close

कक्षा १२ को परीक्षापछि फुर्सदिलो हुनुहुन्छ ? सिक्नुहोस् यी उपयोगी सीप

टेकपाना टेकपाना

जेठ १९, २०८० १५:३८

कक्षा १२ को परीक्षापछि फुर्सदिलो हुनुहुन्छ ? सिक्नुहोस् यी उपयोगी सीप

काठमाडौं । कक्षा १२ को अन्तिम परीक्षा सकिएको केही महिनापछि मात्र नतिजा आउँछ । यसो हुँदा विद्यार्थीहरू निकै फुर्सदिला हुन्छन् । हुन त विद्यालय तह समाप्त भएकाे क्षण, त्यसमाथि लामो बिदा, केही आराम त लिनैपर्छ । तर यो दुई-तीन महिनाको समयलाई सदुपयोग गरेको खण्डमा विद्यार्थीले धेरै सीप सिक्न सक्छन् ।

अझ सूचना प्रविधि (आईटी) मा रुचि राख्ने विद्यार्थी छन् भने त यो समय रमाइलो गर्दै छुट्टी मनाउने नै होइन । यदि तपाईँ १२ कक्षाको परीक्षा दिएर के गरूँ गरूँ भइरहनु भएको छ भने यो लेख पक्कै सहयोगी हुनेछ । 

यो छुट्टीको बेला तपाईँले नयाँ-नयाँ सीप सिक्न सक्नुहुन्छ । आफूले पढ्ने विषयको प्रवेश परीक्षाको तयारी गर्न सक्नुहुन्छ । तर कसैलाई यो कुराबारे ज्ञान नहुन सक्छ, कस्तो सीप कहाँ सिक्ने, के सिक्ने भन्ने अन्योल हुनसक्छ । तर त्यसरी सिकेको सीप अभ्यास गर्दै जाँदा तपाईँलाई कम्पनीहरूमा इन्टर्नशिपको अवसर मिल्न सक्छ । अथवा तपाईँ आफैंले आफ्नो काम अनलाइनमा बिक्रीसमेत गर्न सक्नुहुन्छ । त्यस्ता प्लेटफर्मबारे जान्न यहाँ क्लिक गर्नुहोस् ।

आज यस लेखमा आईटीमा रुचि राख्ने १२ कक्षाको अन्तिम परीक्षा दिएर बसेका विद्यार्थीले गर्नसक्ने कुराबारे जानकारी दिँदै छौँ: 

प्रवेश परीक्षाको तयारी 

आईटीमा रुचि राख्ने विद्यार्थीले परीक्षापछिको यो समयमा विभिन्न विश्वविद्यालयले लिने प्रवेश परीक्षाको तयारी गर्न सक्छन् । जस्तो; इन्जिनियरिङ अध्ययन गर्छु भन्ने धेरैको लक्ष्य त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) को पुल्चोक क्याम्पस हुने गर्छ, जहाँ कम्प्युटर इन्जिनियरिङ पनि पढाइ हुन्छ ।

तर त्यहाँ अध्ययन गर्न विश्वविद्यालयले लिने प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ । विद्यार्थीले त्यसका लागि तयारी गर्न सक्छन् । अन्य विश्वविद्यालयका शैक्षिक कार्यक्रमका लागि पनि प्रवेश परीक्षाकाे तयारी थाल्न सक्नुहुन्छ ।

आजभोलि निकै कम शुल्कमा अनलाइन लर्निङ प्लेटफर्महरूले यस्ता प्रवेश परीक्षाको तयारी कक्षा गराउने गर्छन् । जहाँ सहभागी भएर विद्यार्थीले घरबाट नै आफू तयार हुन सक्छन् । यस प्रकारका थुप्रै अनलाइन लर्निङ प्लेटफर्म बजारमा आइसकेका छन् । 

प्रोग्रामिङ/कोडिङ 

आईटीमा रुचि हुनेले यो समयमा प्रोग्रामिङ ल्याङ्ग्वेज सिक्न सके धेरै फाइदा हुन्छ । किनकि भविष्यमा पढ्ने कोर्षमा समेत यो विषय हुने गर्छ । यसका लागि कुनै पनि त्यस्ता प्रोग्रामिङ ल्याङ्ग्वेज सिकाउने शिक्षण संस्थामा कक्षा लिन सकिन्छ ।

तर यदि तपाईँ त्यस्ता संस्थामा जानुहुन्न भने पनि अनलाइनबाट नै सिक्न सकिन्छ । यसका लागि थुप्रै वेबसाइट, युट्युब च्यानल बनाइएको छ । जस्तो; नेपाल लर्नस कोड नामक युट्युब च्यानलले नेपाली भाषामा नै पाइथन प्रोग्रामिङ ल्याङ्ग्वेज सिकाएको छ ।

प्रोग्रामिङ ल्याङ्ग्वेजमा तपाईंले जाभा, पाइथन, एचटीएमएल, सीएसएस, फ्लटर आदि सिक्न सक्नुहुन्छ । आजभोलि धेरै प्रोग्रामिङ ल्याङ्ग्वेज अनलाइनमा नै सिक्न सकिन्छ ।

मल्टिमिडिया 

आफैंलाई अलि ‘एक्सप्लोर’ गर्न चाहनुहुन्छ भने तपाईँ मल्टिमिडियाका कुरा सिक्न सक्नुहुन्छ । यसअन्तर्गत फिल्म मेकिङ, फोटोग्राफी, फोटोशप, भिडिओ एडिटिङ,  ग्राफिक्स डिजाइनिङ आदि पर्छन् ।

केही युट्युब च्यानल अथवा वेबसाइट, जो अरुलाई फोटोग्राफी/फिल्म मेकिङ/फोटोशप आदि सिकाउन समर्पित छन्, त्यस्ता प्लेटफर्मबाट पनि ती सीप सिक्न सकिन्छ ।

यदि तपाईं अलि व्यवस्थित भएर सिक्न चाहनुहुन्छ भने कुनै शिक्षण संस्थामा जान सक्नुहुन्छ । तर अनलाइनबाट नै सिकेर धेरै आय गरेको पनि कथाहरू छन् ।

यसकारण आफैंलाई अलि प्रोत्साहन गर्नुभयो भने यो छोटो अवधिमा तपाईँ मल्टिमिडियाको कुनै एक सीप सिक्न सफल हुन सक्नुहुन्छ ।

फोटोशप सिक्न चाहनुहुन्छ भने टेकपानाले समेत नियोस्पेयरसँगको सहकार्यमा आधारभूत कोर्ष तयार पारेको छ । जुन नि:शुल्क रहेको छ । यसका लागि यहाँ क्लिक गर्न सक्नुहुन्छ । 

कन्टेन्ट क्रियसन 

तपाईँलाई सिर्जनात्मक, रचनात्मक काममा रुचि छ भने यो समयमा कन्टेन्ट क्रियसन गर्न सक्नुहुन्छ । यसका लागि तपाईँलाई कुनै कुरा राम्ररी नै आउनपर्छ भन्ने छैन ।

आफूले जानेको कुराबारे विभिन्न सामग्री (भिडिओ/लेख/इन्फोग्राफिक) बनाएर फेसबुक, इन्स्टाग्राम, टिकटकजस्ता सामाजिक सञ्जालबाट हाल्न सक्नुहुन्छ ।

आजभोलिको सबैभन्दा शक्तिशाली काम भनेको कन्टेन्ट क्रियसन हो । मानिसहरूले अनलाइनमा बिताउने समय बढ्दै जाँदा यसको आवश्यकता अझ बढ्दै जान्छ । आफूलाई रुचि भएको कुरालाई लिएर नै तपाईँले कन्टेन्ट बनाउन सक्नुहुन्छ ।

जस्तो; फोटो खिच्न रुचाउनुहुन्छ भने फोटोग्राफी तपाईँको कन्टेन्ट बन्नसक्छ । तपाईँ भ्लगिङ, ब्लगिङ, स्टोरी टेलिङ आदि गर्न काम गर्न सक्नुहुन्छ ।

यसरी कन्टेन्ट क्रियसन गर्नुअघि एक पटक यो पढ्दा तपाईंलाई फाइदा नै गर्ला । 

डिजिटल मार्केटिङ 

प्राय: अहिले सबै कुरा अनलाइनमा हुन थालेको छ । यसो हुँदा परम्परागत मार्केटिङ पनि विस्थापित भइरहेको छ । यसको नयाँ रूप हो, डिजिटल मार्केटिङ । अधिकांश सामाजिक सञ्जाल प्रयोग गर्ने भएकाले पनि यसको आवश्यकता र महत्त्व बढिरहेको छ ।

तपाईँले यो छोटो समयमा डिजिटल मार्केटिङ सिकेर आफ्नो क्षमता बढाउन सक्नुहुन्छ । यसका लागि कुनै शैक्षिक संस्था जान सक्नुहुन्छ । यदि त्यसो गर्नुहुँदैन भने तपाईँले अनलाइनमा पनि यो सिक्न सक्नुहुन्छ ।

यसमा सर्च इन्जिन अप्टिमाइजेस (एसईओ), सर्च इन्जिन मार्केटिङ (एसईएम सोसल मिडिया मार्केटिङ, कन्टेन्ट मार्केटिङ, वेब एनलाइटिक्स, ईमेल मार्केटिङ, पे पर क्लिक (पीपीसी) एड्भर्टाइजिङ आदि सीप सिक्न सक्नुहुन्छ ।

हार्डवेयर र इलेक्ट्रोनिक्स

कम्प्युटरमा जति सफ्टवेयर तथा वेबको महत्त्व छ, त्यति नै हार्डवेयरको पनि हुने गर्छ । यसकारण तपाईँले यो समयमा हार्डवेयर तथा इलेक्ट्रोनिक्स सम्बन्धी तालिम लिन सक्नुहुन्छ । हुन त यो अरु जस्तो अनलाइनबाट सिक्न सकिँदैन ।

तर यससम्बन्धी सैद्धान्तिक कुरा भने अनलाइनबाट सिक्न सकिन्छ । हार्डवेयर तथा इलेक्ट्रोनिक्स अन्तर्गत इलेक्ट्रोनिक्स ट्रबलशुटिङ, डिजिटल इलेक्ट्रोनिक्स, बेसिक इलेक्ट्रोनिक्स, कम्प्युटर तथा डिजिटल डिभाइसको रिपेयरिङ आदि पर्छन् ।

यस्ता प्रकारको सीप विभिन्न ट्रेनिङ सेन्टरले सिकाइरहेका हुन्छन् । त्यहाँ गएर तपाईँले यस प्रकारको सीप सिक्न सक्नुहुन्छ ।

रोबोटिक्स र आईओटी 

अहिले स्मार्ट होम, स्मार्ट टाउन जस्ता अवधारणा व्यापक छन् । यस्तोमा रोबोटिक्स र इन्टरनेट अफ थिङ्स (आईओटी)को महत्त्व धेरै हुन्छ । यसको विकासमा प्रविधिका ठूला कम्पनीहरू समेत लागिपरेका छन् ।

तपाईँलाई रोबोट, आईओटी जस्ता कुरामा रुचि छ भने यो समयमा केही कुरा सक्नुहुन्छ । ठूलै परियोजना बनाउन नसके पनि तपाईँले यीबारे आधारभूत र सैद्धान्तिक विषय भने सिक्न सक्नुहुन्छ ।

यससम्बन्धी इन्टरनेटमा थुप्रै कोर्ष, ट्युटोरियल पाइन्छ । तपाईँले  यसको स-साना परियोजना भने घरमा नै बसेर बनाउन सक्नुहुन्छ । यीबाहेक यो समयमा आईटी सम्बन्धी अन्य कुरा समेत सिक्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: जेठ १९, २०८० १६:१९