close

मोटोरोलाको नयाँ फोल्डिङ स्मार्टफोन सार्वजनिक, मूल्य १ लाख ७० हजार

टेकपाना टेकपाना

जेठ २०, २०८० १३:१५

मोटोरोलाको नयाँ फोल्डिङ स्मार्टफोन सार्वजनिक, मूल्य १ लाख ७० हजार

काठमाडौं । फोल्डेबल फोनको बजारमा मोटोरोलाले आफ्नो दुई नयाँ स्मार्टफोन सार्वजनिक गरेको  छ । कम्पनीले एक कार्यक्रमबीच रेजर ४० र रेजर ४० अल्ट्रा सार्वजनिक गरेको हो । यी दुवै स्मार्टफोन चीनसँगै विश्वबजारका लागि पनि सार्वजनिक गरिएको हो । 

यद्यपि उत्तर अमेरिकाका लागि भने कम्पनी यी दुवै स्मार्टफोन फरक नाम सहित सार्वजनिक गरेको  छ । कम्पनीले रेजर ४० लाई रेजर मात्र नाम दिएको छ रेजर ४० अल्ट्रा स्मार्टफोन रेजर प्लसको नामले बिक्री हुनेछ । 

कम्पनीले रेजर ४० को मूल्य ७९९ युरो (१ लाख १३ हजार रुपैयाँ) र रेजर ४० अल्ट्राको मूल्य १,१९९  युरो (करिब १ लाख ७० हजार रुपैयाँ) तोकेको छ । चिनियाँसँगै युरोपेली बजार हुँदै विस्तारै अन्य देशहरूमा पनि यो फोन उपलब्ध गराउने कम्पनीले जनाएको छ ।  

यो फो​नको मुख्य विशेषता यसको बाहिरी स्क्रिन रहेको छ । अन्य फोल्डेबल फोनहरूमा जस्तो यसको बाहिरको स्क्रिन सानो छैन । कम्पनीले यो फोनमा बाहिरको लागि पनि फूल स्क्रिन राखेको छ । 

यो फोनको बाहिरको स्क्रिन क्यामेराका लागि मात्र नभइ अन्य विभिन्न गतिविधिहरू जस्तै नोटिफिकेसन, मेसेज पठाउन, गेम खेल्न लगायतका कामका लागि पनि प्रयोग गर्न सकिन्छ ।

फोनमा स्न्यापड्रागन ८ प्लस जेन १ चिप प्रयोग गरिएको छ भने यो फोन १२ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ । 

फोनमा ३३ वाटको चार्जिङ सपोर्ट सहितको ३,६४० एमएएच ब्याट्री दिइएको छ । एन्ड्रोइड १३ मा आधारित यो फोनमा सोनीको आईएमएक्स५६३ क्यामेरा प्रयोग गरिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ २०, २०८० १३:१५