close

६ दिनमै पाँच लाख बढीले डाउनलोड गरे च्याटजीपीटीको मोबाइल एप

टेकपाना टेकपाना

जेठ १३, २०८० १८:१०

६ दिनमै पाँच लाख बढीले डाउनलोड गरे च्याटजीपीटीको मोबाइल एप

काठमाडौं । ओपनएआईले आईओएसमा च्याटजीपीटीको मोबाइल एप सार्वजनिक गरेको छ दिनमै पाँच लाखभन्दा बढी प्रयोगकर्ताले डाउनलोड गरेका  छन् । यो डाउनलोड संख्या अन्य च्याटबटको मोबाइल एपको डाउनलोड संख्याभन्दा बढी हो ।

सार्वजनिक भएको पहिलो पाँच दिनमा च्याटजीपीटीका प्रतिस्पर्धी माइक्रोसफ्टको बिङ एप ३ लाख ४० हजार पटक डाउनलोड भएको थियो भने एज ब्राउजरको एप तीन लाख ३५ हजार पटक डाउनलोड भएको थियो । यो संख्या आई‌ओएस र एन्ड्रोइड दुवैमा गरेर डाउनलोड भएको कूल संख्या हो ।

जबकि च्याटजीपीटीको डाउनलोड संख्या भने आईओएस एपको मात्र हो, जुन हाल अमेरिकामा मात्र उपलब्ध छ । ओपनएआईले आईफोनका लागि गत साता च्याटजीपीटीको मोबाइल एप सार्वजनिक गरेको थियाे ।

यो एपमा स्पिच रिकग्निसन सिस्टम (आवाज पहिचान गर्नसक्ने प्रणाली) 'विस्पर' फिचर समावेश गरिएको छ । यसको अर्थ हो, प्रयोगकर्ताले अक्षरसँगै आवाज प्रयोग गरेर पनि कुराकानी गर्न सक्नेछन् ।

यसको साथै एउटा डिभाइसमा गरिएको कुराकानी अर्को डिभाइसमा पनि सिंक गर्न सकिनेछ । अर्थात् आईफोनमा गरिएको कुराकानीलाई आईप्याडबाट पनि निरन्तरता दिन सकिनेछ ।

पछिल्लो अध्यावधिक: जेठ १३, २०८० १८:१०