close

नागरिक एप प्रयोग गर्न सिकाउँदै सरकार

टेकपाना टेकपाना

जेठ १३, २०८० २०:२१

नागरिक एप प्रयोग गर्न सिकाउँदै सरकार

काठमाडौं । सेवाग्राहीले आफ्नो मोबाइलबाटै सार्वजनिक सेवा लिन पाउन् भनेर सरकारले नागरिक एप सञ्चालन गरिरहेको छ । याे एपमा ५३ बढी सेवा समावेश गरिएको छ । तर एपमा भएका सेवा सबैले प्रयोग गर्न नसकिरहेको अवस्था छ । कतिपयले सुविधा प्रयोग गर्न खोज्दा अप्ठ्यारो भयो भनेका छन् । कतिले अपूर्ण सेवा भनेर प्रतिक्रिया दिएका छन् । अनि कतिपयले एप दर्ता गर्नै समस्या भएको गुनासो गरेका छन् ।

सरकारका सबै सेवालाई डिजिटलाइज गर्ने उद्देश्य राखेको सरकारले नागरिक एपलाई सर्वसाधारणसम्म लैजाने अभियान सुरु गरेको छ । नागरिक एपको सञ्चालन एवं व्यवस्थापन गर्ने जिम्मा पाएको राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) ले यसका लागि प्रत्येक प्रदेशमा डिजिटिल साक्षरता कार्यक्रम गर्दैछ ।

केन्द्रले यस्तो कार्यक्रम बिहीबारदेखि कर्णाली प्रदेशको जुम्लाबाट सुरू गरेको छ । शुक्रबार सुर्खेतमा पनि कार्यक्रम गरियो । अब जेठ १४ गते घनगढी र जेठ १५ गते नेपालगञ्जमा आयोजना हुँदैछ । कार्यक्रमको समापन जेठ २६ गते गण्डकी प्रदेशको पोखरामा हुने केन्द्रले जनाएको छ ।

नागरिक एपमा उपलब्ध सेवाहरूको बारेमा सरोकारवाला र सर्वसाधारणलाई जानकारी दिन याे कार्यक्रम उपयाेगी हुने बताइएकाे छ ।

एन्ड्रोइड र आईओएसमा उपलब्ध याे एप २७ लाख बढीले एप डाउनलोड गरेका छन् ।

नागरिक एप प्रयोग गर्न आफ्नो नाममा भएको मोबाइल नम्बर अनिवार्य गरिएको छ । त्यसपछि नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र वा ड्राइभिङ लाइनसेन्सबाट खाता खोल्न सकिन्छ ।

यद्यपि नागरिकता लगायत कतिपय व्यक्तिगत विवरण गलत देखाउने समेत गरेको प्रयोगकर्ताको गुनासो छ । यसलाई सम्बोधन गर्न केन्द्रले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयहरूमा समन्वय गरेर विवरण सच्याउने काम गरिरहेको एनआईटीसीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: जेठ १३, २०८० २०:२१