १३, २०८० ११:४९

'डिजिटल उपकरणको अधिक प्रयोगले आखाँ धमिलो हुने समस्या बढ्दै'

काठमाडौं । नेपाल नेत्रज्योति संघ अन्तर्गतको पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रमको विराटनगर आँखा अस्पतालको आयोजनामा विराटनगरमा सम्पन्न मायोपिया सम्बन्धी कार्यशाला गोष्ठीमा सहभागीहरूले डिजिटल माध्यमहरुको बढ्दो प्रयोगले  विश्वमा नै मायोपिकको जोखिम बढ्दै गएको भन्दै सचेतना अपनाउनुपर्नेमा जोड दिएका छन् ।

विश्व मायोपिया सचेतना सप्ताहका अवसरमा शुक्रबार विराटनगरमा आयोजित कार्यशाला गोष्ठीमा सहभागीहरुले समयमै सचेत भएर सावधानी अपनाए यो जोखिमबाट बच्न सकिने कुरामा जोड दिएका हुन् ।

आँखामा देखिने मायोपिया रोग विशेषगरी स–साना बालबालिकामा बढी देखिने गरेको छ । विश्व स्वास्थ्य संगठनले सन् २०५० सम्ममा विश्वको आधी जति जनसंख्या मायोपिक हुनसक्ने अनुमान गरेको छ । 

पहिले देखि मायोपियाको समस्या रहेका आमा–बुवाबाट जन्मिएका सन्तानमा मायोपियाको सम्भावना बढी देखिएको छ । त्यस्तै, कम्प्युटर, मोबाइल तथा भिडियो गेममा धेरै समय विताउने बालबालिकामा पनि मायोपियाको समस्या हुने बिज्ञहरुले बताए ।

मायोपिया भएमा व्यक्तिले टाढाको वस्तु धमिलो देख्ने गर्दछ । सामान्य आँखाले हेर्दा कुनै पनि वस्तुलाई टाढाबाट हेर्दा उक्त वस्तु हाम्रो आँखाको दृष्टि पर्दा अर्थात् रेटिनामा आएर फोकस हुने गर्छ । तर मायोपिया भएमा उक्त वस्तु आँखाको दृष्टि पर्दा भन्दा अगाडीको भागमा फोकस भएको कारण दृष्टि धमिलो हुने गर्छ ।

सूचना प्रविधिको विकाससंगै आम मानिसले आफ्नो दैनिक क्रियाकलापलाई चलायमान बनाउन घन्टौं सम्म मोबाइल, ल्यापटप, टि.भि जस्ता डिजिटल माध्यमहरुमा समय व्यतीत गर्ने परिस्थिति सिर्जना भएको छ । जसले गर्दा आँखाको समस्यामा दिनानुदिन बढोत्तरी हुँदै गइरहेको संघको भनाइ छ ।

मायोपियाबाट बच्न बच्चाहरुलाई मोबाइलको प्रयोगबाट जोगाउने, दैनिक कम्तीमा २ घण्टा बाहिरी वातावरणमा खेल्ने व्यवस्था मिलाउने तथा समय समयमा नियमित रुपमा आँखा जाँच गराउनु पर्ने विराटनगर आँखा अस्पतालका दृष्टि विशेषज्ञ पंकज राय अधिकारीले बताए ।

 

 


 

पछिल्लो अध्यावधिक: जेठ १३, २०८० ११:५०